सत्ता समीकरण फेरिँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने दावी गरेका छन्।

सिंहदरबारमा आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गरे।

माओवादी सांसदहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने, “सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ।”

प्रधानमन्त्री दाहालले ठूलो अन्योलको बीचमा सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै संसदमा बजेट प्रस्तुत भएको उल्लेख गरे।

“बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा दिइएको छ, समय सापेक्षता र मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार बजेट सन्तुलित छ। बजेट कार्यान्वयन गरेर जानुपर्छ, यसमा सबैको सहयोगको अपेक्षा छ”, प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै मुख्य सचेतक हितराज पाण्डेले भने।

बैठकमा प्रधानमन्त्री प्रचण्डले आगामी आइतवारदेखि बजेटसम्बन्धी छलफल र संसद्मा रहेका महत्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने बताएको उनले जानकारी दिए।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटका मुख्य विषयवस्तुबारे जानकारी गराएका थिए। उनले बजेटमा पार्टीले दिएको सुझाव तथा जनआकाङ्क्षा समेटिएको स्पष्ट पारेका थिए। बैठकमा १२ सांसदले बजेटका सबन्धमा टिप्पणी गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation