रुकुमपश्चिममा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-१० की करिब ५२ वर्षीया नौली विकको मृत्यु भएको हो।
शुक्रबार बेलुका चौरजहारी नगरपालिका-१३ स्थित आफन्तको घरबाट फर्किने क्रममा घर नजिकै पुगेका वेला निर्माणाधिन सडकको माथिबाट आएको ढुंगाले लागेर घटनास्थलमै उनको मृत्यु भएको वडाध्यक्ष टिकाराम खड्काले जानकारी दिए।
घडेरी–घण्ठाना–तिमीले–चिन्तु कृषि सडक स्तरोन्नतिका लागि स्थानमा डोजरले बाटो खनिरहेको छ। करिब १५० मिटर तलको बाटोमा हिँडिरहेको वेला निर्माणाधीन सडकबाट आएको ढुंगा लागेर उनको मृत्यु भएको हो।
यसअघि पनि सडक निर्माणको क्रममा एक बालकको मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।