तराईका जिल्लाभन्दा काठमाडौँ उपत्यकाका शहरी क्षेत्रमा सर्पको जोखिम कम मानिन्छ। पछिल्ला वर्षहरूमा भने यसै क्षेत्रमा सर्पदंशका विरामी धेरै देखिन थालेका छन्।
दुई हप्तादेखि बढेको गर्मीका कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर सर्पदंशका विरामी बढ्दै गएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।
डा. पुनका अनुसार विगत वर्षहरूमा भन्दा यो वर्षको सुरुवाती समयमा नै सर्पदंशका विरामी बढेका छन्। उनले भने, ‘विगतमा यो सिजनमा सामान्यतया दैनिक १० देखि १५ जना सर्पले टोकेका विरामी आउँथे‚ यसपालि त दैनिक १५ देखि २० विरामी आएका छन्, हुनत यो सिजन भनेको सर्पदंशका विरामी धेरै देखिने मौसम पनि हो तर पछिल्ला वर्षहरूमा यो सिजनमा केही वर्ष अघिभन्दा अलि बढी विरामी आउनु भएको हो कि जस्तो देखिन्छ।’
सर्पले टोकेर आएका सबै जनालाई भर्ना गर्नु नपर्ने भए पनि गम्भीर खालका विरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ। तराईमा देखिने सर्पभन्दा काठमाडौं तथा पहाडी भूभागमा देखिने सर्प अलि कम बिषालु भए पनि भक्तपुर, ठिमी, ललितपुर धादिङ जस्ता भूभागमा रहेका सर्पले टोकेर समयमा उपचार नगरे रगतमा समस्या देखिने डा. पुनको भनाइ छ।
उनले भने, ‘तराईका सर्प जस्तो उपत्यकाको सर्प त्यति बिषालु त हुँदैनन् तर जुन विरामीको रगतमा सर्पको टोकाइबाट अलिक खराबी देखिन्छ, उनीहरूलाई भने १५ दिनसम्म भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ।’
डा. पुनका अनुसार हाल टेकु अस्पतालमा आउने विरामी विशेषगरी भक्तपुर, ठिमी, ललितपुरका ग्रामीण भेग काभ्रे, सिन्धुपाल्चोक, धादिङबाट आउने गरेका छन्। सर्पदंशका विरामी अझ बढ्दै जान सक्नेसमेत उनले बताए। उनले भने, ‘हुनत यो सिजन सर्पले टोकेको विरामी आउने वेला हो तर गत वर्षहरूमा भन्दा यो वर्षको सुरुवाती समयमै सर्पदंशका विरामी बढेका छन्। सायद यो जलवायु परिवर्तनको प्रभावले बढ्दै गएको गर्मीले होला।’
सर्पदंशका विरामी मात्रै होइन‚ पछिल्लो समयमा काठमाडौँमा कुकुरको टोकाइका विरामी पनि धेरै देखिन थालेका छन्। गत वैशाखयता टेकु अस्पतालमा कुकुरले टोकेर उपचारका लागि दैनिक आउने विरामीको संख्या बढ्दो छ। अस्पतालका अनुसार अहिले दैनिक १५० जना रेबिजविरुद्ध खोप लगाउन आउने गरेका छन्।
सर्पदंशका विरामीलाई प्रयोग गरिने एन्टी स्नेक भेनम भ्याक्सिन जम्मा ८ हजार
सर्पदंशका विरामी बढ्ने यो मौसममा सरकारसँग भने एन्टी स्नेक भेनम भ्याक्सिन कम रहेको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका अनुसार हाल केन्द्रमा जम्मा ८ हजार ८७४ डोज मात्रै एन्टी स्नेक भेनम भ्याक्सिन रहेको छ। महाशाखाअन्तर्गतको आपूर्ति शाखाकी वरिष्ठ फार्मेसी अधिकृत निशा पराजुलीले भनिन्‚ ‘वैशाखयता हालसम्म १२ हजार ५९३ डोज एन्टी स्नेक भेनम भ्याक्सिन हामीले विभिन्न प्रदेशमा पठाएका छौँ। अहिले हामीसँग केन्द्रीय भण्डारण कक्षमा भने ८ हजार ८७४ डोज भ्याक्सिन भण्डारण छ। मागअनुसार हामीले यो भ्याक्सिन प्रदेशमा पठाउँछौँ।’
वर्षात र गर्मी मौसममा पछिल्ला वर्षहरूमा नेपालमा सर्पदंश पनि मानिसको मृत्युको कारण बन्दै गएको छ। जुन तथ्य सरकारकै रिपोर्टले पुष्टि गर्छ।
पछिल्ला वर्षहरूमा नेपालमा सर्पदंशका विरामीको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको विवरणले देखाएको छ। मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०७७।७८ मा देशभर ७ हजार ९०२ जना सर्पदंशका विरामी भेटिँदा आव २०७८।७९ मा ९ हजार ३४६ जना भेटिएका थिए भने आव २०७९।८० मा आइपुग्दा ९ हजार १२० जना सर्पदंशका विरामी भेटिएका थिए।
विवरण हेर्दा कोशी प्रदेशमा सबैभन्दा धेरै सर्पदंशका विरामी भेटिएका छन् जसमा कोशी प्रदेशमा २ हजार ६१२ जना रहेका छन्। यसैगरी मधेश प्रदेशमा १ हजार ४६०, बागमती प्रदेशमा ९८८,गण्डकी प्रदेशमा १ हजार १९१, लुम्बिनी प्रदेशमा २ हजार ५१९ ,कर्णाली प्रदेशमा २०८ जना र सुदूरपश्चिम प्रदेशमा १४२ जना गत आर्थिक वर्षमा सर्पको टोकाइबाट विरामी भएका थिए। यसबाट कति विरामीको मृत्यु भयो भन्ने विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन।
तर सरदर नेपालमा वार्षिक १०० जनाभन्दा बढी सर्पदंशका विरामीको मृत्यु हुने अनुमान गरिन्छ। तीमध्ये धेरै विरामीलाई गर्मी मौसममा सर्पको डसाइ धेरै हुने बताइन्छ। यस्तो अवस्थामा सरकारसँग यसको उपचारमा प्रयोग गरिने एन्टी स्नेक भेनम भ्याक्सिन कमी भएन त भन्ने प्रश्नमा आपूर्ति शाखाकी वरिष्ठ फार्मेसी अधिकृत पराजुलीले भनिन्‚ ‘मागअनुसार खोप आफूले खरिद गर्ने हो। विशेषगरी हामी इडिसिडीको मागमा खोप खरिद गर्छौँ।’
एन्टी रेबिज भ्याक्सिन पनि छैन पर्याप्त
एन्टी स्नेक भेनम भ्याक्सिन मात्रै होइन अहिले सरकारसँग एन्टी रेबिज भ्याक्सिन (एआरभी) भ्याक्सिन पनि पर्याप्त छैन। आपूर्ति शाखाका अनुसार हाल केन्द्रीय भण्डारण कक्षमा करिब ३५ हजार एआरभी भ्याक्सिन मौज्दात रहेको छ। आपूर्ति शाखाकी वरिष्ठ फार्मेसी अधिकृत पराजुलीका अनुसार अहिले टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा ०.५ एमएल को १० हजार ९६० भाइल र एक एमएल को २४ हजार १९८ भाइल भ्याक्सिन मौज्दात छ। यस्तै गत वैशाखयता ४९ हजार ४० भाइल भ्याक्सिन प्रदेशहरूमा पठाइएको छ। हाल केन्द्रमा रहेको ३५ हजार एआरभी भ्याक्सिन डेढ महिनालाई मात्रे पुग्ने अनुमान छ।
यसरी हेर्दा सरकारले यो वर्ष पनि एआरभी भ्याक्सिनको खरिदमा अन्तिम अवस्थामा मात्रै खरिद गर्ने गरेको देखिन्छ। गत वर्ष पनि एआरभी भ्याक्सिन अभाव हुँदा उपत्यका बाहिरका कतिपय स्वास्थ्य संस्थामा केही समय यो भ्याक्सिनको सेवा अवरुद्ध भएको थियो।
यो भ्याक्सिन भारतमा एउटा कम्पनीले मात्र उत्पादन गर्दै आएको छ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार गत आर्थिक वर्षमा मात्रै देशभर १ लाख २८ हजार ५१२ जनालाई कुकुर, स्याल लगायतका जनावरले टोकेर विरामी भएको पाइएको थियो। जसमा सुदूरपश्चिम प्रदेशमा १३ हजार ६२८, कर्णाली प्रदेशमा ६ हजार १०, लुम्बिनी प्रदेशमा ३७ हजार ८६१,मधेश प्रदेशमा २१ हजार ९८२,गण्डकी प्रदेशमा ११ हजार ९४,बागमती प्रदेशमा १९ हजार १९२ जना र कोशी प्रदेशमा १८ हजार ७४५ जना जनावरको टोकाइबाट पीडित भएका थिए।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा रेबिजका कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ। १ करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ। एशिया क्षेत्रमा मात्रै रेबिजका कारण ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। कतिपय देशले भने कुकुरलाई अनिवार्य खोप र मानिसका लागि रेबिज खोपको राम्रो व्यवस्थापन गरेका छन्।
यदि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्ने र उक्त जनावरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने हुन्छ।
यदि कुनै पनि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्ने र त्यही समयसम्म अनिवार्य ३ वटा भ्याक्सिन लगाउन सकियो भने रेबिज सन्चो हुन्छ।
यदि खोप लगाइएन र रेबिज संक्रमण देखियो भने मानिसको मृत्यु हुन्छ। रेबिजविरुद्धको भ्याक्सिन सरकारले निःशुल्क वितरण गर्दै आएको छ।