जब मानिसले भोकमाथि विजय प्राप्त ग¥यो, त्यसपश्चात विचारमाथि विचार गर्न सुरु ग¥यो, दर्शनको सौन्दर्य चिन्तन प्रणाली विकास ग¥यो । एक प्रकारले भन्ने हो भने कवितात्मक जीवन बाँच्ने आदिम मानव समाजले विस्तारै कवितामाथि नै सोँच्ने सामर्थ निर्माण ग¥यो । यसकारण मानव समाजका लागि कविता किन जरुरी छ ? भन्ने यो भन्दा राम्रो तथ्यगत तर्क अर्को पाउन मुस्किल पर्छ ।
भनिन्छ, समाज विकासको बीज कवितामा निहित हुन्छ । कविताको चेतनामा समाजको व्याख्या र रुपान्तरणको सामर्थ हुन्छ । अझ दक्षिण एसियाली समाजका लागि कविताको स्वरुपले नै विशेष अर्थ राख्छ । निश्चित जात र घरानाभित्र कैद कविता जब आम उत्पीडित वर्ग समुदायको आँगनमा आइपुग्यो, जब आदिवासी ओठहरुले गीत बनाएर गाउन थाले, दलितहरुले त्यसमा लय मिसाए, तब कविताको विरासत र त्यसको औचित्यले विराट रुप धारण गर्दै गयो । अन्ततः कविता वैचारिक आन्दोलनको सशक्त अस्त्र सावित हुन पुग्यो ।
कविता कसका लागि लेख्ने ? यो प्रश्नको उत्तर कवि घनश्याम अस्तित्वको हालै प्रकाशित कृति ‘चिहानमाथि महल बनाईरहेको मान्छे’ले राम्रोसँग दिन्छ । कविताको केन्द्रमा मनुष्यको उपस्थिति अनिवार्य हुने परम्परागत काव्य लेखनको मान्यतालाई वृहत्तर बहसमा ल्याउन सक्ने संग्रह हो यो ।
मानवीय चकचकको विरुद्ध लेखिएका कविताले हाल वैश्वीक चासोका रुपमा रहेको पर्यावरणीय मुद्धालाई सशक्त रुपले उठाएको छ । मानविय इष्र्या र फगत राष्ट्रवादका कारण एम्बुस बन्दै गरेको, चिहानमा रुपान्तरण भैरहेको पृथ्वीको भविष्य सोँच्नका लागि ‘चिहानमाथि महल बनाईरहेको मान्छे’ले आह्वान गर्छ । संग्रहभित्रका शिर्ष कवितादेखि ‘पृथ्वी बिरामी छ’ लगाएतका कविताहरुले मानवीय मूल्य विघटन भएको घोषणा गर्दछन् । करोडौ प्राणीको साझास्थल पृथ्वी मृत बन्दै गरेको
यो आततायी घटनाक्रमका लागि को जिम्मेवार छ ?
विद्वान् म्याक्स वेवरले भन्छन्, भौतिक स्रोत र साधनको पहुँचले वर्गको निर्माण गर्दछ, स्रोत र साधनमा सबै मानिसको समान पहुँच हुँदैन । अक्सफामले हालै सार्वजनिक गरेको रिपोर्टले संसार कै सर्वाधिक धनी मुट्ठीभर व्यक्तिहरूको सम्पत्तिमा ठूलो मात्राले वृद्धि हुँदा पृथ्वीका अर्बौँ मानिसहरू झन झन गरिबीतर्फ धकेलिएका छन् ।
नेपालकै नदीमा बनिरहेका आयोजनाले युगौंदेखिको जलप्रवाहको दिशा र गति मोडिदिएपछि माछा लगायतका जलचरको संख्या घटेको छ । नदितटिय क्षेत्रका बासिन्दाको जीवनशैली धरापमा छ । यो सामान्य दृष्टान्त नै पर्याप्त छ – पृथ्वीलाई कसले चिहान बनाइरहेको छ ? विद्रोह, संघर्ष, औकात, साझा सम्पत्ति, बजेट भाषण, नयाँ क्यालेन्डर, किसान, बा र रुखहरु, दास, दरबार हेरिरहँदा, कमरेड, महाभूकम्प लगाएतका कविताहरु वर्गीय विभेदबाट समाजमा निर्माण भएका मनोविज्ञानका विविध आयामहरु हुन् ।
कविता समाजद्वारा लेखिने विषय हो । कविता निर्माणमा तत्कालिन समाजको चेतना, मानव क्रियाकलाप, मनोविज्ञान र संरचनागत दृष्टिकोणले काम गर्छ । पक्षधरताको सैद्धान्तिक आँखिझ्यालबाट हेर्दा नेपाली कविता लेखनको प्रशिक्षण पद्यती गलत छ । कविता बतासिएर, बेहोसीमा लेखिने कुरा होइन, कविता त निक्कै सचेतपूर्वक लेखिने कुरा हो । लामो जीवनको कठोर अनूभवबाट निकालिएको जीवनदर्शन मिसाएर निर्माण गर्ने कुरा हो । यो मान्यतामा कवि अस्तित्वले काम गरेका छन् । ६६ थान कविताको संग्रहभित्रका मान्छे, औकात, प्रतीक्षा, झरी, दुरी, गाउँ छाडेपछि, पिपलबोट, तिम्रा हातहरु, तिमी गएपछि लगाएतका कविताहरु जीवनयापनका कठोर दुखहरुले निर्माण गरेका सत्य हुन् ।
तर सत्य कहिलेकाही आदर्श बन्न सक्दैन ।
कविताको शक्ति मानवीय जीवनका प्रेम, आदर्श, स्वप्न र सङ्घर्षहरूमा अन्तर्निहित भएर उठ्छ । कविताको सम्बाद देशको राजनीतिसँग हुन छोड्यो भने त्यसको शक्ति क्षीण भएर जाने सम्भावना हुन्छ । त्यसैले कवि अस्तित्वले ‘लोकतन्त्र’ कवितामा चङ्गाको उडानसँग तुलनात्मक व्याख्या गरेका छन् । कमरेड, गाउँ नफर्किनु होला कवितामा वर्तमान राजनीतिक दलका नेतृत्वको शैली छताछुल्ल पारेका छन् भने नेपाल बन्द छ र लोकतन्त्रको हावामा राजनीतिको कुरुप चित्रहरु खिचेका छन् ।
वर्तमान शिक्षा प्रणालीको एक्स–रे खिच्ने कविता हो ‘विश्वविद्यालय’, ‘हेडसरको झापड’ र ‘जीवनका किताबहरु’ । नेपाली ग्रामिण जनजीवनको अनुहार देखिने कविता हो ‘गाउँको बस’, ‘आमा र आँसु’ र ‘चुरोट बाजे’ ।
कविता एउटा यस्तो सेतु हो जसले मनुष्यलाई ब्रह्माण्डसँग, प्रकृतिसँग सामाजिक यथार्थ र त्यसका विलक्षणताहरूसँग जोड्न सक्छ । एक विशिष्ट भाषाको माध्यमबाट विशिष्ट लय निर्माण गर्नसक्छ । आजका कविहरुमा विचारको निर्माणले प्राथमिकता पाएको छ ।
कवितालाई समाज र संस्कृतिका विविधतासँग जोडेर आफ्नो समयको जडता भत्काउन उद्यत देखिन्छन् कविहरु । कविताहरूको डिस्कोर्समा आएको रुपान्तरण यस्तै कविताको निर्माताकै कारण हो । किनारकृत आवाजविहीन तर स्वप्तवान मानिसले फगत आफ्ना लागि होइन सिंगो पृथ्वीका लागि कवितामार्फत उद्घोष गरिरहेछन् ।
कविता लेखन भनेको रुख रोप्नु जस्तो हो । संसारमा जति रुख रोपे पनि कहिले धेरै हुदैन । त्यस्तै नयाँ नयाँ कविताहरु लेखिरहन जरुरी छ । प्रत्येक समाजले लेख्नुपर्ने तमाम मुद्धाहरु प्रत्येक समयमा छोडिरहेको र छुटाइरहेको हुन्छ । त्यसको भरण पछिल्लो पुस्ताले निकै गम्भीरता पूर्वक र सचेतनापूर्वक गुर्नपर्छ । जुन अहिलेको पुस्ताले स्वर्णकिरणहरु देखाएको छ ।