
१ असार, चितवन
नारायणगढ-मुग्लिन खण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरोले दुईवटा बस बगाउँदा बेपत्ता यात्रुमध्ये आज साँझ ५ बजेसम्म १६ जनाको शव फेला परेको छ । तीमध्ये सात शवको परिचय खुलेको छ भने नौ शवको परिचय खुल्न बाँकी छ ।
आज बिहान नारायणी नदी किनारामा एउटा शव भेटिएको थियो । दिउँसो गैंडाकोट ७ स्थित नारायणी नदीकिनारमै पुन: एउटा शव भेटिएको थियो । योसँगै भेटिएका शवको संख्या १६ पुगेको हो ।
हिजो पूर्वी नवलपरासीस्थित गण्डक ब्यारेजमा तीन र मध्यविन्दु नगरपालिकाको भूताहामा एउटा शव फेला परेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हालसम्म १६ जनाको शव फेला परेको र अन्यको खोजी जारी रहेको जानकारी दिनुभयो ।
पछिल्लो समय नारायणी नदीको गोलाघाट तथा सुस्ता नहरमा शव भेटिन थालेपछि ती क्षेत्रमा नै खोजी कार्यलाई तीव्रता दिइएको छ । आज पनि नदी किनारमा र्याफटिङ बोट, मोटरबोट, पैदल तथा ड्रोनको सहायतामा खोजी जारी रहेको यादवले जानकारी दिनुभयो ।
खोजीमा सशस्त्र प्रहरी, सेना र नेपाल प्रहरीका पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । शुक्रबार बिहान साढे ३ बजेतिर वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल्स ट्राभल्सको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बसलाई पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको थियो । ती दुवै बसमा गरी ६५ जना यात्रु रहेकामा तीन जनाले हामफालेर ज्यान जोगाएका थिए