इथियोपियामा पहिरोमा परी २ सय २९ को मृत्यु

एजेन्सी – दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय २९ पुगेको मंगलबार स्थानीय अधिकारीले बताएका छन् । अधिकारीले मृतकको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।

अधिकारीका अनुसार दक्षिण इथियोपियाको पहाडी क्षेत्रमा भएको भारी वर्षाले सोमबारको पहिरो निम्त्याएको हो ।

“इथियोपियाको गोफा क्षेत्रको गेजे–गोफा जिल्लामा गएको पहिरोमा परी मृत्युु हुनेको सङख्या २ सय २९ पुगेको छ”, गोफा क्षेत्र सञ्चार मामिला विभागले स्थानीय अधिकारी हाब्तामु फेटेनालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहिरोमा परी ज्यान गुमाएका १४८ जना पुरुष र ८१ जना महिलाको शव फेला परेको जानकारी दिदै खोजी तथा उद्वार कार्य जारी रहेको हाब्तामुले बताए । सरकारी सञ्चार माध्यम ‘फाना ब्रोडकास्टिङ कर्पोरेट’ ले सार्वजनिक गरेका तस्बिरहरूमा सयौं मानिसहरू प्रभावित भएको पहिरोको विनाशकारी दृश्य प्रसारण गरिएको छ ।

दक्षिण इथियोपियामा अप्रिल र मे महिनामा भएको मौसमी वर्षाले निम्त्याएको बाढीपहिरोले कयौँ मानिसहरुलाई विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यलय ओसिएएचएले जनाएको छ ।

इथियोपियामा जुलाईमा शुरु भएको र सेप्टेम्बरको मध्यसम्म रहने अनुमान गरिएको वर्षाको मौसममा घातक पहिरो गएको हो । पूर्वी अफ्रिकी देशका केही भागमा मौसमी वर्षाले कहिलेकाहीँ घातक पहिरो निम्त्याउने गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation