
गाेविन्द विश्वकर्मा “अनेक”काे नयाँ तिज गीत संग्रह ´बरिलै बरिलै` आइतबार सार्वजनिक भएको छ ।
प्रिज्म स्टुडियोबाट माैलिक संस्कृतिकाे झल्काे दिने गरि नयाँ काेसेली लिएकाे गाेविन्द अनेकले प्राणमञ्चसँग बताए । उनी झन्डै डेढ दशकदेखि सांगीतिक साधना गरिरहेकाे छन् । सांगीतिक क्षेत्रमा नवउदायमान युवालाई उज्वल भविष्यकाे हार्दिक मंगलमय शुभकामना ।
काे हन् गाेविन्द ?
नेपाली गीत संगीतमा पर्दा पछाडि रहेर झन्डै डेढ दशकदेखि निरन्तर क्रियाशिल रहदै आएका व्यक्ति हुन्, गोविन्द । बुवा धनबहादुर नेपाली र माता बेली देवी नेपालीको कोखबाट कान्छा सुपुत्रका रुपमा विसं २०५२ जेठ २१ गते प्यूठानको स्वर्गद्वारी नगरपालिका –२ स्वर्गद्वारी नयाँगाउँमा जन्मिएका गोविन्द कुशल रेकडिस्ट, संगीत संयोजक, गीतकार, गायक तथा संगीतकारका रूपमासमेत नेपाली संगीत क्षेत्रमा संघर्षरत छन् । कक्षा १० सम्मको औपचारिक शिक्षा सकेर रेडियो जलजला रोल्पामा पुगेका गोविन्दले रोल्पा रहदा रेडियो जलजलासँगै रेडियो मालश्री, जनअपेक्षा राष्ट्रिय साप्ताहिक पत्रिकामा पत्रकारका रुपमा काम गरेका थिए । ७ कक्षामा पढ्दै गर्दा नै रेडियो लिस्ने आवाज प्यूठानमा समाचारदाताका रुपमा कार्यरत गाेविन्द सानै उमेरदेखि केही न केही नमुना काम गर्नुपर्छ भन्ने हुटहुटी बाेकेका युवा हुन् । गाेविन्दले २०७१ सालमा “भेट भाकै हो” पहिलो गीत ल्याएसँगै उनकाे औपचारिक रुपमा सांगीतिक यात्राकाे थालनी भएको थियाे ।
कलाकारिता र पत्रकारितालाई सँगसँगै लिएर हिडेका गोविन्दले रोल्पा बसाँइपछि प्यूठान फर्किएर प्यूठान जिल्लामै पहिलोपटक सदरमुकाम बाहिर मोफलसलबाट माडीखबर साप्ताहिक पत्रिकाको प्रकाशक प्रधान सम्पादक भएर प्रकाशन गरेका थिए । उनी हाल नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका क्रियाशील सदस्य तथा लुम्विनी प्रदेश परिषद् सदस्य रहेका छन्। प्यूठान रहदा क्रान्तिकारी पत्रकार संगठनको अध्यक्षसमेत भइसकेका गोविन्द काठमाण्डौं प्रवेशपछि नितान्त गीत संगीतका निम्ति आफ्नो समय खर्चिएका छन् ।
वरिष्ठ संगीतकार बिबि अनुरागीको सल्लाहमा काठमाण्डौ प्रवेश गरेका गोविन्दले अनुरागीकै प्रिज्म स्टुडियोमा रेकर्डिस्टको रुपमा काम पाए । संगीतकार बिबि अनुरागी बरिष्ठ ध्वनी सम्पादक श्यामश्वेत रसाइलीको छत्रछायामा रमेका गोविन्दलाई उनीहरु सँगको संगतले विस्तारै गीत संगीतको प्राविधिक काम तिर तानेको बताउँछन् । नेपाली गीत संगीतप्रेमी दर्शक श्रोतामाझ प्रिय रहेको प्रिज्म स्ट्डियोमा कार्यरत गोविन्दले हजारौं गीतको रेकर्डिङ गरिसकेका छन् भने आफ्नो सृजना एवम् स्वरमा दर्जन बढी गीत पनि रेकर्डिङ गराएर बजारमा लिएका छन् । उनले रेकर्डिङ गरेका चलचित्र ए मेरो हजुर (४ मा समावेश रहेको गीत ‘फूलको थुङ्गा’ ‘कुरा बुझ्नुपर्छ’, ‘दमाई महाराज’, ‘लाउन्न दाजै पिरती’, ‘जाम भो माइली’ ‘रमरम मरौटी’, ‘मन परेको मान्छे’ ‘जाले रुमाल फाट्यो’ ‘जुनमाया’ ‘सोल्टी बजारमा’ ‘अरेली काँडैले’ ‘जोडी परेवा’ ‘धादिङ गजुरी’ ‘बन्दिपुरैमा’ ‘माया बिरानी’ ‘तातो गोली’ ‘कहाँको साइनो’ ‘काउली’ ‘सोल्टीनी भनि बोलाको’ गोर्खे खुकुरी, ए आमा जाम भन्यो मलाई जस्ता दर्जन बढी गीतहरुले करोड क्लब नाघेका छन् भने कैयौं गीतले मिलियन भ्युज पाएका छन् ।
गीतसंगीतमै केही गर्ने हुटहुटी लिएर अगाडी बढेका गोविन्दले इमान्दारिता र धैर्यताका साथ निरन्तर संघर्ष र कर्म गरे सफलता मिल्ने विश्वास गर्छन् । उनले बीबी अनुरागी, श्यामश्वेत रसाइलीलाई आफ्नो आइडलका रुपमा लिने गर्छन् ।
उनले ‘सकम्वरी’ गीतबाट आठौं राष्ट्रिय लोकदोहोरी अवार्ड ( २०८० को सर्वोत्कृष्ट रेकर्डिस्टको अवार्डसमेत जितेका छन् । त्यस्तै उनले साँस्कृतिक म्युजिक अवार्ड, धौलागिरी राष्ट्रिय अवार्ड पनि प्राप्त गरिसकेका छन, थुप्रै समारोह तथा कम्पनीहरूबाट सम्मान पनि उनले पाइसकेका छन्। आफूले गरेको कोसिस र मेहनतलाई उच्च मुल्यांकन गरेर अवार्ड दिदाँ साच्चिकै हर्षविभोर हुने उनको भनाई छ ।
आफ्नो कर्मलाई सर्वश्रेष्ठ स्थानमा राख्ने गोविन्द अनेकले गीतसंगीतमा कर्म गरेर थुप्रै अग्रज गीत संगीतकर्मीहरुको माया, साथ, हौसला र संगत पाएको बताए । “लाखौं करोडौं धन कमाउन नसकेपनि माया गर्ने मन कमाएको छु”, उनी भन्छन् । विपन्न परिवारमा जन्मिएर हुर्किएर विभिन्न आरोह अवरोहलाई पार गर्दै कैयौं सुखदुखलाई छिचोल्दै यहाँसम्म आएको उनले सुनाउछन् । अझै थुप्रै काम र कर्म गर्न बाँकी रहेकाले आफू निरन्तर गीत संगीतकै क्षेत्रमा क्रियाशील रहिरहने गाेविन्द बताउँछन् ।