भौतिकवादी समाज रौतहटको जिल्ला भेला सम्पन्न

१ भदौ, रौतहट

रौतहट जिल्लाको भौतिकवादी समाज नेपालको प्रथम जिल्ला भेला भव्य रुपमा सम्पन्न भएको छ। समाजको केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीको उपस्थितिमा सम्पन्न भएको उक्त भेलाको सहजकर्ता समाजको साधारण सदस्य विनोद काफ्लेले गरेका थिए ।

भेलामा अध्यक्ष श्रमजीवीले आजको युग विज्ञान र प्रविधिको युग हो। अब पनि हाम्रो समाज अन्धविश्वास रुढीवाद र पाखण्डको आधारमा चल्नु हुँदैन। यसले हाम्रो समाजलाई विकास गर्नमा अवरोध खडा गर्ने गर्छ। हाम्रो समाज विकासको युगमा पछाडि पर्नुको मुख्य कारण जातिवाद पनि हो। यो जातिवादको संस्थापक नै धर्म रहेको छ। धर्म भनेकै व्यक्ति भित्र अन्धविश्वास र रूढीवादको जगमा उभिएको महल हो। जब हामी तर्क गर्न थाल्छौं यसको जग भत्किन्छ र यो महल गर्ल्याम्म गुर्लुम्म ढल छ। अबको युग भनेको कुनै पनि कुरा आँखा चिम्लेर मान्नु हुँदैन। प्रत्येक कुरामा किन कसरी केको लागि कसले कहिले कुन आधारमा गरेको हो भन्ने प्रश्नहरु गर्न सक्नुपर्छ। यस्तो प्रश्नहरु गर्दा सबै धर्मको अन्धविश्वासका पोकाहरु छताछुल्ल भएर पोखिनेछन् र मान्छे सबै खाले पाखण्डबाट मुक्त हुनेछन् भन्ने कुरा अध्यक्ष श्रमजीवीले बताउनुभयो सोही कार्यक्रममा अन्तरक्रिया अन्तर्गत उपस्थित २० जना सदस्यहरुले आआफ्नो धारणाहरू अनुभूति र अनुभवहरू समेत राखेका थिए।

भेलामा अन्तरक्रिया हुँदै गर्दा आफ्नो कुरा राख्ने क्रममा सदस्य काफ्लेले भन्नुभयो अबको युगमा भन्ने एकथोक र गर्ने अर्कै थोक यस्तो काम कसैबाट पनि गर्नु हुँदैन। खासगरी यतिबेला कम्युनिस्टहरु आफूलाई मार्क्सवादी बताउने गर्छन् आफ्नो दर्शन आफ्नो दर्शन द्वन्दात्मक भौतिकवादी बताउने गर्छन् तर व्यवहारमा कसैले पशुपतिमा सुनको जलहरी चराउने कसैले भैसीको पूजा गर्ने कोही चाहिँ लामाको चरणमा त्वम् शरणम् गच्छामि हुने जस्तो परिस्थिति हेर्दा मानिसहरुमा भ्रम उत्पन्न हुन थालेछ। के कम्युनिस्टहरू अध्यात्मवादी हुन् त ? वास्तवमा मार्क्सवादी हरू द्वन्दात्मक भौतिकवादी हुन्छन् उनीहरु अध्यात्मवादी हुँदैनन्। जो कोही पनि आफूलाई कम्युनिस्ट भन्दछन् र अध्यात्मिक छन् भने तिनीहरु कम्युनिस्ट होइनन् । यी सबै निम्न पूँजीवादी सत्ताका दलालहरु हुन् भन्दा फरक पर्दैन।

त्यसैगरी सौगात विश्वकर्माले आफ्नो कुरा राख्दै भौतिकवादी समाज गठन गर्न निकै ढिलो भइसकेको हुनाले यो काममा दत्तचित्त भई सबैजना छिटोभन्दा छिटो लाग्न आग्रह गरे। यसैगरी आकाश बस्नेतले भौतिकवादी समाज नेपालको गठन हुनु नै आफूमा धेरै ठूलो कुरा हो। उनले भने `आजको क्वान्टम युगमा हामी अब अन्धविश्वासमा बाँच्नु मूर्खता बाहेक केही हुन सक्दैन। त्यसैले तर्कशील विवेकशील र मानववादी बनौ मूर्खता र पाखण्डता त्यागौं´ ।

सोही भेलामा आफ्नो कुरा राख्दै दिपेन्द्र शाह ले भने अब पनि हामीहरु स्पष्ट रुपमा भौतिकवादी व्यवहार व्यवहारमा लागू गर्न सक्दैन भने कहिले गर्ने कसले गर्ने भौतिकवादीहरु भौतिकवादी बन्न अब डराउनु हुँदैन निर्धक्क भएर हामीले सबै धर्म र अन्धविश्वासको परित्याग गर्नुपर्छ। त्यसैगरी विनोदरामले जातीय रुपमा तल्लो जात र माथिल्लो जात धर्मले निर्माण गरेर मान्छे मान्छे बीचमा हजारौं वर्षदेखि लडाउँदै आएको मान्छेहरूमा रिसराग द्वेष घृणा र झैझगडा गराउँदै आएको हुनाले अब हामी सबैले यसबाट सतर्क भई धर्मको परित्याग गर्न जरुरी छ। अब पनि हामी कुनै पनि अन्धविश्वासमा फस्नु हुँदैन र पूर्ण रुपमा भौतिकवादी भई भौतिकवादी कर्ममा बाँच्नुपर्छ ।

त्यसैगरी भेलामा गणेश बस्नेतले आफ्नो अनुभव सुनाउँदै नेपालमा भएका संसदभित्रका सबै कम्युनिष्टहरू दुई नम्बरी भएका र उनीहरूको चरित्र अध्यात्मवादी भएकोले आजसम्म समाजिक परिवर्तन हुन नसकेको बताए। यसैगरी राजेन्द्र श्रेष्ठले जबसम्म भौतिकवादीहरु वैज्ञानिक चिन्तन आत्मसाथ गरेर जन्मदेखि मृत्युसम्म सबै संस्कारमा विज्ञानसम्मत व्यवहार अपनाउँदैन तबसम्म अन्धविश्वासबाट मुक्ति सम्भव छैन ।

उक्त भेलाले १७ सदस्य जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ। जसको अध्यक्षमा विनोद काफ्ले सचिवमा सौगात विश्वकर्मा तथा सदस्यहरूमा क्रमश मनोज विश्वकर्मा, सर्ला क्षेत्री, धनदेव जोशी, आकाश बस्नेत, शिवदयाल राउत, जितेन्द्रप्रसाद शाह, विनोदराम, रामज्ञ राम, दिपेन्द्र विश्वकर्मा, सुरेन्द्र शाह, नरबहादुर थापा, मिथुन सहनी, राजेश कुमार दास, रामप्रसाद आचार्य र लक्ष्मण खनाल रहेका छन् ।

त्यसैगरी समाजको सल्लाहकारमा गणेश बस्नेत तथा राजेन्द्र श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation