बालिका बलात्कार आरोपमा एकजना पक्राउ

काठमाडौं-१४, कुलेश्वरमा घरेलु कामदारका रूपमा राखिएकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेको नाम खुलाइएको छैन । प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुपक खड्काका अनुसार, घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई उद्धार गरिएको छ भने ती व्यक्तिलाई प्रहरी कार्यालयमा ल्याएर सोधपुछ भइरहेको छ ।

‘अहिले बालिकालाई उद्धार गरिएको हो, उहाँबारे सोधपुछ भइरहेको छ’, खड्काले भने। प्रहरीका अनुसार, काठमाडौं महानगरपालिकाले राजधानीका विद्यालयहरुमा चलाएको बालश्रम विरुद्धको अभियानका क्रममा पीडित बालिकाले महानगरका कर्मचारीलाई हिंसा भइरहेको बारे बताएकी थिइन् ।

काठमाडौं महानगरका मेयर बालेन साहको सचिवालयका सदस्य धिरज जोशीका अनुसार, त्यसक्रममा महानगरले प्रहरीसँग समन्वय गरेर बालिकालाई उद्धार गरेको हो ।

‘महानगरको अभियान अन्तर्गत जानकारी आएपछि बाल हेल्पलाइन, बालबालिका खोजतलास तथा समन्वय केन्द्र १०४ र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमनका क्रममा उद्धार गरिएको हो’ जोशीले भने, ‘त्यसक्रममा निवासबाट ५४ वर्षीय पुरुषलाई पनि नियन्त्रणमा लिइएको हो ।’

प्रहरीका अनुसार, ती बालिका ६ वर्षदेखि उक्त घरमा घरेलु कामदारको रूपमा बस्दै आएकी थिइन् । उनलाई पढाइदिने शर्तमा काभ्रेको विकट गाउँबाट ल्याएको खुलेको अधिकृतहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation