अंग्रेजी भाषामोहले मासिरहेको हाम्रो मौलिकता– देबेन्द्रकुमार रिजाल

ज्ञान, सीप र क्षमताको आधारमा शिक्षा मानव जीवनको ज्योति हो । जीवनलाई सार्थक बनाउन शिक्षाकै दीक्षा चाहिन्छे । मानव विकासका अनेक पानाबाट विकास हुँदै कहाँबाट कहाँ आइपुग्यो ? अनौठो लाग्छ, जीवनको सत्य भित्र जीवनको शक्ति पस्न नसके पनि सतहमा जसरी बगियो त्यो आफ्नै प्रकृतिको होला । विज्ञान रुपी शिक्षाको सिकाई हुने बेलाको एउटा सम्झना आउँछ, डार्विनका अनुसार यो संसारको सृष्टिमा जीवहरूको सृष्टि हुँदा सबभन्दा पहिले समुद्रमा जेलिफिस भन्ने प्राणी जन्मेको थियो । त्यसपछि माछा र वनस्पतिको रुपमा । एवम् रितले थलमा र थलमा पनि पहिलो, ढाड नभएका र पछि ढाड भएका ।

एक युगमा चारखुट्टे मात्र भए, त्यसपछि अर्को युगमा दुई खुट्टे आदि भन्ने पढियो । एउटा युगमा एक खालको बाँदर थियो रे, अर्को युगमा त्यो हराएर जङ्गली मान्छेको सृष्टि भएको कुरा सुनियो, पढियो । सानो उमेरमा गुरुहरुले भनेको एउटा सम्झना छ ः यो शरीर पञ्चभौतिक तत्वले बनेको छ । मृत्युपछि ती तत्व जे–जेबाट बनेका हुन् वा आएका हुन् तिनीमा लिन हुन्छन् । पुनः ८४ लाख यौनी वा जुनीपछि विभिन्न रुपमा हुँदै मानवरूपमा जन्म हुन्छ भन्ने पूरानो कहानी समाजमा छ । पहाडी जीवनमा उकाली–ओराली गर्दा बाँदर र गुनोको अनुहार हेर्दा र मानवरूपी आफ्नै अनुहार हेर्दा उस्तै लाग्छ । अझ स्वभाव झन् मिलेको लाग्छ किनभने, बाँदर र गुनो पनि यो हाँगाबाट त्यो हाँगामा, त्यो हाँगाबाट त्यो हाँगामा हाम फालिरहन्छ र मानव स्वभाव पनि घरि यता, घरि उता गर्दै स्वार्थमा मात्र दौडेको दखिन्छ । एक अर्थमा भन्दा मानव र बाँदरबीच स्वभाव समान छन् । सायद हाम्रा सामाजिक ढाँचा वा विश्व परिदृश्य भनौँ, शिक्षाको व्यवहारिक ज्ञान पनि त्यस्तै भएर त होला समाज अनौठो बनिरहेको छ ।
जीवन सृष्टिका बारेमा विज्ञजनले भन्ने सबै सत्यता आम मान्छेलाई थाहा नहुन सक्छ ।
क–क, न–न जसरी पढिया,े त्यो आत्मानुभूति जीवनकै यथार्थ हो । हाम्रो समाजमा अझैपनि “घोकन्ती विद्या धावन्ती खेती“ भन्ने कथन सत्य लाग्छ । त्यस्तै कि पढेर जानिन्छ, कि परेर जानिन्छ । यो उक्ति पनि सार्थक लाग्छ । पढेर र व्यवहारबाट सिक्ने ज्ञान नै शिक्षा हो । तीन कक्षामा पढ्नेबेला घुकन्ते विद्याले सिकाएको एउटा कविताको श्लोक थियो,
‘परोपकार धर्म हो । परोपकार कर्म हो ।
परोपकार गर्नु नै मनुष्य खास बन्नु हो ।’ यो भनाइले सिकाएको शिक्षा र विश्व इतिहासका पाना हेर्दा अनौठो लाग्छ । विकासका नाममा हत्या हिंसा आतंक मच्चाएर ठूलो बन्नका लागि अणु–परमाणु र इलेक्ट्रोन–न्युटन नामका हानिकारक बम बने । संसारभर बन्दुक बनाउँदै र पड्काउँदै प्रथम विश्वयुद्ध तथा द्वितीय विश्वयुद्धमै ५ करोडभन्दा बढी मानवको हत्या भएको यथार्थताले देखाउँछ कि सच्चा मानवताको शिक्षा कहाँ छ ? आजको शिक्षा राम्रो सिपले मानव धर्मको पालना गरेर मेरो होइन, हाम्रो भन्ने सामूहिक भावनाको विकास गराउनुपर्दछ । समानताको व्यवहार गरेर स्वार्थ हटाउनु पर्दछ, आफूले सिकेको र मन परेको एउटा भनाइ छ ः ‘संसार फेर्ने वा परिवर्तन गर्न चाहनेले पहिले आफूलाई फेर्नुपर्छ ।’ स्वार्थ हटाएर मानव स्वभाव राखी यो जात ,त्यो जात भनेर होइन मानवता मात्र एउटै जाति मान्नुपर्दछ । त्यसैले शिक्षाको मूल मर्म त सत्कर्म गर्नु हो । आदिम युगदेखि वर्तमानसम्म आउँदा जे जस्तो काम मानवले गरेको अनुभूति गरिएको छ, त्यो स्वार्थउन्मुख देखिन्छ । गौतम बुद्ध तथा महात्मा गान्धी जस्ता निस्वार्थी मानव भावना भएका महामानव देखिए । जीवनका हरेक पाइलामा दुःख, कष्ट र पीडा त हुन्छन् । इच्छाशक्तिको प्रयोगले सारा व्यवधानलाई छिचाल्ले मानिस सफल अवश्य हुन्छ । युगौँदेखि वर्तमानसम्म हर मानिसका सफलता वा असफलता भन्ने कुरा उसको चिन्तन र कर्ममा निहीत छ ।
हाम्रो मातृभूमिमा शिक्षाका गतिविधिहरू कसरी चले र कसरी अगाडि बढे भनेर विस्तृतमा भन्न त शिक्षाविद हुनुपर्ला । तर हामी सामान्य रुपमा जीवन निर्वाह गर्नेले बुझेको भनेको गाउँघरबाट गुरुले पढाएर÷सिकाएर अघि बढियो । ‘जयन्तु संस्कृतम ’जस्ता संस्थाहरु कति चले र ती संस्थाबाट कतिले पढेर समाजमा लाभ भयो त्यो एकखालको समीक्षा होला । शिक्षाको महत्वलाई मध्यनजर गरेर २०१६ सालमा त्रिभुवन विश्वविद्यालय खोलियो । २०२८ सालमा नयाँ शिक्षा लागू गरेर शिक्षाको गतिलाई अगाडि बढाएको अनुभूति हुन्छ । २०३६ सालमा बनेको नेपाल राष्ट्रिय शिक्षक संगठनले २०३७ मा ठोस आन्दोलन गर्न सफल भई शिक्षकले पनि निश्चित तलब पाउन सफल भएको इतिहास छ । नेपालमा पटक–पटक आन्दोलनका नाममा भएका घटनामा बन्द हडताल आदि सफल पार्न शिक्षक विद्यार्थी नै धेरै प्रयोग भए तर अहिले आएको गणतन्त्रपछि ७६१ सरकारले शिक्षामा ध्यान दिएर वैज्ञानिक शिक्षा लागू गरौं, युवालाई रोजगारी दिलाएर जल, जमिन र जङ्गलको प्रकृतिको सच्चा उपभोग गरौं भन्ने कुनै संस्कार छ त ? एउटा अनुत्तरित प्रश्न रहेको छ ।
द्वन्दकालमा कक्षा आठको जिल्लामा परीक्षा हुने संस्कृतका प्रश्नपत्रहरू आगो लगाएर स्वाहा पारियो । संस्कृत भाषा चाहिन्न भनेर आगो लगाउने क्रान्तिकारी तथा प्रगतिवादी र सत्तापक्ष वा विद्रोही जो भएपनि पाठ्यक्रममा राखेको विषयको परीक्षा विद्यालयबाटै प्रश्न निकालेर भएपनि कम्तिमा परीक्षा गराउनुपर्दथ्यो तर त्यस्तो आवश्यक कार्य गरिएन । पछि स्वत परीक्षा बिना नै पास गराइयो । त्यो घटनाले शिक्षक पेशा गरेको भएर होलो मुटु चसक्क छुन्छ । छिमेकी मुलुक चीनमा चित्र लिपिबाट पनि भाषाको राम्रो प्रयोग गरेर भाषाको मात्र होइन हर क्षेत्रको विकास गर्न सक्छ । हाम्रा प्रगतिवादीहरु संस्कृत जस्तो उत्कृष्ट भाषालाई मृत भाषा भनेर जय अंग्रेजीका लागि पश्चिमातिर लाग्ने गरेको पाइन्छ । विद्यालयलाई सामुदायिक, संस्थागत, प्राविधिक लगायत विभिन्न नाम दिएर चर्चा गरिन्छ । सामुदायिक विद्यालयलाई हेपा दृष्टिले हेरिन्छ । अहिले नेपालको जुनजुन ओहोदामा पुगेका जो जो भएपनि नेपालको शिक्षाको इतिहासमा कस्ता कस्ता नामका विद्यालयबाट पढेर आइएको हो, एकपटक स्मरण गरेर गहिरो समीक्षा गर्न जरुरी छ । । अंग्रेजी र संस्कृत भाषाकै ऐतिहासिक प्रसङ्गमा भन्न मन लाग्छ, यी दुबै भाषा भारोपेली भाषा परिवारका सतम् र केन्तुमा वर्गमा पर्दछन् । हाम्रो संस्कृत भाषा सतम् वर्गको हो भने अंग्रेजी केन्तुङ वर्गको शिक्षालाई भाषाको बाटोबाट मात्र हेर्ने होइन कि समाज परिवर्तन गर्न सच्चा राम्रो नीति बनाएर उपयोग गर्ने हो ।
शिक्षाको विकास र समाजको गतिशीलता अवलोकन गरेर आवश्यकता अनुसार नीति नियम बनाउनुपर्दछ र त्यसको सकारात्मक सोच अनुरुप उपयोग हुनुपर्दछ । मानव विकासको आदि पानाबाट हेर्ने हो भने वेद पुराण पनि संविधान हुन् पूर्व–पश्चिम ,उत्तर–दक्षिण जनताका भएपनि एक बेलाका धार्मिक ग्रन्थहरू जीवनलाई सत्मार्गमा लगाउन प्रेरित गर्ने संविधान हुन् भन्ने लाग्छ यो कलमलाई । इतिहासका अनेक पानामा जे जस्ता विधान ती नदेखेको र नपढेको भए पनि पृथ्वीनारायण शाहको दिव्य उपदेशमा राष्ट्रको रक्षा र विकासका लागि व्यक्त भएका विचारहरु निकै महत्वपूर्ण छन् । १०४ वर्षसम्म राणाकालमा हुकुमको आधारमा भनौ, २००४ सालमा बनेको संविधानले शिक्षालाई प्राथमिकतामा राखेन । २००८ साल, २०१५ हुँदै २०३६ सालको जनमत संग्रहबाट सुधार गरी ऐन कानुन बने । २०४७ सालको संविधान विश्वको नमुना संविधान भनेको भनाई पनि सुनियो वा पत्रपत्रिकामा पढियो । नेपालका कतिपय महानुभावहरुले २०४८ सम्म कालो देखेको र ४९ बाट त्यसलाई गोरो देखेको यथार्थता पनि छ ।
द्वन्दकालभर जे जसरी चलेपनि पछि १२ बुँदे सहमति पछि अन्तरिम संविधान बनेर चल्यो पहिलो संविधानसभाबाट निर्वाचनमा चुनिएका ६०१ जनाले चार वर्ष जनताले तिरेको करबाट भत्ता र राशन खाने काम भयो । चार वर्षसम्म खास काम गर्न भएन । पुनः दोस्रो संविधानसभाको निर्वाचनबाट निर्वाचित भएका सभासद्हरूले २०७२ आश्विन ३ गते गणतान्त्रिक संविधान घोषणा भयो । यी सबै कुरा हेर्दा लाग्छ, हाम्रो संविधान कति बने कति तर समाजमा श्रम गर्नेहरूको अवस्था भने जस्ताको त्यस्तै छ । विकासको नाममा विनाशको महामारीले विदेशी ऋणको भारी छ । बेलायत जस्तो देशमा अलिखित संविधान आजसम्म जीवित चलिरहन्छ भने हाम्रो जस्तो देशमा जति बने पनि जस्ताको त्यस्तै । यसको मूल कारण विज्ञजनलाई शिक्षित वर्गलाई संविधान बनाउँदा उपयोग गरेर राय सल्लाह लिएको देखिँदैन । त्यसैले त भन्न मन लाग्छ फोहोरी खेल खेलेर कमाऊ, रमाऊ र जमाऊ भन्ने तितो सत्यले हाम्रो देश र समाजलाई पछाडि पारेको छ।

त्यसकारण पनि वैज्ञानिक शिक्षा लागू गरी शिक्षाको राम्रो उपयोग गरेर देश र समाजलाई सत्मार्गमा लगाउन सक्नुपर्छ । राजनीति भनेको राष्ट्रको राम्रो नीति हुनुपर्ने हो तर, व्यवहारमा त्यसको सार्थक रुपमा प्रयोग भएको पाइँदैन । संविधानमा राष्ट्रपति प्रधानमन्त्री हुन पनि कुनै न कुनै तहको शैक्षिक योग्यता र उमेरको हद हुनुपर्छ । कर्मचारी, शिक्षक, सेना वा प्रहरीको निश्चित समय र उमेर तोकेर उमेरहद राखिएको छ । योग्यताको आधारमा छनोट गरी लोकसेवा आयोग, शिक्षक सेवा आयोगले परिक्षा गराएर सफल हुनेलाई मात्र चयन गरिन्छ । तर राष्ट्र चलाउन तयार पात्रलाई कुनै शिक्षा र आयोगको परीक्षा दिनु पनि पर्दैन, उमेरहद पनि छैन । निर्वाचन आयोगको नीति अनुसार निर्वाचन हुँदा जनताको भोट पाए पुग्यो । मेरो विचारमा त राष्ट्रपति÷प्रधानमन्त्री बन्न पनि राजनीतिशास्त्र वा समाजशास्त्रमा विद्यावारिधि गरेको हुनुपर्ने वा कम्तिमा पनि सम्बन्धित विषयमा स्नातकोत्तर भएको शैक्षिक योग्यता हुनुपर्ने हो । त्यस्तै अर्थमन्त्री बन्नलाई अर्थशास्त्रमा पीएचडी वा स्नातकोत्तर गरेको हुनुपर्ने हो । अर्थशास्त्रको ‘अ’ नपढेका अर्थमन्त्री झन्डै आधा दर्जन भएको देखियो । राजनीतिको क्षेत्रमा सक्रिय रही काम गरेर कम्तिमा वर्षदेखि ६० वर्षसम्मकाले राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री हुन पाउने र ६० वर्ष कटेपछि नपाउने व्यवस्था संविधानमा उल्लेख हुनुपर्दछ । त्यसैअनुरुपको शिक्षा नीति बनाएर कार्यान्वयन गर्नुपर्दछ । राजनीतिमा सक्रिय रही काम गर्ने उमेर पनि शिक्षा हासिल गरिसकेपछि २५ वर्ष पुगेको हुनुपर्ने हो भने बल्ल ज्ञान, सीप र क्षमताको आधारमा राज्य व्यवस्था सञ्चालन हुन्छ । सचेत, ज्ञानी र इमान्दार शासक बनेपछि विधानको राम्रो उपयोग हुन्छ ।

शिक्षालाई समाज रूपान्तरणको मूल आधार बनाएर राज्यका नीति नियम बनाएर उपयोग हुने र व्यवहारमा प्रयोग हुने हो भने प्रगति हुन्छ । युवालाई ज्ञान÷सीप र शिक्षा लिन बाहिर देशमा पठाए पनि ज्ञान आर्जन गरिसकेपछि आफ्नै धर्तीमा आएर कर्म गर्ने व्यवस्था हुनुपर्दछ । आर्थिक दृष्टिले समाजलाई समानतामा ल्याउन वर्गीय दृष्टि उपयोग गरेर समान मार्गमा ल्याउनुपर्छ । त्यसैले राज्यको लगानी मात्र होइन कि व्यक्तिगत लगानीमा विदेश गएर पढेर उतै बस्ने बानीलाई अन्त्य गरिनुपर्छ । एउटा उहिले पढेको कविता छ ः
माटोमा पसिना पोखी माटोमै फल्छ जीवन,
विश्वका वीरका निम्ति धर्ती हो पहिलो धन
भन्ने मूल मर्मलाई आत्मसात गर्नुपर्छ । खर्बपतिहरूले पनि सुनचाँदी र हिरामतीको परिकार खाँदिनन् । खाने अन्नपानी नै हो । निमेकपतिले पनि बालुवा र माटो त खादिनन् । खाने अन्नपानी नै हो । व्यर्थैमा यहाँ अहङ्कार किन ? हामी प्राकृतिक दृष्टिले गरिब छैनौं । शिक्षाको सदुपयोग गर्ने र राज्यको शासन प्रणालीलाई नीति र सत्यका आधारमा परमुखी बनाएर होइन स्वावलम्बी बनाउनुपर्दछ । अधिकारको माला जपेर मात्र होइन कर्तव्यको पालना पनि गर्नुपर्छ । विश्वका विकसित नामका राष्ट्रले विकासका नाममा प्रथम र द्वितीय विश्वयुद्धमा स्वार्थका लागि करोडौं मानव स्वाहा पारेर विकसित बनेको अर्थ हुँदैन । मानव पनि यो धर्तीमा असल जीवको रूपमा जन्मेको हो नकि आनिकारक अजिंगर । त्यसैले अहङ्कार राखेर हत्या हिंसा गरेर विनाश गर्ने होइन, मानवभाव राखेर प्राणी श्रेष्ठ मानिने मानवले प्रकृति तथा वातावरणको संरक्षण गरेर बाँच्नु र बचाउनु पर्दछ र शान्ति, सद्भाव र सहिष्णुताको व्यवहार गरेर मात्र शिक्षाको मूलधार गतिशील हुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation