लिङ्देनको रणनीतिक निर्णयले राप्रपामा चुलियो असन्तुष्टि

१८ असोज, काठमाडौँ

धर्मनिरपेक्षता र गणतन्त्रविरोधी पार्टी राप्रपाभित्र पछिल्लो समय गरिएको जिम्मेवारी हेरफेरले असन्तुष्टि चुलिएको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ‘रणनीतिक निर्णय’ मार्फत महामन्त्री धवलशमशेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाएपछि इतर समूह चिढिएको छ । उनीहरूले अध्यक्षबाट ‘अमानवीय’ निर्णय भएको आरोपसमेत लगाएका छन् ।

इतर पक्षले आगामी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई चुनौती दिन राणालाई अघि सार्ने तयारी गरिरहँदा लिङ्देनले पनि आफूलाई बलियो राख्न सोहीअनुसारको रणनीति अपनाएका छन् । जसअनुसार लिङ्देनले संगठनमा राणाको हालिमुहाली हुन नदिने रणनीतिका साथ उनको जिम्मेवारी नै खोसेर उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएको बताइएको छ ।

लिङ्देनले पार्टीभित्र आवश्यक परामर्श नै नगरी राणासहितका केही नेताको जिम्मेवारी हेरफेर गरेका हुन् । राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी अहिले परिवारसँग दसैँ मनाउन अमेरिका पुगेका छन् । यस्तै उपाध्यक्ष विक्रम पाण्डे डेंगु संक्रमण भएर निवासमै आराम गरिरहेका छन् भने संगठन विभागबाट हटाइएका राणा पनि उपचारका सिलसिलामा भारतको मुम्बईमा छन् ।

दाँतको क्यान्सरको उपचारका लागि राणा भारत गएका बेला यसखालको निर्णय गरेर अध्यक्षले अमानवीय निर्णय गरेको पूर्वअध्यक्ष लोहनीले सार्वजनिक रूपमै टिप्पणी गरेका छन् । उनले सहकर्मीलाई तनाव दिने कार्यप्रति दुःख व्यक्त गर्दै लिङ्देनको निर्णयप्रति असहमति रहेको स्पष्ट पारेका छन् ।

हाल अमेरिकामा रहेका लोहनीले फेसबुकमार्फत भनेका छन्, ‘राप्रपाका सांसद तथा महामन्त्री धवलशमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई संगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काममात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation