घरमै पसेर बाबुछोरामाथि आक्रमण, १० लाखको धनमाल लुटपाट

२१ असोज, महोत्तरी

महोत्तरीको सम्सी गाउँपालिका– ६ निवासी ६० वर्षीय शेषहाजी जहुरको घरमा शनिबार मध्यराति अज्ञात नकाबधारीहरूको समूहले लुटपाट गरेको छ।

मध्यराति करिब १२ बजे १० जनाको समूहमा रहेका नकाबधारीहरूले जहुरसँगै उनका छोरा २५ वर्षीय अतहरलाई टाउकोमा रडले प्रहार गरी घाइते बनाई कोठामा बन्द गरेर लुटपाट गरेका हुन्।

शेष हाजीका छोरी र नातिनीहरूसमेत माइत आएकोमा उनीहरूलाई समेत घटनाबारे कसैलाई भने मारिदिने धम्की दिँदै नकाबधारी समूहले नियन्त्रणमा लिई लुटपाट गरेकाे छ। पीडितको घरमा रहेको गरगहना र नगदसहित करिब १० लाखबराबरको धनमाल लुटपाट भएको पीडित शेष हाजीका छोरा अतहरले बताए। उनले नकाबधारीहरू राति अबेरसम्म लुटपाट गरेर भागेको बताए।

यता नकाबधारी समूह लुटपाट गरी भागेपछि स्थानीयहरूको सहयोगमा घाइतेहरूलाई गाउँनजिकैको जानकी एकेडेमिक अस्पतालमा उपचारका लागि लगिएको छ। उनीहरूको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको बताए। उनले प्रहरीको टोली गम्भीर भएर अनुसन्धानमा जुटेको र चाँडै लुटेरा समूहको पहिचान हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation