प्रगतिशील समाज विकासकाे बाधक तत्व धर्म हाे: चापागाईं

१२ कार्तिक, घोराही

माक्र्सवाद ज्ञानशाला दाङको आयोजनामा आइतबार घोराहीमा ‘सांस्कृतिक आन्दोलनका आरोह अवरोध’ विषयक विमर्श भएको छ । ज्ञानशालाका संयोजक बुद्धिप्रकाश धितालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख वक्ता माक्र्सवादी चिन्तक निनु चापागाईं थिए ।

‘दशैं तिहार नमान्नेमा म अगाडि छु । म टीका लगाउँदैन’– प्रमुख वक्ता चापागाईंले भने– ‘धर्मको प्रक्रिया नै गलत हो भन्ने लागेपछि टीका किन लगाउने ?’– उनले संस्कृतिबारे चर्चाको शुरुवातमै भने– ‘माक्र्सवाद गहिरोसँग नबुझेरै लहलहैमा वा कसैलाई देखाइदिन्छु भनेर कम्युनिष्ट भएकाहरुले जे पनि गर्छन्, कसैले भैंसीपूजा गर्छन्, कोही राममन्दिर खोज्छन्, पशुपतिमा सुनको जलहरी लगाउँछन् । कोही धर्मगुरु ढोग्दै हिँड्छन् ।’ समग्रमा `प्रगतिशील समाज विकासकाे बाधक तत्व धर्म हाे´ – उनले भने ।

‘उसो भए धर्मको विकल्प के हो त ? त्यत्तिकै नमान्ने भनेर त भएन, विकल्प त चाहियो नि ?’– सहभागीको यो प्रश्नमा उनले धर्मको विकल्प किन चाहियो भनेर प्रतिप्रश्न गरे । दशैंमा दुर्गापूजा नगर्नुस् टीका लगाउनुस् । आफन्तजनसित भेटघाट रमाइलो सबै गर्नुस् । मैले पनि खानपिन भेटघाट गर्छु । यति लामो दशैं तिहार किन मान्नुप¥यो । अनेक पूजा केका लागि गर्ने ?’

‘नेताहरु सांस्कृतिकरुपमा पतित भयौं, हामी ठीक ठाउँमा छैनौं भन्छन् तर सच्याउन चाहँदैनन् । कुनै पनि पार्टीको केन्द्रीय समितिमा सांस्कृतिक रुपान्तरणको एजेन्डा बन्दैन । त्यसकै लागि बैठक त झन बस्दै बस्दैन । धर्मको विरोध गरे भोट आउन्न कि भनेर डराउँछन् । पार्टीहरुको सचेत भूमिका कम भयो । पार्टीहरुले सांस्कृतिक मोर्चालाई महत्व दिएनन् । धर्म अन्धविश्वास हो मान्नुहुँदैन भनेर उपदेश दिए । उनैले व्यवहारमा लागु गरेनन् । उपदेशकले नै मान्दैन भने अरुले किन मान्छ ? हिजो काजकिरिया गर्न नदिनेहरु अहिले आफ्नाको धार्मिक संस्कार अनुसार गरेकै छन् । पूजापाठ गर्नुहुन्न भन्नेहरु सबैभन्दा बढी पूजा गर्छन्’– उनले भने। कम्युनिष्ट सरकारमा भए पनि किसानहरुलाई बेवास्ता गरिएको उल्लेख गर्दै उनले भने–

‘गोलभेडा फालिए, सडकमा दूध पोखियो, उखु किसानले आन्दोलन गरे उनीहरुको माग सम्बोधन गरिएन, उल्टो कुटाई खाए । यस्तो पनि कम्युनिष्ट सरकार हुन्छ र ? जनताले चुनेर पठाएका प्रतिनिधि फिर्ता बेलाउने अधिकार छैन । यसलाई जनताको सरकार कसरी भन्नु ?’

विमर्श कार्यक्रममा सहभागीहरुले संस्कृतिका विविध आयामबारे चापागाईंसँग अन्तक्र्रिया गरेका थिए । कार्यक्रमको सहजीकरण प्रमोद धिताल र घनश्याम अस्तित्वले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation