भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै

उपेन्द्र द्विवेदी

२८ कात्तिक, काठमाडौं

अमेरिकी सेनाका रथी फर्किलगत्तै भारतका दुई सुरक्षा अंगका प्रमुखहरु नेपाल आउने निश्चित भएको छ ।

भारतीय स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल आउने निश्चित भएको हो । एसएसबी प्रमुख यही कात्तिक ३० गते र भारतीय स्थल सेनाध्यक्ष आगामी मंसिर ५ गते नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाले भारतीय स्थल सेनाध्यक्षको नेपाल आगमनबारे आज प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिने छ । ‘उहाँको गुडविल भिजिट हो, त्यसबारे आज विज्ञप्ति जारी गरेर जानकारी दिन्छौं,’ नेपाली सेनाका एक उच्च अधिकारीले भने ।

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही पदवी ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नेपालको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । त्यसैले नेपाली सेनाले उनको आगमनलाई ‘गुडविल भिजिट’ भनेको हो ।

उपेन्द्र द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९ औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए । यसभन्दा अघि उनी उत्तरी क्षेत्रको सेनाको कमाण्डर थिए, त्यहाँ उनले जम्मु–कश्मिर र लद्दाखको रणनीतिक रुपमा महत्वपूर्ण मानिने क्षेत्रको नेतृत्व गरेका थिए ।

यसैगरी भारतीय सीमा सुरक्षा बल एसएसबी प्रमुख हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन नेपाल आउन लागेका छन् । नेपालको सशस्त्र प्रहरी बल र भारतको एसएसबी बीच हुने समन्वय बैठक मंसिर १ र २ गते काठमाडौंमा हुँदैछ । यो नियमित बैठक हो ।

यसअघि यो बैठक भदौ पहिलो साता काठमाडौंमा हुने तय भएको थियो । तर बंगलादेशको आन्दोलनलाई कारण देखाउँदै बैठक स्थगित गरिएको थियो ।

सीमा समन्वय बैठक नेपाल र भारतमा आलोपालो हुने गर्दछ । गत वर्ष यो बैठक नयाँदिल्लीमा भएको थियो । यो बैठक नेपाल–भारत खुला सीमापार अपराध नियन्त्रणमा केन्द्रित हुने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation