मालढुंगा-बेनी सडक खण्ड दैनिक ६ घण्टा बन्द हुने

४ मंसिर, पर्वत 

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा-बेनी खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक कालोपत्र तथा स्तरोन्नतिका लागि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको हो।

सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका-१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी-जोमसोम(कोरला सडक आयोजना कार्यालयले जनाएको छ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले सोमबारदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिए।

म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उनले बताए। सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुङ्गा फुटाउने, सबबेस, बेस राखेको मालढुंगा-लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको चापागाईँले बताए।

याृ सडक खण्ड अवरुद्ध हुँदा मालढुंगा-बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईँले सुझाव दिए। अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ।

कुश्मा-१ मालढुंगाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यो आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ।

१३ किलोमिटर दुरीको बेनी–मालढुंगा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी-जोमसोम-कोरला सडक आयोजना र एपेक्स-खड्का-कृष्ण जेभीबीच २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो।

३० महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै ढिलाइ गरेको हो। यो सडक चालु आर्थिक वर्षभित्र पूर्णरूपमा सम्पन्न गर्नेगरी काम गर्न निर्माण व्यवसायीलाई आयोजना कार्यालयले निर्देशनसमेत दिएको छ। यो सडक भएर म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation