पर्व र हाम्रा सांस्कृतिक धरातल !

नेपाली समाजमा दशैँ एउटा ठूलो राष्ट्रिय पर्वको रुपमा स्थापित हुँदै आएको छ । असत्यमाथि सत्यको विजयका रुपमा दशैंसँग पौराणिक इतिहास जोडिन्छ। हिन्दु पौराणिक इतिहाससँग जोडिने हुनाले दशैंलाई हिन्दुहरूको महान चाडका रुपमा परिभाषित गरिँदै आएको छ । त्यसैले नेपाली समाजमा दशैँलाई हेर्ने प्रश्नमा मूलत तीनवटा दृष्टिकोणहरु पाइन्छन् । पहिलो, एउटा पुरातनवादी दृष्टिकोण छ जुन दशैं पर्वलाई भगवान राम भन्छ । असुर रावणलाई बध गरेको खुसियाली पर्वका रूपमा लिन्छन् । त्यसैगरी दुर्गादेवीले महिसासुर राक्षसको वध गरेको पर्वका रूपमा लिन्छन् । खस आर्य अन्तर्गत हिन्दूहरू र वैदिक आर्य अन्तर्गतका हिन्दूहरूका बीचमा दशैं पर्व मनाउने पद्धति र व्यवहारमा अन्तर पाइन्छ । दशैंलाई हिन्दुशास्त्रको एउटा पौराणिक इतिहाससित जोडेर हेर्नेहरूमा वैदिक र खस–आर्यहरु नै पर्छन् । भारतमा वैदिक आर्यहरूको बाहुल्यता छ भने नेपालमा खस आर्यहरूको बाहुल्यता देखिन्छ । वैदिक आर्य र खस आर्यका बीचको अन्तरका विषयमा एउटा लामो इतिहास छ । यो लेखको मुख्य उद्देश्य वैदिक आर्य को हुन्? खस आर्य को हुन् भन्ने विषयमा प्रष्ट पार्ने होइन । त्यस विषयमा मैले आफ्ना कृति र लेखहरूमा प्रष्ट पार्दै आएको छु । आवश्यकता परेमा भावी दिनमा पनि मेरो अध्ययनले भेटाएसम्मको विषय प्रकाश पार्ने प्रयत्न हुने नै छ ।

दशैं पर्वलाई पौराणिक इतिहाससँग जोडेर हेर्ने सिलसिलामा वैदिक आर्यहरुले रावणलाई आधार बनाएर राम लीलाका नाटकहरू प्रदर्शन गरेको देखिन्छ । तिनीहरूले देवी र महिसासुरको कथामा आधारित भएर नाटक प्रदर्शन गर्ने, मूर्तिहरू बनाउने त गर्छन् तर तिनीहरूको प्राथमिकतामा राम–रावण सम्बन्धित नाटक प्रदर्शन र मूर्तिहरूको निर्माण र पूजा नै पर्छन् । वैदिक आर्यहरूको दशैँ पर्व सम्बन्धित पूजाआजामा बलीपूजा प्राथमिकतामा छैन । बलि दिन परे वैदिक आर्यहरुले नरिवल कुविण्डा लगायतका अन्य फलफुल चढाउने गर्दछन् । वैदिक ब्राह्मणहरू मांसहार हुँदैनन् । त्यसकारण दशैं पर्वमा भारतका कैयन वैदिक आर्य समूहहरूले शाकाहारी भोजन ग्रहण गर्छन् । भारतको कट्टर वैदिक आर्य सनातनीहरूले त नवमीदेखि लसुन प्याज समेत नखाएर निराहार व्रत बस्छन् । दशैलाई विशेषत भारतका वैदिक आर्यहरूले दशरा भन्छन् । भारतमा तिहार वा दीपावलीलाई ठूलो चाडका रुपमा मान्छन् । वैदिक आर्य समाजमा तिहारलाई मूलत दीपावली शब्दले सम्बोधन गर्ने गर्छन् । नेपालमा तिहार शब्द नेपाली भाषाहरूको मौलिक शब्दजस्तो भएको छ । वैदिक आर्य सभ्यता भनेको विष्णु समुन्द्रको सभ्यता हो । त्यसैले विष्णु पूजा वा सत्यनारायणको पूजामा नरिवल, छोडा लगायतका समुन्द्रको किनारमा तथा मरुभूमीय पठारहरूमा उत्पादन हुने फलफुल चढाइन्छ । त्यसकारण वैदिक आर्यहरुले मनाउने दशैं पनि विष्णु सभ्यता वा सामुन्द्रिक सभ्यताको आधारमा उभिएको देखिन्छ ।

नेपालको तराई क्षेत्रमा वैदिक आर्यहरूको जनसंख्या बाक्लो छ । तर नेपालमा खस–आर्यहरूको बाहुल्यता देखिन्छ । भारतमा पनि खस–आर्यको जनसंख्या नेपालको कुल जनसंख्याको हाराहारीमा देखिन्छ । खस आर्यहरू भारतको हिमाञ्चल प्रदेश, उत्तराखण्डका कुमाउँ र गडवाल हुँदै नेपालभरि फैलिएका छन् । खस–आर्य छिटोछिटो बसाई सर्ने एउटा चलायमान जाति हो । त्यो जातिलाई इतिहासकारहरूले खस ‘महाजाति’ भनेर पनि लेखेका छन् । खस आर्य जाति पूर्वी भारतको सिक्किम, दार्जिलिङ, भुटान हुँदै म्यानमारसम्म फैलिएको छ । खस–आर्य जातिको प्राचीनता बोन परम्परासँग जोडिएको छ । नेपालका मगर गुरुङहरूको प्राचीनता पनि बोन परम्परासित जोडिएको कुरामा धेरै इतिहासकारहरु सहमत देखिन्छन् । खसआर्यहरू मस्टो, वराह कुलानीको पूजा गर्छन् । पहाडका डाँडा, बेसी र खोंचहरूमा बस्ने आमोद प्रमोदमा रमाउने खस–आर्य जाति मध्यकालमा बुद्ध धर्मसित जोडिएको इतिहास पाइन्छ । पश्चिम नेपालको खर्सन क्षेत्रमा रहेका कैयन शिलालेखहरुको सिरानमा ‘ॐ मणी पद्मे हँु’ भनेर लेखिएका छन् । यिनीहरू बिस्तारै हिन्दूकरण हुँदै गए । तर मध्यकालिन इतिहासमा अँध्यारोमा रुमलिएको र अधुरो रहेको कारणले खसहरु कहिलेबाट हिन्दुकरण भए भन्ने यकिन मिति छैन । तर खसहरु हिन्दुकरण भएतापनि आफ्नो मष्टो परम्परा, बलि प्रथा र वराह पूजालाई छोडेनन्। खस परम्परा शैव सभ्यता वा हिमाली सभ्यतासित जोडिएको पाइन्छ । हिमाली सभ्यता मतवाली सभ्यता हो । खस आर्यहरूका पूर्वजहरु पनि तान्त्रिक र मतवाली थिए भन्ने कुराहरू इतिहासमा पढ्न पाइन्छ । हिमाली खस आर्य सभ्यतासित कोट सभ्यता जोडिएको छ । जुन सभ्यतामा खड्क देवता शिव र दुर्गादेवीको नाम आउँछ । अष्टमीबाट बलि दिन सुरु हुन्छ । हिमाली सभ्यतामा गाउँका सम्पूर्ण जनताले मान्ने सिद्ध बह्म पूजा हुन्छ । सिद्धको पूजाले समाजका सम्पूर्ण जनजातिलाई एउटा थलो र मालामा उड्ने काम गर्दै आएको छ । नेपाल समाजलाई प्रगतिशील दृष्टिकोणले हेर्दा वर्गीय मात्र होइन जातिगत लगायत कैयन विभेदहरू रहेका छन् । त्यसका साथै जातीय सद्भावको लामो इतिहास पनि कायम छ । एक जाति र अर्को जातिका बीचमा ममता र सद्भाव कायम गर्न मितेरी र सैना लगाएर गहिरो नाता जोड्ने प्रचलन आज पनि हराएको छैन । दशैँमा चामलको अक्षता र दहीमा मुछेर निधारमा लगाउने, जमरा लगाउने आफूभन्दा ठूला मान्यजनकहाँ टीका थप्न जाने प्रचलन छ । यो प्रचलन वैदिक आर्य समाजमा छैन । दशैंको दही चामल टीका किराँत सम्पदाको प्रतीक हो । नवरात्रका दिन कोटघरमा राँगा, बोका, कुखुरा लगायतको बलि दिने प्रचलन पनि छैन। दशैंसँग जोडिएको कोट सभ्यताको आफ्नै इतिहास छ। कोट सभ्यता र समग्र टीका जमराको बारेमा अध्ययन गर्दा चामलको टिका लगाउने चलन नेपालमा गुरुङ, मगर, किराँत लगायत जनजातिहरूको प्रचलन दशैंमा खसआर्यहरूले अनुसरण गरेको र दशैँ पर्वलाई साझा पर्व बनाउने प्रयत्न गरेको देखिन्छ । आजभोलि दशैंको टीका रातो रङले रंगाएर लगाउने गरेतापनि केही वर्ष अगाडिसम्म जनजातिहरूले मात्र होइन खस–आर्य समुदायले पनि सेतै टीका लगाउने गर्दथे । खसहरुले जुम्लाको सिन्जालाई राजधानी बनाएर सयौं वर्ष नेपालको मध्य तथा पश्चिमी भागमा राज्य गरेका थिए । त्यतिबेलाको इतिहासमा टीका होइन, पिठा लगाउने प्रचलन थियो । खस–आर्य समाजमा गरिने विभिन्न पर्वहरूमा चामलको पिठो पानीमा मोलेर लगाउने प्रचलन थियो । आज पनि कर्णाली प्रदेशका जुम्ला, मुगु, लगायतका जिल्लाहरूमा पिठो लगाउने प्रचलन छ भने जमरा लगाउने प्रचलन कोट सभ्यताको प्रतिक हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

दशैंको सम्बन्धमा एउटा अर्को दृष्टिकोण पनि नेपाली समाजमा विद्यमान छ । त्यो दृष्टिकोणले दशैं विशुद्ध हिन्दुहरूको मात्र चाड भएको नेपाली समाजका विशेषत गैरहिन्दू जनजातिलाई जबरजस्त हिन्दू बनाएको, दशैँ मान्न सामन्ती राज्यद्वारा दमन गरेर बाध्य बनाएको, दशैँको महिमा राजतन्त्रको स्थितिकरणमा आधारित भएको आदि कारणले दशैं बहिष्कार गर्नुपर्छ भन्ने मत रहेको देखिन्छ । यो दृष्टिकोणले दशैँ पर्वलाई हिन्दू खस–आर्य जातिको अधिनायकत्वको पर्वका रूपमा विश्लेषण गर्ने गर्दछ । यो दृष्टिकोण पछाडि केही सत्यताहरू पनि छन् । दशैंमा आफ्नो घरका परिवारका आफूभन्दा ठूलाका हातको टिका थाप्ने चलन सामन्तवादी युगमा राजाका हातको टीका लगाउन पर्नेसम्म विस्तार भयो। आज पनि एकथरी मान्छेहरु पूर्व राजाको हातबाट टिका थाप्न दरबारमा पुग्छन् । गणतन्त्र स्थापना भएपछि पनि टीका थाप्न राष्ट्रपतिकहाँ पुग्ने प्रचलन छ । यो दृष्टिकोणबाट हेर्दा दशैं पर्वले स्तुतिवादी सामन्तवादको जग बलियो बनाउन सहयोग गरेको देखिन्छ । यो कुरालाई अस्वीकार गर्न सकिन्न। यो दृष्टिकोणबाट हेर्दा त खस आर्यहरू (पहाडी क्षेत्री, बाहुन, कामी, दमाई, रोका, गाइने र बादी) पनि पहिले हिन्दू थिएनन् । यी खसआर्यहरूको को ऐतिहासिकता बोन र बौद्ध धर्मसिद्ध सम्बन्धित भएको देखिन्छ। खस आर्यहरूले पनि हिन्दू समुदायको प्रभाव र दमनमा परेर दशैँ मान्न थालेका हुन् कि ? यो एउटा विचारणीय प्रश्न हो । यसका लागि थप अध्ययनको आवश्यकता छ । अर्कोतिर दशैँ पर्व हिमाली दर्शन र कोट सभ्यतासित पनि जोडिन जान्छ । हिमाली दर्शन र कोट सभ्यता खस आर्यहरूको मात्र निजी सभ्यता होइन । गुरुङ मगर लगायतका जनजातिहरूको पनि सभ्यता हो । त्यसैले नेपाली समाजमा दशैँ एउटा मौलिक र सांस्कृतिक साझा पर्वका रुपमा विकसित हुँदै आएको छ । आफूभन्दा ठूलालाई सम्मान गर्नु, वृद्धहरूका अगाडि झुक्नु र टिका लगाउनु सामाजिक एवं् नैतिक हिसाबले पनि नराम्रो होइन । यो पर्वले पहिला,े दोस्रो, तेस्रो र चौथो पुस्तासम्मको पुस्तान्तरणलाई भावनात्मक रूपमा एक ठाउँमा जोड्ने काम गर्दछ । दशैँ पर्वमा अन्तरनीहित यस्ता प्रगतिशील तथा समाज उपयोगी मूल्यहरूलाई ठाडै अस्वीकार गर्न सकिन्न। दशैँ पर्व नेपाली समाजमा पारिवारिक सम्लिन, भेटघाट, र सुखदुःख आदानप्रदानको रुपमा पनि स्थापित हुँदै आएको छ। खस–आर्य जातिको इतिहास सामुद्रिक सभ्यता र संस्कृतिको आलोकमा हेर्दा त पौराणिक रुपमा दशंै पर्व खस–आर्य जातिहरूको पनि मौलिक पर्व होइन । तर आज नेपालमा मनाइने दशैँमा हिन्दु पुराण अथवा सामुद्रिक सभ्यताको लय मात्र छैन यसमा खस–आर्य र जनजातिहरूको प्रकृतिपुजक सभ्यता पनि मिसिएको हुनाले नेपालीहरूको दशैं भारतका वैदिक आर्यहरूको दशैँ भन्दा मौलिक रुपमै भिन्न देखिन्छ । निधारमा दही चामल मुछिएको टीका तथा जमरा लगाएर दशैं मान्ने प्रचलन नेपालमा मात्र हो । यो प्रचलन नेपाली भाषीहरू रहने सिक्किम दार्जिलिङ भुटान अनि म्यानमारसम्म फैलिएको छ । आजको आप्रवासनको युगमा जहाँ नेपालीहरु स्थायी वा स्थायी रूपमा छन्, त्यहाँ दशैँ पुगेको देखिन्छ । आधुनिक कालमा नेपालको राजपाटमा खस–आर्य हिन्दू जातिको प्रभुत्व रह्यो । तर खस–आर्यको जातिको परम्परागत प्राचीनतालाई हेर्ने हो भने वैदिक कर्मकाण्डीय पद्धतिको विरुद्ध खसआर्यहरूले ठूलो लडाई लडेको इतिहास पाइन्छ । त्यसैले हिन्दू शास्त्रहरुमा खस जातिलाई असंस्कृत, गवाँर र अछुत भनेर निन्दा गरिएको छ । खस–आर्य समाजमा वैदिक हिन्दु सभ्यताको प्रभाव विकास हुनुभन्दा अगाडि त्यहाँ जाति व्यवस्था थिएन । यसरी हेर्दा त दशैंपर्व खस आर्यको पर्व पनि भएन । वैदिक शास्त्रहरूमा खसहरूलाई असुरको दर्जामा समेत राखिएको छ । त्यसकारण दशैं पर्वलाई कसरी हेर्ने भन्ने प्रश्नमा एउटा सम्यक दृष्टिकोण अपनाउन आवश्यक छ । सम्यक दृष्टिकोण भनेको कस्तो प्रकारको दृष्टिकोण हो भन्ने प्रश्नको उत्तर पनि ठोस वस्तुगत र सर्वमान्य हुन नसक्ला किनभने नेपाली समाजमा केही वर्ष यता दशैंलाई पूरातनवादी दृष्टिकोणले हेर्ने धाराका विरुद्ध बहिस्कारवादी धारणा सशक्त रुपमा अगाडि आएको छ । यो धाराको प्रचारका कारण दशैं मान्ने र नमान्ने जनजाति बीचमा आपसमा भिडन्तको अवस्था पनि सिर्जना भयो । मिलेर बसेको समाजमा राजावादी र साम्राज्यवादी शक्तिहरूले एक वा दोस्रो यस्तो अस्त्रहरू फ्याँकेर लडाउने र आफ्नो राजनीतिक रोटी सिक्ने अनि वर्गसंघर्षलाई धमिल्याउने काम गर्दछन् । दशैं मान्ने कि नमान्ने र कसरी मान्ने भन्ने कुरा आफ्नो स्वतन्त्रता र आत्मनिर्णयको अधिकारको कुरा हो । जनमुक्ति पार्टीका नेता गोरेबहादुर खजांगीले कम्युनिस्ट आन्दोलनबाट अलग भएर मगरहरूको जातीय पार्टीहरूको स्थापना गरी केही वर्ष दशैं बहिष्कारको अभियान समेत सञ्चालन गरे । दरबार हत्याकाण्डपछि ज्ञानेन्द्रको नेतृत्वमा गठन भएको शाही सरकारमा सामेल भए । त्यसपछि राजा ज्ञानेन्द्रको हातको टिका थाप्न दरबार गए । त्यसपछि उनले दशैं पर्व सम्पूर्ण नेपालीको साझा तथा मौलिक पर्व भएकोले दशैंमा मान्यजनबाट टिका लगाउँदा केही फरक नपर्ने बताएका थिए । त्यसकारण दशैंलाई मान्नुको अर्थ देवी र महिसासुर तथा राम–रावणको कुरालाई पुरातनवादी ढंगले स्वीकार्नु राजाको हातको टिका थाप्ने कुरालाई स्वीकार्नु भन्ने हुँदैन । नेपालको सन्दर्भमा दशैं एउटा नेपालीपनको मौलिक पर्वको रुपमा रहेको हुनाले मान्यजनप्रतिको नैतिक दायित्व, पुस्तान्तरणकाबीचको सद्भाव, पारिवारिक सम्मिलन आदिको महत्वलाई केन्द्रमा राखेर मान्न सकिन्छ। नेपालमा तीज पर्वलाई वामपन्थी महिला संगठनहरूले प्रगतिशील गीत र संगीतको माध्यमबाट मनाउन थालेको पञ्चायतकालदेखि नै हो । त्यसर्थ दशैँलाई पुरातन वा दुवै धारणाबाट बचाएर सम्यक रूपमा एउटा नेपालीपनको पर्वका रुपमा मनाउन सकिन्छ । दशैं पर्वले सम्पूर्ण रूपमा प्रतिक्रियावादी चरित्रको मात्र पक्षपोषण गर्दैन । यसभित्रका सामाजिक र पारिवारिक महत्वका सकारात्मक कुराहरूलाई पक्रेर सम्यक रुपमा दशैं पर्वलाई मनाउन सकिन्छ । त्यसकारण दशैँलाई एउटा सम्यक संस्कृतिको जगमा उभ्याउन आवश्यक छ । समाजको उत्पादन र उत्पादक सम्बन्ध फेरिए जस्तै संस्कृति र संस्कार पनि एउटै रूपमा रहन्नन् । दशैँलाई आजको सामाजिक परिवेश अनुरुप सम्यक रुपमा मनाइनु आवश्यक देखिन्छ । किनभने नेपालमा दशैँ मनाउने संस्कृति मौलिक प्रकारको छ । त्यो मौलिकता भनेको मूलरुपमा टिका–जमरा हिमाली दर्शन र कोट सभ्यता हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation