महिला हत्या आरोपमा एकजना पक्राउ

धनुषाको विदेह नगरपालिकामा महिलाको विभत्स हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

विदेह नगरपालिका वडानम्बर-५ मुरिबा टोलकी ४० वर्षीया रामपरी देव ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही वडाका सगमलाल पासमानलाई पक्राउ गरेको हो।

आपसी विवादका कारण रामपरीको विभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

टाउको गिडेको अवस्थामा रामपरीको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा खेतमा फेला परेको थियो भने टाउको कमला नदीको नहरमा भेटिएको थियो।

शरीर नग्न अवस्थामा रहेकाले बलात्कार गरी पासमानले रामपरीको हत्या गरेको हुन सक्ने अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।

प्रहरीले हत्याको समयमा प्रयोग गरेको प्यान्ट, टिसर्ट र ज्याकेट रगत लागेको अवस्थामा पासमानकै घरबाट बरामद गरिएको प्रहरी उपरीक्षक तिवारीले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation