नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र)सँग एकता नहुने बताएका छन्।
मंगलवार काठमाडौँमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ नलिएसम्म कुनै पनि क्रान्तिकारी शक्तिसँग एकता नहुने बताएका हुन्।
उनले माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैलाइएको भन्दै एकताका लागि गम्भीर रहेको खण्डमा पार्टी एकता हुने बताए। उनले नेकपाले लिएको एकताको पहलकदमीको आवश्यकतालाई अन्य कम्युनिष्ट पार्टीहरूले गम्भीरतापूर्वक नलिएको बताए।
क्रान्तिकारीहरूको एउटा सही विचार, संगठनको ध्रुवीकरण बनाउन आफूहरू लागेको बताए।
महासचिव चन्दले भने, ‘माओवादीसँगको एकता लर्बरियो रे, बन्द भयो रे, सिधियो रे भन्ने छ। त्यो होइन। जुन गम्भीरतामा नेकपाले एकतालाई हेरेको छ र आवश्यकता ठानेको छ, त्यो उचाइमा माओवादी केन्द्र वा अरू क्रान्तिकारी पार्टीको बीचमा गम्भीर नभएसम्म हामीले सहकार्यलाई मोर्चामार्फत कायम राख्दै एउटा ध्रुवीकरणतर्फ लैजाने भनेका हौँ।’
महासचिव चन्दले बदलिएको सन्दर्भ, जनचाहना, जनताको सुझाव, पार्टीले गरिरहेको राजनीतिक अभ्यासको निष्कर्षबाट निर्वाचनमा भाग लिने निर्णय गरेको बताए।