१९ पुस, प्युठान
बृहत महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।”साना किसानको समृद्धि कृषिको रुपान्तरण उद्यमशिलताको विकास” भन्ने मूल नाराका साथ सञ्चालन भएको वार्षिक साधारणसभा प्युठान नगरपालिका -८ शिवानगर,प्युठानमा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष रेखा बस्यालको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रममा प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाई खलंगा प्युठानका प्रमुख चुमान सिंह गिरी र प्युठान नगरपालिकाका नगरप्रवक्ता एवम् वडा नं-३ का वडाध्यक्ष सुमनराज श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो।कार्यक्रममा विभिन्न सामाजिक व्यक्ति एवम् समूहका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै नगरप्रमुख विष्णु योगीले सहकारी संस्थालाई आगामी दिनमा नमुना सहकारी बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो। नगरप्रमुख योगीले हिजोका दिनमा सहकारीलाई यो स्थानसम्म ल्याउन खेलेको भूमिका सराहनीय रहेको बताउँदै सहकारी पैसा जम्मा गर्ने र ऋण लग्नेमात्र नभई समाजमा नेतृत्वदायी भूमिका खेल्नका लागि महत्त्वपूर्ण भूमिका पुर्याउने बताउनुभयो।सहकारीले यसले समाजलाई सहि दिशामा लान निर्देश गर्ने बताउनुभयो।सहकारीको माध्यमबाट गाउँसमाजमा सन्देशसहितको परिवर्तन गर्न सकिने बताउनुभयो। उहाँले भनुभयो ‘सहकारीमा देखिएका समस्यालाई समाधान गर्नका लागि प्युठान नगरपालिकाले अभिभावकत्वको भूमिका निर्वाह गर्न तयार छ।’
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्युठान नगरपालिकाका नगरप्रवक्ता सुमनराज श्रेष्ठले सहकारीको माध्यमबाट महिला दिदिबहिनीहरुले आत्मनिर्भरको पाटो रोजिरहेकोमा शुभकामना व्यक्त गर्नुभयो।प्रवक्ता श्रेष्ठले नगरपालिकाले कृषि केन्द्रित कामहरु; किसान पेन्सन कार्यक्रम,किसान बिउबिजनमा अनुदान लगायत उत्पादन एवम् बजारीकरणमा आधारित अनुदान कार्यक्रमहरु गरिरहेको बताउनुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका सल्लाहकार गिता तिवारीले सम्पूर्ण कामको लागि सर्वप्रथम ईच्छाशक्ती जरुरी रहेको बताउनुभयो। तिवारीले भन्नुभयो ‘सबै महिला दिदिबहिनीहरु सहकारीमा आबद्ध भई जिविकोपार्जनलाई सरल बनाउनुपर्छ।’
नवौं वार्षिक साधारणसभामा सहकारी संस्थाका विभिन्न जिम्मेवार व्यक्तिहरुले विविध प्रतिवेदन प्रस्तुत गरेका हुन।साधारणसभामा सञ्चालक समिति सदस्यद्वारा अध्यक्षको प्रतिवेदन प्रस्तुत, लेखा समिति संयोजकद्वारा लेखासमितिको वार्षिक प्रतिवेदन प्रस्तुत र संस्थाको कर्मचारीद्वारा वार्षिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो।
यस आर्थिक वर्षमा मात्र संस्थाको सम्पत्ति तथा जेथा तर्फ र पुजी तथा दायित्वतर्फ ४८ लाख ३० हजार १ सय ६ रुपैयाँ ५४ पैसा संस्थाको कारोवार रहेको संस्थाका अध्यक्ष रेखा बस्यालले बताउनुभयो।
संस्थाको आफ्नै भवनमा सञ्चालन भएको उक्त साधारणसभामा लेखा समिति सदस्य रचना आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने संस्थाका सदस्य गिता घिमिरेले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।