२३ माघ, रोल्पा
सुनिलस्मृति गाउँपालिका वडा नं. ३ स्थित चन्द्र प्रभा माध्यमिक विद्यालयमा एस.इ.इ.दिने तयारी गरिरहेका विद्यार्थीहरुकालागि एक दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कक्षा आठका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो ।
परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुले पठनपाठनलाई कसरी अगाडी बढाउने, खानपानमा के कस्तो ध्यान दिने र छोंटो समयमा पनि तयारीलाई कसरी प्रभावकारी र स्मरणीय बनाउने विषयमा विद्यार्थीहरुलाई जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा फरकफरक क्षेत्रमा स्थापित तीन जना प्रशिक्षकहरुले विद्यार्थीहरुलाई प्रशिक्षित गर्नुभएको थियो । पत्रकार खेम बुढामगर, अधिवक्ता आकास गिरी र डा.निरज घर्तीमगरले आफ्नो अध्ययन जीवनका अनुभव सहित आफूलाई अध्यनमा कसरी एकाग्र र उत्प्रेरित राखिरहने, परीक्षाको तयारीदेखि प्रश्नपत्रको समाधानसम्म कसरी प्रभावकारी र स्मार्ट बनाउने विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको हो ।
एच.पि.भी. खोप अभियानको निरिक्षणको क्रममा आकस्मिक रुपमा विद्यालय आइपुग्नुभएका गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीले विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्नु अत्यन्तै सकारात्मक रहेको भन्दै वडा शिक्षा समितिलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उत्प्रेरणा कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्ट र वडा नं.३ का वडा अध्यक्ष दुर्गा बिष्टले अत्यन्तै प्रेरक मन्तव्य राख्नुभएको थियो भने वडा सदस्यहरु लाल बहादुर बिष्ट, रिता थापा र वडा शिक्षा समिति सदस्य देवा शुनारको पनि उपस्थिति रहेको थियो ।
वडा शिक्षा समितिले आयोजना गरेको उक्त कार्यक्रम समितिका संयोजक धिरज घर्तीमगरको अध्यक्षता, वडा अध्यक्ष दुर्गा बिष्टको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्टको विशिष्ट आतिथ्यता र विद्यालयका शिक्षक घनश्याम आचार्यको सहजिकरणमा सम्पन्न भएको थियो।