सन २०२२ को रिपोर्ट अनुसार विश्वभर २० मिलियन नयाँ क्यान्सरका बिरामी पत्ता लागेको तथा ९.७ मिलियन मानिसहरूको मृत्यु क्यान्सरबाट भएको थियो । रिपोर्ट अनुसार क्यान्सर निदान भएका व्यक्तिहरूको संख्या विश्वमा विगत ५ वर्षभित्र करिब ५३.५ मिलियन रहेका थिए ।
क्यान्सर लागेका मध्ये ९ जना मा १ जना पुरुष र १२ जनामा १ जना महिलाको मृत्यु भएको आइएआरसी-डब्लुएचओ विश्व प्रतिवेदनले बताएको छ ।
नेपालमा अनुमानित २१ हजार ७६६ क्यान्सरका बिरामी रहेको तथा १४ हजार ६ सय जना क्यान्सरले गर्दा मृत्यु भएको सन २०२२ को अध्ययनले जनाएको छ। हरेक एक लाख नेपालीमध्ये ८१ जनामा क्यान्सर पत्ता लागेको तथा क्यान्सर निदान भएका मध्ये ५५ जनाको मृत्यु भएको अध्ययन प्रतिवेदनले जनाएको छ ।
नेपालमा क्यान्सरका मुख्य प्रकारहरूमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर, र पाठेघरको मुखको क्यान्सर रहेका छन् । साथै नेपालमा मृत्यु गराउने प्रमुख क्यान्सरहरूमा फोक्सोको क्यान्सर, पेटको क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रहेका छन् ।
नेपालमा क्यान्सरको संख्या पुरुष (९,६८४) भन्दा महिलामा (१२,०८२) धेरै रहको पाइएको छ यधपी मृत्युदर भने महिला र पुरुष दुवैमा लगभग बराबर रहेको छ। रिपोर्ट अनुसार फोक्सोको क्यान्सरको भार महिला पुरुष दुवैमा धेरै देखिएको छ।
पुरुषमा मात्र धेरै निदान भएको क्यान्सरको प्रकारहरूमा पेटको, कोलोरेक्टल तथा कलेजोको क्यान्सर रहेको छ। त्यसैगरी महिलामा धेरै निदान भएका क्यान्सरको प्रकारहरूमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा कोलोरेक्टल रहेको छ।
सन २०५० सम्ममा नेपालमा क्यान्सर दरको प्रक्षेपण
नेपालमा हाल रहेको करिब २२ हजार क्यान्सर रोगीहरूको संख्या बढेर सन २०५० सम्ममा ९१ प्रतिशतले वृद्धि हुदै अनुमानित करिब ४२ हजार प्रक्षेपण गरेको छ ।
यो अनुमान नेपालको जनसंख्याको वृद्धिको अनुपातमा गरिएको हो यद्यपी क्यान्सर गराउने सामाजिक जोखिम तत्वलाई आधार मान्दा सन् २०५० सम्ममा अझ धेरै अनुमानित गरे भन्दा धेरै क्यान्सर रोगीको संख्या हुनसक्ने प्रक्षेपणले देखाएको छ।
अबको गन्तव्य
यस विश्व रिपोर्टलाई आधार मान्दा नेपालमा शीघ्र बढ्दै गरेको क्यान्सर रोगको नयाँ दर र समग्र भारलाई घटाउन जनस्वाथ्यका पद्धतिहरू : क्यान्सरको शीघ्र निदान, समुदायमा लक्षित क्यान्सर सचेतनाका कार्यक्रमहरु (जस्तै : सुर्तीजन्य पदार्थ सेवनको नियन्त्रण आदि) स्वास्थ्य सेवा पूर्वाधारको थप विकास र लगानीमा सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्ने देखिन्छ ।
भर्खरै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर नियन्त्रण, निदान, उपचार र प्रशामक सेवाको समग्र मार्गदर्शन गर्न ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४-२०३०’ पारित गरी क्यान्सर रोग नियन्त्रणलाई उच्च प्राथमिकता दिएको छ ।
साथै यसै वर्षदेखि क्यान्सर दिवसको दिनबाट पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा सामवेश गरी समुदायस्तरमा लक्षित वर्गमा एचपीभी खोप कार्यक्रमको सुरुवात गरेको छ ।
नेपाल जस्तो कम विकसित देशमा क्यान्सर नियन्त्रणको लागि दीर्घकालीन लागत प्रभावकारी हुने कार्यक्रमहरूलाई राज्यले प्राथमिकता दिनु पर्ने देखिन्छ । लागत प्रभावकारी कार्यक्रमहरूमा क्यान्सरको शीघ्र पहिचान, प्रतिकारात्मक र प्रबधनात्मक जनस्वास्थका कार्यक्रमहरू पर्दछन् ।
यस अन्तर्गत उच्च जोखिम वर्गहरूमा क्यान्सर स्क्रिनिङ कार्यक्रम, स्वस्थ्यकर जीवनशैलीका उपायहरू, क्यान्सरको प्रारम्भिक चरणमा नै निदान तथा क्यान्सर गराउने जोखिम तत्वहरूलाई नियन्त्रण गर्ने कार्यक्रमहरू पर्दछन्। साथै प्रयोगशालामा आधारित क्यान्सर बायोमार्कर टेस्टलाई (जस्तै स्तन क्यान्सर, प्रोस्टेट क्यान्सरको बायोमार्कर) लाई परीक्षण गर्ने विधिलाई राज्यले प्राथमिकता दिनु आवश्यक देखिन्छ ।
क्यान्सरको दीर्घकालीन नियन्त्रणका लागि मेडिकल अनुसन्धानलाई सरोकारवाला वर्गले प्राथमिकता दिनु अपरिहार्य छ। यसका लागि राज्यले स्वास्थ्य अनुसन्धानमा स्वास्थ्यको कुल बजेटको कम्तिमा ५-१० प्रतिशत रिसर्च कोषमा लगानी गरी देशभरिका विश्वविद्यालय र रिसर्च इन्स्टिच्युटलाई रिसर्च फन्ड उपलब्ध गराउनु आवश्यक देखिन्छ ।
नेपालमा क्यान्सरको वास्तविक नयाँ बिरामी दर पत्ता लगाउन जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीलाई देशको सातै प्रदेशमा विस्तार गरिनु पर्दछ ।
क्यान्सर रजिस्ट्रीलाई तिनै तहको सरकारले उच्च प्राथमिकतामा राखेर बजेटसमेत सुनिस्चित गरी नेपालको सबै जनसंख्यालाई लक्षित गरी सरकारबाटै स्वामित्व लिने गरी सातै प्रदेशमा क्यान्सर रजिस्ट्री सेन्टर स्थापना गर्नु आवश्यक देखिन्छ।
अहिलेको जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीले नेपालको कुल जनसंख्याको २० प्रतिशतलाई मात्र कभर गरेको देखिन्छ। क्यान्सर बिरामीहरूलाई अनुसन्धानमा संलग्न गरेपश्चात उनीहरूको उपचारको सुनिश्चित गर्ने ‘पूर्ण हेरचाह तथा उपचारको प्रणाली’ को मोडल विकास गर्नु मेडिकल इथिक्सको दृष्टिकोण अति आवश्यक देखिन्छ ।
अन्त्यमा, नेपालमा क्यान्सर रोगलाई समयमा नै रोकथाम तथा नियन्त्रण गर्ने जनस्वाथ्यका प्रतिकारात्मक, शीघ्र निदान, उपचारात्मक सेवा तथा प्रशामक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच स्पस्ट रुपमा नीति, कानुन र निर्देशिकामा नै काम कर्तव्यहरूको स्पस्ट उल्लेख गरी कार्यन्वयन गर्न अग्रसर हुनु पर्दछ सो का लागि तीनै तहका सरकारबीच बहुपक्षीय समन्वय हुनु अतिआवश्यक छ ।
अ.ख.