Pranmancha

Advertisment

SKIP THIS

भेरी नदीमा खसेर दुई जना बेपत्ता !

भेरी नदी (फाइल तस्वीर)

२३ माघ, काठमाडौं

सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता भएका छन् । पुल निर्माणमा खटिएका उनीहरू दिउँसो साढे १ बजेतिर नदीमा खसेका हुन् ।

बेपत्ता हुनेहरूमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीका अनुसार झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा खसेर उनीहरू बेपत्ता भएका हुन् ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको डीएसपी डाँगीले बताए । ‘नेपाल प्रहरी र एपीएफको टोली खोजी कार्यमा खटिएको छ,’ डीएसपी डाँगीले भने ।

सुर्खेतको बराहताल गाउँपालिका–४ र पञ्चपुरी नगरपालिका–१४ जोड्नका लागि भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम भइरहेको छ ।

सोही कामको सिलसिलामा उनीहरू नदीमा खसेर बेपत्ता भएका हुन् ।

नेपाल सशस्त्र प्रहरी बल बाङ्गे सिमलबाट प्रहरी निरीक्षकको कमान्डमा ७ जना र नेपाल प्रहरीको ११ जनाको टोली उद्धार कार्यमा खटिएको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation