पदार्थदेखि चेतनासम्मको यात्रा श्रृङ्खला के हाे ?

मानव इतिहासको आरम्भिक कालदेखि नै उसले एउटा जटिल प्रश्नसँग जुध्दै आएको छ-म अस्तित्वमा किन छु? यो ब्रह्माण्ड कहाँबाट आयो? जीवनको सार के हो? प्रारम्भिक सभ्यताले यी प्रश्नहरूको उत्तर आस्था, मिथक र धर्ममार्फत दिएको पाइन्छ। जहाँ प्रकृति शक्तिहरूलाई देवी-देवताका रूपमा पूजा गरियो, र जहाँ आत्मा, पुनर्जन्म, स्वर्ग-नरकजस्ता अमूर्त धारणाहरूलाई यथार्थको रूपमा स्थापित गरियो। तर, यी सबै धारणाहरूको मूलमा भय थियो-अज्ञातप्रति, मृत्युप्रति, र अनियन्त्रित शक्तिप्रति।

यिनै भयहरूको अँध्यारोमा थोरै बिन्दुहरू झिलमिलाए-जसलाई हामी आज ‘भौतिकवादी चिन्तन’ भन्छौं। यो चिन्तनले भने-सत्य बाहिरी कुनै शक्ति होइन, हाम्रो वरपरकै भौतिक जगतमा लुकेको छ। थेल्सले प्रकृतिको तत्व पानी हो भने; डेमोक्रिटसले सबै कुरा अणुबाट बनेका हुन् भने। उनीहरूले धर्मको होइन, पदार्थको अध्ययन गर्न अनुरोध गरे। उनीहरूको दृष्टिकोणले एउटा नयाँ दार्शनिक र वैज्ञानिक युगको ढोका खुल्यो।

यी प्रारम्भिक विचारहरू पछि विस्तार हुँदै गए-ग्यालिलियो, न्यूटन, डार्विन, म्याक्सवेल, कार्ल मार्क्स, आइंस्टाइन, र हालैका कृत्रिम बुद्धिमत्ता र न्यूरोसाइन्सका अनुसन्धानहरूले भौतिकवादलाई केवल दर्शन होइन, वैज्ञानिक खोजको विधि भएको अकाट्य तथ्य उद्घाटित गरायो।

भौतिकवादले प्रश्न उठायो-चेतना आत्माको उत्पादन हो कि मस्तिष्कको? नैतिकता दैवी आदेश हो कि सामाजिक निर्माण? सृष्टि ईश्वरको योजना हो कि भौतिक नियमहरूको खेल?
यी प्रश्नहरू हामीलाई सत्यतर्फ डोर्याउँछन्-त्यो सत्य जुन परीक्षणयोग्य छ, परिवर्तनशील छ, र लगातार अन्वेषणको माग गर्छ।

आजको युगमा पनि यो बहस समाप्त भएको छैन। अझै पनि वैज्ञानिक सोचको अगाडि अन्धविश्वास उभिएको छ, तथ्यको साटो आस्थालाई प्रधानता दिइएको छ, र धर्मसत्ताको आवरणमा ज्ञानलाई दबाइने प्रयास भइरहेका छन्।

यसैले, भौतिकवादको वैज्ञानिक आयामहरूलाई ऐतिहासिक पृष्ठभूमि, दार्शनिक गहिराइ, र समकालीन विज्ञानसँग जोडेर पुनःसमीक्षा गर्नु आजको आवश्यकता हो।
यो लेख त्यही उद्देश्यले तयार गरिएको हो- पदार्थदेखि चेतनासम्मको यात्रालाई बुझ्न, धर्मसत्ताको जकड तोड्न, र मानव चेतनालाई स्वतन्त्रताको दिशामा डो-याउन।

भौतिकवादका प्रवर्तक चिन्तकहरू-संक्षिप्त ऐतिहासिक दृष्टि : भौतिकवाद (Materialism) मानव चिन्तनको त्यो धार हो, जसले चेतना, आत्मा, ब्रह्माण्ड र जीवनसम्बन्धी व्याख्या प्रकृति वा भौतिक तत्त्वहरूबाट गर्दछ। यस धाराको प्रारम्भ ग्रीक दर्शनसँगै थेल्सबाट भएको मानिन्छ। भौतिकवादी दृष्टिकोणले विज्ञानको विकासमा महत्वपूर्ण योगदान पुर्‍यायो, जसले आत्मा, परमेश्वर वा अदृश्य शक्तिको सट्टा तर्क, पदार्थ, ऊर्जा, र प्रकृति नै सृष्टिको केन्द्रमा राख्छन्। यहाँ तिनै परम्पराका प्रमुख चिन्तकहरू संक्षिप्त जीवनकाल, मूल भनाइ प्रस्तुत गरिएका छ।

१. थेल्स (Thales of Miletus ~ इपू. ६२४-५४६)

मुख्य भनाइ: सबै वस्तुको मूल तत्त्व पानी हो।
(Everything originates from water.)

२. एनाक्सिम्यान्डर (Anaximander, ~इपू. ६१०-५२४)
मुख्य भनाइ: अपरिमित तत्व ‘अपेइरोन’ बाट संसारको उत्पत्ति।
(The universe originates from the boundless “Apeiron”.)

३. एनाक्सिमिनेस (Anaximenes, ~इपू. ५८६-५२६)
मुख्य भनाइ: हावा नै सबै वस्तुको मूल हो।
(Air is the fundamental substance.)

४. हेराक्लाइटस (Heraclitus, ~ इपू. ५३५-४७५)
मुख्य भनाइ: संसार निरन्तर परिवर्तनमा छ, आगो मूल तत्व हो।
(The world is in constant flux; fire is the basic element.)

५. डेमोक्रिटस (Democritus, ~ इपू. ४६०-३७०)
मुख्य भनाइ: संसार अविभाज्य परमाणुबाट बनेको छ।
(The world consists of indivisible atoms.)

६. एपिक्युरस (Epicurus, ~ इपू. ३४१-२७०)
मुख्य भनाइ: परमाणु र रिक्त स्थान नै सबैको आधार हुन्। आत्मा नश्वर हो।
(Atoms and void are the basis; the soul is mortal.)

७. लुक्रेटियस (Lucretius, ~ इपू. ९९-५५)
मुख्य भनाइ: एपिक्युरसका विचारहरू काव्यमार्फत व्याख्या; अन्धविश्वासको विरोध।
(Explained Epicureanism poetically; opposed superstition.)

८. जियोर्डानो ब्रुनो (Giordano Bruno, ~ १५४८-१६००)
मुख्य भनाइ: अनन्त ब्रह्माण्ड र जीवनको बहुलता; धर्मसँग टकराव।
(Infinite universe and plurality of life; clashed with religion.)

९. थोमस होब्स (Thomas Hobbes, ~ १५८८-१६७९)
मुख्य भनाइ: चेतना भौतिक प्रक्रियाबाट उत्पन्न हुन्छ।
(Consciousness arises from material processes.)

१०. ग्यालिलियो ग्यालिलि (Galileo Galilei, ~ १५६४-१६४२)
मुख्य भनाइ: प्रकृति गणितीय नियमअनुसार चल्छ। अवलोकन महत्वपूर्ण।
(Nature follows mathematical laws; observation is key.)

११. आइस्याक न्यूटन (Isaac Newton, ~ १६४३-१७२७)
मुख्य भनाइ: गुरुत्वाकर्षण नियमले भौतिक संसार व्याख्या गर्छ।
(Gravitational law explains the physical world.)

१२. बारुख स्पिनोजा (Baruch Spinoza, ~ १६३२-१६७७)
मुख्य भनाइ: ईश्वर र प्रकृति एकै हुन्।
(God and nature are the same – pantheism.)

१३. जुलियन ला मेट्रि (Julien O. de La Mettrie, ~ १७०९-१७५१)
मुख्य भनाइ: मस्तिष्क यन्त्र हो; चेतना यान्त्रिक प्रक्रिया हो।
(The brain is a machine; consciousness is mechanical.)

१४. डेनी डिडेरो (Denis Diderot, ~ १७१३-१७८४)
मुख्य भनाइ: तर्क र विज्ञानद्वारा अन्धविश्वासको विरोध।
(Opposed religion and superstition through reason and science.)

१५. चार्ल्स डार्विन (Charles Darwin, ~ १८०९-१८८२)
मुख्य भनाइ: प्राकृतिक छनोटद्वारा क्रमिक विकास।
(Evolution by natural selection.)

१६. कार्ल मार्क्स (Karl Marx, ~ १८१८-१८८३)
मुख्य भनाइ: भौतिक अवस्थाले चेतनालाई निर्धारण गर्छ।
(Material conditions determine consciousness; historical materialism.)

१७. सिग्मन्ड फ्रायड (Sigmund Freud, ~ १८५६-१९३९)
मुख्य भनाइ: चेतनालाई भौतिक र अवचेतन द्वन्द्वले प्रभावित गर्छ।
(The psyche is shaped by physical and unconscious drives.)

१८. बर्ट्रान्ड रसेल (Bertrand Russell, ~ १८७२-१९७०)
मुख्य भनाइ: तर्कवाद र वैज्ञानिक विधिको पक्षपोषण।
(Advocated rationalism, materialism, and scientific method.)

१९. फ्रान्सिस क्रिक (Francis Crick, ~ १९१६-२००४)
मुख्य भनाइ: चेतना मस्तिष्कका भौतिक क्रियाकलापबाट उत्पन्न हुन्छ।
(Consciousness arises from brain’s physical activity.)

२०. ड्यानियल डेनेट (Daniel Dennett,~ 1942)
मुख्य भनाइ: चेतना र मन भौतिक यन्त्रबाट विकास भएको।
(Mind and consciousness evolved from material processes.)

भौतिकवादी दर्शन मानव चेतनाको इतिहासमा एक क्रान्तिकारी मोड हो-जहाँ ‘तर्क’ ले ‘आस्था’ सँग टक्कर खायो, ‘अनुभव’ ले ‘अदृश्य’ लाई चुनौती दियो, र ‘विज्ञान’ ले ‘धर्मसत्ता’ को भ्रम खोलेर यथार्थको उज्यालो देखायो।

१. धर्मसत्ताविरुद्धको ऐतिहासिक प्रतिरोध

प्रारम्भिक सभ्यताहरूमा ब्रह्माण्ड र जीवनका प्रश्नहरूको उत्तर ‘ईश्वर’ वा ‘दैवी इच्छा’मा खोजिन्थ्यो। धर्मसत्ताले आत्मालाई अमर ठानेर शरीरलाई तुच्छ ठान्थ्यो, र जीवनलाई परीक्षास्थल मानेर मृत्युपछिको काल्पनिक स्वर्ग या नर्कमा मानवलाई बाँध्थ्यो। यही संरचना सत्ताको, डरको र नियन्त्रणको आधार बन्यो।

तर थेल्सदेखि सुरु भौतिकवादी चिन्तनले यस धारणामा प्रश्न उठायो। भन्थे-“यो जगत पानीबाट बनेको हो” (थेल्स), “सबै कुरा परमाणुबाट बनेका छन्” (डेमोक्रिटस), “आत्मा पनि नाशवान् छ” (एपिक्युरस)। यो धर्मसत्ताको हिंस्रक संरचनाविरुद्ध गरिएको पहिलो बौद्धिक विद्रोह थियो।

२. ज्ञानको पुनराविष्कार र विज्ञानको शिलान्यास

पुनर्जागरण र वैज्ञानिक क्रान्तिको युगले भौतिकवादलाई सैद्धान्तिक होइन, प्रयोगात्मक स्वरूप दियो। ग्यालिलियोले टेलिस्कोपबाट देखेको चन्द्रको खाल्डोले ‘स्वर्ग सधैं शुद्ध हुन्छ’ भन्ने बाइबलको दाबी भत्कायो। ब्रुनोको अनन्त ब्रह्माण्डको परिकल्पनाले ‘धर्ती केन्द्री सृष्टि’को मिथ खारेज गर्‍यो, र त्यसैको निम्ति जिउँदै पोलिए।

न्यूटन, फराडे, र म्याक्सवेलहरूले भौतिक नियमहरूको आधारमा युनिभर्सल गतिको सिद्धान्त राखे। मार्क्सले तिनै भौतिक प्रक्रियाहरूलाई सामाजिक संरचनासँग जोड्दै ‘चेतना वस्तुगत अवस्थाबाट जन्मिन्छ’ भन्ने ऐतिहासिक भौतिकवादको सिद्धान्त विकास गरे।

३. समाज, मनोविज्ञान र चेतनाको भौतिक समीक्षा

१९औं-२०औं शताब्दीमा डार्विनले जीवनको उत्पत्तिमा दैवी योजना नभई जैविक विकास (natural selection) को प्रक्रिया देखाए। फ्रायडले चेतनालाई आत्माको होइन, मस्तिष्कीय यन्त्रहरूको अन्तरक्रियाको नतिजा भने। डानिएल डेनेटले आधुनिक तर्कका साथ चेतना मस्तिष्कीय एल्गोरिदमको जटिलता हो भन्ने कुरालाई पुष्टि गरे।

यिनै भनाइहरूले आत्मा, स्वर्ग, पुनर्जन्म, कर्मफल आदि धर्मसत्ताका आधारभूत स्तम्भहरू भत्काइदिए। अब मानव मस्तिष्कलाई कम्प्युटेसनल प्रणालीका रूपमा हेर्ने प्रवृत्ति बढेको छ, जसले चेतनालाई पनि विज्ञानको विषय बनाएको छ, रहस्यको होइन।

४. समकालीन यथार्थ र भविष्यको सम्भावना

२१औं शताब्दीमा कृत्रिम बुद्धिमत्ता (AI), मस्तिष्क-यन्त्र इन्टरफेस, क्वान्टम कम्प्युटिङ, र अन्तरिक्ष खोजजस्ता विकासहरू भौतिकवादी विज्ञानको प्रतिफल हुन्। यी विकासहरूले अब चेतना निर्माण, जीवनको विस्तार, र नैतिकताको पुनर्परिभाषा गर्न थालेका छन्।

धर्मका परिकल्पनात्मक स्वर्गको सट्टा, विज्ञानले तारा पारिको बास सम्भव बनाउँदैछ।

यस्तो अवस्थामा, भौतिकवाद केवल दर्शन मात्र नभई ज्ञान प्राप्तिको विधि, वास्तविकता बुझ्ने आधार, र मानव मुक्ति र उत्थानको उपकरण बनेको छ।

भौतिकवादले ‘विश्वलाई बुझ्ने’ तरिका परिवर्तन गर्‍यो-सृष्टिलाई ईश्वरको नजिर होइन, पदार्थको गतिशील प्रक्रियाको रूपमा हेर्न लगायो। जीवनलाई परीक्षा होइन, स्वतन्त्रता र अनुभवको अवसर ठान्यो। चेतनालाई दैवी वरदान होइन, भौतिक संरचनाको कार्य परिणाम मानेर अनुसन्धान योग्य बनायो। र, धर्मसत्ताको भय-आधारित शासनलाई तार्किक सोच र वैज्ञानिक दृष्टिकोणमार्फत चुनौती दियो।

त्यसैले, भौतिकवाद एक विद्रोह मात्र होइन, एक विकल्प हो-सत्य खोज्न, स्वतन्त्रता पाउन, र यथार्थतामा बाँच्नका लागि।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation