सम्झनामा पुष्पलाल: दाजुलाई राणाले मारेपछि राजनीतिक अभिभारा पूरा गर्न पार्टी खाेले

 

कमरेड पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा रामेछाप जिल्लामा भएको थियो । १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहित चार जनालाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा दाजु गंगालाल श्रेष्ठलाई भेट्न गएका थिए । गंगालालले उनलाई भनेका थिए, “माइला, मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैंले प्रज्ज्वलित गर्नेछस्, निभ्न दिने छैनस् ।”

त्यतिबेला पुष्पलाल १६ वर्षको नौ जवान थिए । उनलाई दाजुको त्यही भनाइ राजनीतिमा प्रवेश गर्ने मुख्य प्रेरणाको स्रोत बन्यो । वि.सं १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरे ।

नेपाली प्रजातान्त्रिक संघको सम्पूर्ण सदस्यले आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर मात्र पार्टीको सदस्य बन्न सकिने नियम बनाइयो । २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकार प्राप्तिका लागि गरेको आन्दोलनको नेतृत्व कमरेड पुष्पलाल श्रेष्ठले नै गरेका थिए । जनताले गरेको नेपालको पहिलो जनआन्दोलनका रूपमा २००४ सालमा गरिएको आन्दोलनलाई विश्लेषण गरिन्छ । नेपाली राष्ट्रिय काग्रेसले जनपक्षीय काम नगर्ने र शोषित पिडित जनताको भावना नबुझी सामन्त, दलाल, नोकरशाही र पुँजीपति वर्गको सेवा गर्ने देखेपछि पुष्पलालले नेपाली राष्ट्रिय काग्रेस परित्याग गरि कम्युनिस्ट पार्टी गठनको तयारी गरे । नेपालमा जहानियाँ राणाशासन कायम रहेका बेला भारतको कलकत्ता, श्याम बजारमा गोप्य रूपमा र भूमिगत तरिकाबाट नेपाल कम्युनिष्ट पार्टी स्थापना गरियो ।

२००६ बैशाख ९ अर्थात् सन् २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका गरे । कमरेड पुष्पलालले दुई वर्षसम्म मात्र महासचिव बन्ने अवसर मिल्यो । त्यसपछि राजापरस्त र संशोधनवादीको षड्यन्त्रको सिकार भई महासचिवबाट हट्नु पर्यो । पुष्पलालले २००५ सालमा कम्युनिष्ट घोषणापत्रको पहिलोचोटि नेपालीमा अनुवाद गरे । त्यसलगतै उनले कम्युनिष्ट विचारधारा अनुरुप लेखेको पहिलो लेख नेपाली भाषामा लेखिएको कम्युनिष्ट घोषणापत्र हो । १५ सेप्टेम्बर १९४९ मा पहिलो पर्चा निकालेर नेपाली समाजको वर्गविश्लेषण गरे ।

पुष्पलालले कम्युनिष्ट पार्टीमा गरेको योगदान अतुलनीय छ । वास्तवमा जनवादलाई समृद्ध गर्ने र संयुक्त जनआन्दोलनको कार्यदीशा निमार्णमा उनको महत्त्वपूर्ण योगदान रह्यो । उनले गणतन्त्रको नारा लगाउँदै क्रान्तिको दिशानिर्देश गरे । उनले नेपाली समाजको द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको विश्लेषण गर्ने काम गर्नु भयो। नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव क. पुष्पलाल, सदस्यहरु नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरन्जन गोविन्द वैद्य र मोतीदेबी श्रेष्ठको नाम संस्थापकको रूपमा चिनिन्छ ।

२००६ सालपछि नेपाली समाजलाई हेर्ने ऐतिहासिक भौतिकवादी दृष्टिकोण पुष्पलालले अगाडि सारे । त्यसभन्दा पहिलाका लेखक तथा इतिहासकारहरुले राजा महाराजका गुणगाण गर्ने र धार्मिक अन्धविश्वासका आधारमा समाजको विश्लेषण गर्दथे । नेपालमा मिथ्या तर्कको आधारमा ईश्वरले यो पृथ्वी सिर्जना गरेको, ईश्वरको देन वा कृपाबिन कुनै पनि कार्य हुन सक्दैन भन्ने जुन धार्मिक अतिवादी सोचले जरा गाडेको थियो । नेपाली समाजलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्न श्रेय पनि पुष्पलाललाई जान्छ ।

पुष्पलाल मालेमावादी विचारधारामा पोख्त थिए । कम्युनिष्ट पार्टी, जनसंगठन, सिद्धान्त र वर्गगसंघर्ष सम्बन्धि राम्रो ज्ञाताका रुपमा उनीलाई चिनिन्छ । उनको नेतृत्व कालमा नेपालमा किसान तथा मजदुर आन्दोलन उत्कर्षमा पगेको थियो । बिसं २००८ सालको नेकपाको पहिलो सम्मेलनबाट उनी आफैंले स्थापना गरेको पार्टीको महासचिव पदबाट षड्यन्त्रपूर्वक हटाइन्छ । राजापरस्त र संशोधनवाद परस्त गुटका नेता मनमोहन अधिकारी पहिलो सम्मेलनबाट महासचिव बन्न पुग्छन । सम्मेलनबाट पुष्पलालको नीति कार्यक्रम पास हुने तर नेतृत्व अन्य गुट मिलेर हत्याउने कार्यले उनी अल्पमतमा परेपछि कम्युनिष्ट आन्दोलन सही दिशाबाट अघि बढ्न सकेन ।

२०१० सालको प्रथम महाधिवेशनबाट सबै मिलेर क.पुष्पलाललाई फेरि अल्पमतमा पारियो महासचिव मनमोहन अधिकारी भए । बि.सं२०१४को दोस्रो महाधिवेशनबाट महासचिव केशरजंग रायमाझी भए भने बि.सं. २०१९ को तेस्रो महाधिवेशनबाट तुल्सीलाल अमात्य महासचिव बने । यसबीच कांग्रेसले नेतृत्व गरेको सरकारले ने.क.पा.लाई प्रतिबन्द समेत लगायो । २०१५ सालको नेपालको इतिहासकै पहिलो आम निर्वाचनमा ने.क.पा.ले ४ सिट जितेको थियो । २०१५ देखि २०१७ सम्म बीपी कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । २०१७ सालपछि तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर पञ्चायती व्यवस्था लागू गरेपछि फेरि ने.क.पा.लाई पञ्च र राजाले प्रतिबन्ध लगाए । त्यसक्रममा केशरजंग रायमाझी समूहले पञ्चायती व्यवथस्थाको समर्थन गरेपछि नेकपामा फुट र विभाजन आयो ।

समयक्रममा नेकपामा कयौं फुट विभाजन र एकताहुँदै आएको छ । यतिबेला संशोधनवादी र क्रान्तिकारीबीच तिब्र ध्रुवीकरण खड्किएको छ । पुष्पलालप्रतिको सच्चा सम्मान भनेकै क्रान्तिकारीबीचको ध्रुवीकरण हो, यसले नै राष्ट्रलाई सही राजनीतिक निकास दिनसक्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation