इतिहास: कसरी बनेकाे थियाे महेन्द्रकालमा मितेरी पुल ?

हिजो बिहान चिनियाँ क्षेत्रमा बग्ने ल्हेन्देखोलामा बाढी आउँदा नेपाल चीन सिमामा रहेको मितेरी पुल बगाएको छ । यस्तै पुल र यहिँ नाममा २०२४ सालमा कोदारी राजमार्ग निर्माण सम्पन्न हुँदा चिनियाँ सिमामा बनेको पुलको पनि नाम राखिएको थियो । हुन त चिनियाँहरुले त्यस पुललाई योयी छि कावो (友谊之桥) भनेर राखेका थिए । पछि मितेरी पुलको नामले प्रख्यात भयो ।

कोदारी राजमार्ग निर्माण सम्पन्न भएको करिव २० वर्षपछि रसुवाको धुन्चेबाट स्याप्रुवेशी हुँदै अर्को सडक चीन सिमासम्म जोडियो । जसको नाम पासाङ ल्हामु राजमार्ग राखिएको छ । यसको सिमामा पनि पुल बन्यो जसको नामाकरण पनि मितेरी पुल नै राखियो । २०७२ सालको भूकम्प पछि तातोपानी नाकामा आवागमनमा समस्या आएपछि चिनियाँ पक्षले रसुवा नाकालाई प्राथमिकता दिएको थियो । जसले गर्दा चिनियाँ सामग्रीको आयात यही बाटो हुँदै आइरहेको थियो । आज यस मितेरी पुल बगाउँदा पून चिनियाँ सामानको आयातमा समस्या आउने देखिन्छ ।

कथा पुरानो मितेरी पुलको

मितेरी पुल
हजारौ वर्षदेखि सम्बन्ध रहँदैआएको नेपाल र चीनबिच २०१२ साउन १७ गते कुटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलोपटक चिनियाँ उच्चपदस्थको रुपमा उपप्रधानमन्त्री उलान्हु राजा महेन्द्रको शुभराज्याभिषेकमा पाहुना भएर २०१३ को बैशाखमा आएका थिए । त्यसैगरी २०१३ को माघमा चिनियाँ प्रधानमन्त्री चाउ एन लाइ नेपाल भ्रमणमा आएका थिए । यसबिच चीनले तिब्बतलाई आफ्नो एक राज्यको रुपमा समाहित गर्न सफल भयो । यता नेपालमा पनि आमचुनावपछि प्रजातान्त्रिक सरकारको गठन भयो । सरकार प्रमुखको हैसियतले बिपी कोइरालाले २०१६ को चैत्रमा भ्रमण गरेका थिए । चिनियाँ पक्षले नेपालमा विभिन्न सहयोगको इच्छा देखाएको थियो । २०१८ असोज १९ मा राजा महेन्द्र र चिनियाँ समकक्षी राष्ट्रपति ल्यु शाओचीद्वारा सीमा तथा मैत्री सन्धी भएको १० दिनपछि नेपालका परराष्ट्रमन्त्री तुलसी गिरी र चिनियाँ विदे मन्त्री चेन ई ले कोदारी राजमार्ग निर्माण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

नेपाल र चीनबिचको यस सम्झौताको भारतले विरोध गर्न थाल्यो । राजा महेन्द्र नेहरुबाट त्रसित थिएनन् । त्यसैले राजा महेन्द्रले “नेपालमा साम्यवाद ट्याक्सी चढेर आउँदैन” भन्दै हस्यौली पारामा जवाफ दिएका थिए । सम्झौता अनुरुप २०१९ असार १७ मा कोदारी राजमार्गको निर्माण शुरु भयो । चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने थियो तर विभिन्न अवरोधले पाँच वर्ष लाग्यो । राजमार्ग निर्माणको कठिन क्षेत्रमा गोप्य रुपमा चिनियाँ सेनाको सहयोग लिइएको थियो । करिव ५०० चिनियाँ सैनिकहरुको नेतृत्व लेफ्टिनेन्ट कर्णेल लि ले गरेका थिए । भारतको विरोधको सम्भावनालाई देखेर सैनिक परिचालनको सम्झौता राजा महेन्द्र र माओबिच गोप्य राखिएको थियो । नेपाली सरकारी स्तरममा पनि यसको जानकारी दिइएको थिएन । चिनियाँ सैनिकहरुको सुरक्षार्थ तथा निगरानीमा दरबारका विश्वासिला मेजरहरुको कमाण्डमा नेपाली सेना निर्माण स्थलको १०० मीटर दुरीमा क्याम्प बनाएर बस्दथे । यसको रहस्योद्घाटन निकै वर्षपछि पूर्व चिनियाँ राजदुत चेङ सुयोंगबाट “You and Us: Stories of China and Nepal” मा उल्लेख गरेका थिए । यस पुस्तकमा चीन-नेपाल सम्बन्धको विषयमा १६ चिनियाँ कुटनीतिज्ञ तथा सात नेपाली लेखकका लेखहरु समावेश गरिएको छ । सुयोंग राजमार्ग निर्माणको समय चिनियाँ सेनाका कमाण्डर लेफ्टिनेन्ट कर्णेल लि का दोभाषेको रुपमा कार्यरत थिए ।

यसरी २०१९ मा निर्माण थालनी भएर २०२४ सालमा तैयार भएको राजमार्ग निर्माणको क्रममा १२ चीनिया सैनिकले ज्यान गुमाएका थिए । करिव ३५ लाख पाउण्ड खर्च भएको यस राजमार्गको उद्घाटन राजा महेन्द्रले २०२४ सालको असारमा गर्दा भक्तपुरमा भव्य समारोह गरिएको थियो । चिनियाँ पक्षले राजमार्ग सम्पन्न भएको अवसरमा भव्य भोजको ब्यबस्था गरिएको थियो ।

यहाँ राखिएको तस्विर कोदारी राजमार्गको अन्तिम बिन्दु चीनिया सिमामा रहेको ल्हेन्देखोला माथी बनेको पुलको हो । राजमार्ग बन्नु अगाडिसम्म काठको मुढा तेर्स्याइएको एकजना मात्र हिड्न मिल्ने थियो । पुल तैयार भएपछि मानिस हिड्न दाँया बाँयाको भाग छुट्याएर बिचमा गाडीको लागी छुट्ट्याइएको थियो । Concrete arch deck डिजाइनमा बनाइएको पुल बनिसकेपछि चिनियाँ प्राविधिकले Yǒuyì zhī qiáo (योयी छि कावो friendship bridge) नाम राखे । यसको नेपाली नामको लागी चेङ सुयोंगलाई सोधियो । उनले तत्कालै नेपाली नाम भने “मितेरी पुल” यहि नाम नै अन्तिम टुंगो लाग्यो । ठूला ठूला अक्षरले चीनियाँ भाषा र नेपाली भाषामा पुलको नाम लेखियो । यस पुल मितेरी पुलकै नामले नै प्रख्यात भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation