‘रसुवागढी हाइड्रोको इनटेकभित्र छिर्‍यो गाडी, सुरुङबाहेक अरु सबै ड्यामेज’

 

२६ असार, काठमाडौं

भोटेकोशीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरको सुरुङ बाहेकका अरु संरचनामा क्षति पुगेको त्यहाँका कर्मचारीले बताएका छन् । रसुवागढी हाइड्रोपावर केन्द्र प्रमुख सन्तोष अधिकारीले बाढीले बगाएर ल्याएको एउटा गाडी नै इनटेकभित्र छिरेको बताए ।

कहिले नसोचेको बाढी आएको बताउँदै उनले भने, ‘तीन बजे पानी फ्ल्यास फ्लडको रुपमा आयो । पूर्वानुमान नै थिएन । किनभने यहाँ पानी नै परेको थिएन । एकैचोटि माथिबाट आयो । हाम्रो हेडवर्क्स चाइनाको एकदमै बोर्डरमा छ । तीन सय मिटर मात्र डाउनसाइडमा छ । एकैचोटी माथिको मितेरी पुल बगाएर हेडवर्क्सको स्ट्रक्चर भित्र नै त्यो पुलले हान्यो ।’

उनले थपे, ‘कहिले पनि नभएको, हाम्रो एक सय वर्षको डिजाइनमा पनि नभएको, लेभलभन्दा माथि पानी आयो । हाम्रो १७९६ मा टप लेभल थियो । त्योभन्दा पनि माथि गएर, ओभरटप भएर, इनटेकभित्रैसम्म बालुवा, ढुंगा, एउटा सानो गाडी छिरेको छ भन्ने सुनिएको छ त्यहाँ । इनटेक भित्र नै एउटा सानो गाडी पनि छिरेको छ ।’

असार २४ गते बिहान चीनको तिब्बत क्षेत्रबाट बगेर आउने केरुङ र लेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिएको थियो । गेग्रानसहितको सो बाढीले नेपाल–चीन मितेरी पुल भत्काउनुका साथै टिमुरे भन्सार यार्डमा रहेका गाडीहरुसमेत बगाएको थियो । बाढीमा परेर ९ जनाको मृत्यु र कम्तिमा २० जना वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

‘पावर हाउसमा पनि सोचेको भन्दा फरक ढंगले बाढी पस्यो’

 

भोटेकोशीको बाढीको चपेटामा रन अफ रिभरमा आधारित रसुवागढी हाइड्रोपावर पनि परेको थियो । रसुवागढी हाइड्रोपावर केन्द्र प्रमुख सन्तोष अधिकारीका अनुसार सुरुङ सुरक्षित भए पनि अन्य संरचनामा क्षति पुगेको छ ।

उनले भने, ‘सुरुङमा क्षति पुगेको छैन । डिसेन्डरमा थोरै लेदो र ढुंगाहरु छिरेको छ । बाहिरको स्ट्रक्चर, गेट कन्ट्रोल गर्नुपर्ने पम्प हाउस, मोटर हाउस सबै ड्यामेज छ । गेट सबै ड्यामेज भएको छ ।’

उनले पावर हाउसमा पनि सोचेको भन्दा फरक ढंगले बाढी पसेको र क्षति पुगेको उनले बताए । ‘पावर हाउसको टर्बाइन फ्लोरको तल्लो फ्लोर पूरै डुबेको थियो । त्यहाँ भएका इक्विपमेन्टहरु ड्यामेज नै छन्,’ अधिकारीले भने, ‘तर मेजर इक्विपमेन्ट भएको फ्लोर चाहिँ अहिलेसम्मलाई सेफ छ । पछि आएर हामीले पम्पआउट गर्‍यौं । पावर हाउसमा पनि सोचेको भन्दा फरक ढंगले पानी छिर्‍यो र इक्विपमेन्टहरु क्षति नै छ ।’

-अ.ख.

भोटेकोशीमा एक्कासी बाढी आएपछि अधिकारीसहित कर्मचारीको टोलीले जंगल क्षेत्रमा गएर ज्यान जोगाएको थियो । उनीहरुलाई पछि सुरक्षाकर्मीहरुले उद्धार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation