करार शिक्षक नियुक्तिमा पालिकाकाे असुली धन्दा: ऋण खाेजेर बुझाउँछन रकम टाट पल्टिएका विद्यालय

३२ असार, प्युठान 

विश्व चर्चित दार्शनिक पाउलाे फ्रेरेले भनेका छन्, “माफी त देउ तर घटनालाई नबिर्स, नत्र फेरी त्यहि घटना दोहोरिन सक्नेछ । माफीले दृष्टिकोण बदल्छ तर भुलिदिनाले तिमीले एउटा पाठ सिक्नबाट बन्चित हुनेछौ ।” हाे, हामी मानिस हाै । समय र परिस्थितिकाे दबाब वा संयाेगबस कुनै कार्य सम्पादनमा कुनै गल्ती हुन सक्छ । हामीले संयाेगवस हुन गएको त्यस गल्तीलाई उचित समयमै महसुस गरेर सच्चिने कि नियतबस थप गल्तीहरु दाेहाेर्याएर आफू नै सकिने ? मानवीय जीवनकाे दैनन्दिन क्रियाकलापमा याे गम्भीर सवाल हाे । संसारका कैयौं मानिसले गल्तीलाई प्रायश्चित गर्छन्, आफूलाई सुधार्छन् र आफूसँगै समाजलाई पनि बदल्ने काेसिस गर्छन् तर नियतबस गल्ती गर्ने अपराधिक मनाेवृत्तिका मानिस आफ्नो क्षणिक लाभकाे प्रलाेभनमा गल्ती दाेहाेर्याइरहन्छन्, कुनै पनि घटनालाई निर्मम समीक्षा गर्दैनन्, माफि माग्दैनन् र सिंगो समाज नै आफू जस्तै भ्रष्ट हाेस् भन्ने चेष्टा राख्छन् र अन्ततः आफू, समाज र देशलाई भ्रष्टाचारकाे आहलमा डुबाउछन् । नियत नै गलत राखेपछि व्यक्ति बिग्रन्छ, समाज बिग्रन्छ र देश नै ढिलाेचाँडाे बर्बादीकाे भड्खालाेमा जाकिन्छ । हाम्रो देशकाे मूल समस्या नै यही विडम्बनाबाट लामाे समयदेखि गुज्रीरहेकाे सबैमा जगजाहेर नै छ ।

यसरी कुनै पनि गल्ती वा बदमासीकाे माफि नमाग्ने र हरेक अपराधिक घटनालाई निरन्तरता दिने नियति नै बनेकाे छ गाैमुखी गाउँपालिका । यहाँका जिम्मेवार कर्मचारीले नियतवश निरन्तर गल्ती दाेहाेर्याएर बदनामीकाे चरमचुली नाघिरहेका छन् ।

पालिकाकाे शिक्षा शाखा प्रमुख तथा सुचना अधिकारी समेत रहेका नामुद बदमास पात्र हुन् दुर्गा प्रसाद सुवेदी । उनले विगत ४ वर्षदेखि पालिका भित्र हुने आन्तरिक शिक्षक नियुक्ति, सरुवाबढुवा, विद्यालयकाे भाैतिक पूर्वाधार निर्माण आदि सबैमा खुलमखुला घुस माग्छन्, पैसा खान्छन् र अनुचित लेनदेन गर्छन् । आफुले भनेकाे नमान्नेलाई हप्काउँछन, दप्काउँछन् त्यति गरेर नभए उनकाे आफ्नो बाउकाे बिर्ता दिए जस्तै जागिरै खाइदिने धम्कि दिन्छन् । यसाे भनाैँ, दुर्गा सुवेदीले भनेकाे नमान्नेहरु पालिका भित्रका सबै प्रअ एवम् शिक्षकहरु सिंगाे पालिकाकाे तगाराे बन्छन्, स्पष्टीकरण वा विभागीय कारबाहीको भागिदार बन्न विवश छन् ।

वर्षाैँदेखि यावतप्रकारले बेथितिकाे राज गरिरहेका दुर्गा सुवेदी लगायतका पालिकाका बदमास कर्मचारीलाई बहादुरीका साथ काँधमा चढाएका छन् पालिकाका अध्यक्ष विष्णुकुमार गिरीले । आठ वर्षसम्मकाे उनकाे कार्यकाल हेर्दा पालिकाभित्र फुसकाे छानाे हटाउनेबाहेक अन्य सुधारात्मक सुचकहरु खासै भेटिँदैनन् । उनमा इगाेकाे चरमचुली कतिसम्म नाघेको छ भने उनकाे सामान्य आलोचना गर्ने हरकाेहीलाई लगभग बैरभाव राख्छन् र लाैतापरे जिन्दगीभर बाेल्दैनन् । यसरी बदमासी गरेका उनका अति प्रिय पात्र ´एसम्यान` (जनप्रतिनिधि हाेस्, पार्टी कार्यकर्ता हाेस् वा जनप्रतिनिधि) नै उनीहरुलाई हमेसा सुनपानी छर्केर चाेख्याउँछन् । पालिकाकाे शिक्षा ध्वस्त पार्न तल्लीन अमुख पात्रलाई काँधकुरी हालिरहेका विष्णु गिरीका असली एसम्यान बनेका सुवेदीकाे कहिलेकाँही मानसिक असन्तुलनमा देखिने गरेकाे बताउँछन् सेवाग्राहीहरु । दैनिक रुपमा एन्जाइटीकाे औषधि खान विवश सुवेदीलाई पालिकाले जबर्जस्ती शिक्षा शाखा सहित अन्य आधा दर्जन शाखाकाे प्रमुख बनाएर सिंगाे शिक्षा क्षेत्रलाई दैनदन्दिन कुरुप बनाइरहेकाे छ । यसरी काँधेकुरी हालेका दुर्गाले विष्णु गिरीकाे शरीरभरी दिसापिसाब गरेर कपडा देख्नै नमिल्ने र गन्ध सुँघ्नै नसकिने भएपनि उनलाई भने उही चमेलिकै अत्तर मगमगाइरहेकाे छ ।

त्यस्ताखाले बदमासीलाई लगातार सहीछाप लगाएर अपराधकाे ढाकछोप र संरक्षण गरिरहेका आफूलाई बढाे बाैद्विक कहलाउने अर्का पात्र हुन् प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पाैडेल ।

विगत दुई वर्षदेखि पालिकाकाे प्रशासन हाँकिरहेकाले पालिका पस्ने हरकाेहीलाई सुशासन, पारदर्शीता र जवाफदेहिताकाे धुवाँधार प्रशिक्षण दिने हाकिम आफ्ना सहकर्मीहरुले गरेका बदमासीमा कतै पनि चुँइक्क बाेल्दैनन् । बरु आफू पनि अनुचित लेनदेनमा ५ फिट उफ्रिएर बुकुर्सी मार्दै ढुक्कले समाहित हुन्छन् र भागबिलाे मिलाउँछन् ।

यसरी “आफ्नै हातमा जगन्नाथ” हुँदा अनुचित लेनदेनका किस्सा कति हाेलान् उक्त सिंहदरबारमा ? हामी आज सबै काण्डहरु काेट्याउन नसकेकाेमा क्षमाप्रार्थी छाैँ तर करार शिक्षक नियुक्तिमा गरेकाे उनीहरुकाे गाेजी भर्ने काण्डलाई भने पर्दाफास गरेका छाैँ ।

 

“गाउँ गाउँमा विद्यार्थी नभएको र भाैतिक पूर्वाधार लथालिङ्ग भएर टाट पल्टिएका निम्छरा स्कुलकाे शिक्षक नियुक्ति गर्दा यिनलाई ऐनविपरित यसरी पैसा असुल्ने यी जुका र किर्नाहरुले पालिकाका पूर्वाधार विकासका याेजना, खरिदबिक्री तथा अन्य काेटेशनहरुमा कति लुट मच्चाउने गर्छन् त्याे तपाईं हामी कल्पना गर्न पनि सक्दैनाैँ जबकि दुरदुराजका विद्यालयमा मुस्किलले ५० जना विद्यार्थीले पढ्ने ससाना स्कुलमा १ वर्षलाई करार जागिरमा नियुक्ति हुने शिक्षककाे त उठिबास हुनेगरी असुली धन्दा चलाउँछन् भने आफ्नै हातमा सबैथाेककाे डाडुपन्याै हुँदा अरु के के हुन्छ हाेला ? नाम नखुलाउने सर्तमा गाैमुखी क्षेत्रमै लामाे समयदेखि सामाजिक कार्यमा सहभागी एक बुद्धिजीवीले भने ।” यसरी हेर्दा कर्मचारी कति बदमास छन् र राजनीतिले त्यसलाई सदर गर्दै कसरी ताली बजाइरहेकाे छ भन्ने उदाहरण ०४६ सालकाे बहुदल यताका हजारौं काण्डहरुले प्रष्ट पारिरहेकै छ ।

प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पाैडेलकाे कमाण्डिङमा पालिकाकाे कथित शिक्षा शाखा प्रमुख दुर्गा प्रसाद सुवेदी र प्राविधिक सहायक निमा पाेख्रेल मिलेर साे क्षेत्रका ४ वटा विद्यालयमा करार शिक्षक नियुक्ति गर्दा चालु आवमा गैरकानुनी ढंगबाट पैसा असुली गरेका छन् । यस आर्थिक वर्षमा मात्रै करार लिस्टकाे ४ जना शिक्षक नियुक्ति गर्दा उनीहरुले प्रत्येक विद्यालयबाट प्रमुख प्रशासकीय अधिकृतले प्रति शिक्षक २ हजारका दरले ६ हजार, शिक्षा शाखा प्रमुखले ४ हजारका दरले १६ हजार, प्राविधिक सहायक निमा पाेख्रेलले २ हजारका दरले ८ हजार रुपैयाँ गैरकानुनी ढंगले असुली गरेकाे प्राणमञ्च टिमले फेला पारेकाे हाे । यसरी हेर्दा उनीहरुले सबै स्कुलबाट ३२ हजार भ्रष्टाचार गरेका छन् भने विद्यालयका प्रअ र अध्यक्षलाई पनि उसैगरी भ्रष्टाचार गर्न हाैसाइरहेका छन् । प्रमुख प्रशासकीय अधिकृतले ज्ञानाेदय आविकाे दुई हजारकाे बिलाे भने कारणबक्स पाउन सकेका छैनन् । यद्यपि करार शिक्षक नियुक्तिमा  याे लुट विगत ४ वर्षदेखि जारी रहेकाे पालिकाका सामाजिक अगुवाहरु बताउँछन् ।

के भएकाे थियाे घटना ?

कानुनत: विद्यालय व्यवस्थापन समितिले गर्न पाउने करार शिक्षक नियुक्ति सम्बन्धिकाे कार्यधिकार बमाेजिम शिक्षक आवश्यकता पदपूर्तिकाे विज्ञापनपश्चात शिक्षक नियुक्ति गरिसकेपछि उक्त निर्णयसहितकाे फाइल सदर गराउन गाैमुखी गाउँपालिका पुगेका महेन्द्र आवि अर्खाका प्रधानाध्यापक दिपक थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुशलसिंह थापा २०८१ चैत २६ गते लिवासेमा रहेकाे गाउँपालिकाकाे केन्द्रकाे शिक्षा शाखा प्रमुखमा विराजमा दुर्गा प्रसाद सुवेदीकहाँ पुग्छन् । तर राेल्पा गजुल आसपासकाे तगडा पानी खाएर हुर्किएका ´थुकले पैसा टिप्ने` त्रिनेत्रधारी सुवेदीले आफैले बनाएकाे असुलीकाे गाेजे विधान कार्यान्वयन नगराई कसरी निर्णय सदर गरिदिन्थे र ? कास, उनलाई जसरी पनि ४ हजार चाहियो चाहियाे । अनि उनैकाे आदेश र नीतिअनुरुप त्यहाँ पुगेका प्रधानाध्यापक र विव्यस अध्यक्षले पनि जनही ३/३ हजार रुपैयाँ आ-आफ्नो खल्तीमा राखे । पालिकाका ३ जना कर्मचारीलाई ८ हजार बुझाउन विवश उनीहरु शिक्षा शाखाकाे हाकिम साबले नियमै यहि त हाे नि भनेपछि अन्य कुनै कानुनी प्रावधान के छ भनेर खाेज्न नलागेर ढुक्कसँग गल्ती पैसा राखेकाे हामीसँग बताएका छन् ।

उता ज्ञानाेदय आधारभूत विद्यालय रजवाराका प्रधानाध्यापक नाेजबहादुर बुढा मगर र अध्यक्ष हुमबहादुर घर्ती मगरले पनि शिक्षा शाखामा गत पुसमा गरिएको शिक्षक नियुक्तिकाे विद्यालय व्यवस्थापन समितिकाे निर्णय सदर गर्न नमानेपछि दुर्गा प्रसाद सुवेदी ताेकेकाे रकम निजहरुलाई बुझाएर आफूहरुकाे गाेजीमा जनही दुई दुई हजार राखेकाे बताएका छन् । हामीले सबै विद्यालमा भएको याे अनुचित लेनदेनकाे विषयमा विद्यालयमै पुगेर भलाकुसारी गर्दा आफूहरुलाई शिक्षा शाखा प्रमुखले जबर्जस्ती रकम मागेकाे र रकम नदिए शिक्षक नियुक्त नै खारेज गरिदिने भनि शिक्षा शाखा प्रमुख दुर्गा सुवेदीले धम्क्याएपछि बाध्य ऋण खाेजेर निरिह ढंगले रकम बुझाएको बताएका छन् ।

महेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक दिपक थापाले शिक्षक नियुक्तिकाे निर्णय सदर गर्नकाे लागि पालिका पुग्दा दुर्गाले विद्यालय पुगेर खातामा रकम हालिदिने प्रतिबद्धतासहित नियुक्ति सदर गरिदिन अनुनयविनय गरेपनि पैसा नबुझाउँदै कुनै पनि हालतमा सदर नगरिदिने जिकिर गरेपछि लिवासेबाट ठुलावेसी पुगेर आफन्तकहाँ ऋण सापटी गरेर बुझाएपछि निर्णय सदर गरिएको बताए । पालिकाका शिक्षा शाखा प्रमुखले पालिकामा करार शिक्षक नियुक्ति गर्दा पहिले देखिनै आफूले ४ हजार खाइरहेकाे, प्रमुख प्रशासकीय अधिकृतलाई पनि दुई हजार खल्तीमा हाल्दिरहेकाे, प्राविधिक सहाकलाई २ हजार दिइरहेकाे र सम्बन्धित विद्यालयका प्रअ र अध्यक्षले जनही ३/३ हजार बुझिरहेकाेले साेहीबमाेजिम गर्नुपर्ने अन्यथा विद्यालय व्यवस्थापन समितिले गरेकाे करार शिक्षक नियुक्तिकाे निर्णय बदर गरिदिने धम्की दिएपछि निजहरुले पनि पैसा बुझाउन बाध्य भएको बताएका छन् ।

हामीलाई प्राप्त ३ वटा विद्यालयकाे भाैचर अनुसार अर्खाकाे महेन्द्र आधारभूत विद्यालय, रजवाराकाे ज्ञानाेदय आधारभूत विद्यालय र जीवनसुधार प्राविका प्रअ तथा अध्यक्षले दुई दुई हजार रकम बुझेका छन् तर लालिगुराँस आधारभूत विद्यालयका प्रअ र अध्यक्षले भने विद्यालयलाई अनावश्यक आर्थिक भार पर्ने ठानेर शिक्षा शाखा प्रमुख दुर्गा सुवेदीले टाँचा लगाइदिएकाे ३/३ हजारकाे बिलाे हामीसँग बताएका छन् । भाैचरमा पनि उनीहरुले रकम नबुझेकने प्रष्ट देखिन्छ ।

हामीले यस विषयमा शिक्षा विकास तथा समन्वय इकाई, सामाजिक विकाश निर्देलनालय लुम्बिनी प्रदेश, अख्तियार दुरुपयोग अनुसन्धान आयाेग, कानुनविद एवम् अन्य सार्वजनिक चासाेका जनाकारहरुसँग चासाे राख्दा यसरी गरिएको अनुचित लेनदेन सिधा भ्रष्टाचार भएकोले त्यस घटनामा जाेडिएका सबैलाई कानुनी कारबाहीकाे दायरामा ल्याउन जरुरी भएको बताए ।

बुटवल स्थिति अख्तियारका दुरुपयोग अनुसन्धान आयाेगका अधिकारीले करार शिक्षक नियुक्ति गर्दा विद्यालय व्यवस्थापन समितिकाे एउटा निर्णयले काम फत्ते हुने भएकोले त्यहाँ लिखित माैखिक परीक्षा गर्नेदेखि विषयविज्ञ आदि केही पनि नचाहिने स्पष्ट कानुनी व्यवस्था हुँदैगर्दा गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत जसकाे त्यसखाले शिक्षक नियुक्तिकाे विषयमा कुनै सराेकार नै हुँदैन साेही व्यक्ति जाेडिएर दाम गाेजीमा हाल्नु सरासर पालिकाकाे नीतिगत भ्रष्टाचार भएको ठहर हुने बताउँछन् ।

कैयौंपटक पालिकाकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत सम्मालेका शाखा अधिकृत दुर्गा सुवेदीकाे भ्रष्ट ग्याङले निजी तहका शिक्षक तथा आन्तरिक रुपमा खुलाइएका करार कर्मचारी पदपूर्तिमा ५० हजारसम्म विद्यालय वा सम्बन्धित शाखा कार्यालयकाे रकम जबर्जस्ती माग्ने वा दारु पार्टी गरेर झ्वाम पारिरहेकाे सराेकारवालाहरु बताउँछन् ।

शिक्षक पदपूर्ति कार्यविधिमा करार लिस्टकाे सबैभन्दा अगाडि रहेकाे व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिले नियुक्ति गरेर गाउँपालिकालाई जानकारी गराउने स्पष्ट कानुनी प्रावधान भएपनि गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत सहितकाे सहभागीतामा यस आर्थिक वर्षमा मात्रै अर्खाकाे महेन्द्र आधारभूत विद्यालय, रजवारकाे लालिगुराँस आधारभूत विद्यालय दहवासे, रजवाराकै ज्ञानाेदय आधारभूत विद्यालय लामिबगर र जीवनसुधार आधारभूत विद्यालय ढाडखानीबाट जबर्जस्ती रकम असुली गरेको पाइएकाे छ ।

उता पालिकाका शिक्षा शाखा प्रमुख दुर्गा सुवेदी र प्राविधिक सहायक निमा पाेख्रेलले पालिकामा पहिलेदेखि नै यसैगरी रकम लिने गरिएकोले आफुहरुले रकम बुझिरहेकाे स्वीकार्दै आगामी दिनहरुमा त्यस्तो गल्ती नदाेहाेर्याउने वाचा गरे । रसिद र कर नकाटिकन गाउँमा टाट पल्टिएका विद्यालयबाट ऐन, कानुनी र कार्यविधि विपरीत जबर्जस्ती रकम असुल्न कत्ति पनि लाज लागेन ? भन्ने हाम्रो जिज्ञासामा उनीहरुले आफूहरुबाट ठुलाे गल्ती भएकोले साे रकम सम्बन्धित विद्यालयकाे खातामा फिर्ता गर्न आफूहरु तयार रहेकाे बताएका छन् ।

के छ कानुनी प्रावधान ?

शिक्षा नियमावलीकाे पछिल्लो संशोधनकाे नियम ७७ काे ´करारमा शिक्षक नियुक्ति सम्बन्धित व्यवस्था`काे उपनियम १ मा “स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्ति हुन नसकी तत्काल करारमा शिक्षक नियुक्ति गर्नुपर्ने भएमा विद्यालय व्यवस्थापन समितिले शिक्षा प्रमुख मार्फत आयोगबाट करारमा शिक्षक नियुक्तिको लागि प्रकाशित भएको सूचना माग गर्नुपर्नेछ ।” भनिएको छ भने उपनियम २ मा “उपनियम १ बमोजिम माग गरेको सूची प्राप्त भएपछि सूचीमा रहेका उम्मेदवारमध्ये व्यवस्थापन समितिले बढीमा एक शैक्षिक सत्रको लागि करारमा शिक्षक नियुक्ति गर्न सक्नेछ ।” भनिएकाे छ ।

त्यस्तै उपनियम ३ मा १ बमोजिम आयोगबाट प्रकाशित सूचीमा करारका लागि कुनै उम्मेदवार नरहेमा वा सूचीमा समावेश भएमा उम्मेदवारले शिक्षक पदमा नियुक्ति हुन निवेदन नदिएमा व्यवस्थापन समितिले शिक्षक समितिको सिफारिसमा बढीमा एक शैक्षिक सत्रको लागि योग्यता पुगेका कुनै पनि व्यक्तिलाई करार शिक्षकमा नियुक्ति गर्न सक्नेछ भनेकाे छ भने उपनियम ४ मा उपनियम २ बमोजिम तिनमा करारमा शिक्षक नियुक्ति गर्दा शिक्षक शाखाबाट दरबन्दी रिक्त रहेको व्यहोरा प्रमाणित गराएर विषय मिल्ने गरी मात्र करारमा शिक्षक नियुक्ति गर्न सकिनेछ भनिएको छ ।

त्यस्तै गाैमुखी गाउँपालिकाकाे शिक्षक नियुक्ति र पदस्थापन सम्बन्धि नियम ४६ काे उपनियम २ मा रिक्त दरबन्दी तथा शिक्षक अनुदान कोटामा अस्थायी तथा करार शिक्षकको नियुक्ति गर्न निम्न बमोजिमको करार शिक्षक छनोट समिति गठन गरिनेछ भनेर विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई संयोजक तोकिएको छ भने शिक्षा शाखा प्रमुखलाई सदस्यको रुपमा राखिएको छ। त्यस्तै शिक्षा शाखा प्रमुखले तोकेको सम्बन्धित विषयको विशेषज्ञलाई सदस्यको रुपमा राखिएको छ ।

यसरी संघीय सरकारको शिक्षा नियमावली र स्थानीय सरकारको शिक्षा तथा शिक्षक पदपूर्ति सम्बन्धीका ऐन, नियम र कार्यविधिहरु हेर्दा पनि उक्त विद्यालयहरूमा शिक्षक नियुक्ति गर्दा पालिकाले गैरकानुनी ढंगले रकम असुलेकाे प्रष्ट हुन्छ । याे समाचार तयार पार्दासम्म हामीले पटकपटक सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेललाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाउँदैनन् भने पटकपटक गरेको म्यासेजको पनि कुनै रिप्लाई दिन सकेका छैनन् । उता गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका प्रमुख रहेका विष्णुकुमार गिरीले पनि यस विषयमा गम्भीर बनेर आफ्नो प्रतिक्रिया दिन मानिराखेका छैनन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation