के हो गुरही पर्व, यो कसरी मनाइन्छ…?

१. भूमिका
संस्कृति हरेक समुदायको आफ्नो मौलिक पहिचान हो । कुनै पनि जातिको जातीय पहिचान कला, संस्स्कृति र भाषासंग जोडिएको हुन्छ । थारू समुदायमा पनि यस्ता धेरै संस्कृतिहरू रहेको छन् । जुन अहिले प्रायः लोप हुने अवस्थामा छन् । केही रूपमा भएपनि ती संस्कृतिहरू बाह्य संस्कृतिको प्रभावमा मौलिकता माथि पनि प्रश्न उठिरहेको छ । यस्तै धेरै कुरा थारू समुदायका द्विविधा रही आ–आफ्नै किसिमको तर्क वितर्कले समाज भित्रै अन्यौलको स्थिति सिर्जना भएको यथार्थ पनि हामीसँग छ । त्यस मध्ये थारू समुदायको एक महत्वपूर्ण बालपर्व ‘गुरही’ ।
थारू समुदाय प्रकृति पुजक अथवा प्राकृत धर्म समूह भित्रको एक जाति हो । प्रकृतिप्रति विश्वास गर्ने समुदाय भएकोले प्राकृत धर्म नै थारू जाति हो प्राचीन धर्म हो भन्ने कुरा धेरै इतिहासकारले उल्लेख गरेका छन् । तर पछिल्लो समयमा हिन्दू धर्मको प्रभावले आफूहरू हिन्दू भएको दावी गर्नेहरूको संख्या पनि छ । त्यसकारण कतिपय हिन्दू धर्मका पौराणिक मान्यताहरू पनि अनुसरण गरेको पाइन्छ । मिश्रित बसाईका कारण पनि एक अर्काका धर्म, आस्था र संस्कृतिप्रति सद्भाव तथा समान व्यवहारका कारण अन्य समुदायका सांस्कृतिक प्रभावले कतिपय संस्कृतिहरू थारू समुदायको लागि मौलिक भइसकेको छ ।

२. के हो गुरही पर्व ?

‘गुरही’ थारू समुदायको एक बाल पर्व हो । यो पहिले आम थारू समुदायको चाड थिएन । एउटा निश्चितक्षेत्रबाट विकसित हुँदैन अहिले आम थारू समुदायको पहिचानको रूपमा स्थापित हुँदैछ । यसको उद्गमथलो दाङको देउखुरी मानिएकोछ । पछि देउखुरीबाट छारा (बसाइ–सराइ) गरेर बुर्हान गएकाहरूले पनि गुरही पर्व आफू बसेको ठाउँमा मनाइरहेको पाइन्छ । अहिले देउखुरी लगायत बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौं र विदेशमा समेत मनाउन थालिएकोछ र यसको सीमासाँध तोडिएको छ । यो आम थारू समुदायको पर्वको रूपमा स्थापित भइसकेकोछ । त्यसो त दाङकै दाङ उपत्यका (घोराही–तुलसीपुरक्षेत्र) का थारू समुदायमा यो पर्व मनाइँदैन र त्यसक्षेत्रमा बसोवास गर्ने अधिकांश थारू र त्यहाँबाट छारा गरेर गएकाहरूलाई यो पर्व बारे अहिले पनि जानकारी छैन । पछिल्लो समय संचार माध्यम र काठमाडौं लगायत विभिन्न शहरमा गरिने गुरही बिशेष कार्यक्रमले भने यसले व्यापकता पाइरहेकोछ ।
यसलाई धेरैले लुटो फाल्ने पर्वको रूपमा पनि लिन्छन् । यो पर्व साउन महिनाको शुक्लपक्षको पञ्चमीको दिन पर्दछ । यसैदिन हिन्दूहरूको नामपञ्चमी पनि पर्छ । त्यसकारणले ‘गुरही’ र नाग पञ्चमी एउटै हो भन्ने धेरैको बुझाई रहेको छ । तर यो संयोग मात्रै हो वास्तविकता होइन । थारू समुदायको ‘गुरही’ पर्वको आफ्नै सामाजिक मूल्य र मान्यता छ भने नागपञ्चमीको आफ्नै छ । नागपञ्चमीमा सर्प र बिषालु किराहरूको पूजा गरिन्छ तर गुरहीमा न सर्पको पूजा हुन्छ न बिषालु बिच्छी, गोजरको । यस पर्वको मूल्य मान्यता र लोक बुझाईहरू पनि अलग अलग भएकोले यो भिन्न भिन्नै पर्व हो भन्ने कुरा बुझ्न जरुरी छ ।

३. गुरही कि गुरिया ?

गुरही पर्वप्रति थारू समुदायको आकर्षण बढेसँगै केही कुरामा द्विबिधा उत्पन्न हुँदै आएको छ । त्यसमध्य यस पर्वको वास्तविक नाम गुरही हो गुरिया भनेर प्रत्येक वर्ष कुरा उठ्ने गरेको छ । यो खासमा भाषागत बुझाइबाट उत्पन्न समस्या हो । गुरही शब्दको प्रयोग र बुझाइ यस पर्वबाट ३ तरिकाले बुझ्न सकिन्छ । १. देवीको रूपमा गुरही, २. कपडाको खेलौना गुरही र ३. किराको रूपमा गुरही ।
३.१. देवीको रूपमा गुरही :– यस पर्वसँग जोडिएको मिथकीय कथा अनुसार एक बालिका पात्रको रूप गरही स्थापित गरिएको छ । जसले सिंगोकथा नेतृत्व गर्दछ । उनी देवीको रूपमा उभिएर समुदायमा फैलिएको रोग–व्याधिको निबारण गर्दछिन् । जसले गर्दा पृथ्वीलोकमा फैलिएको महामारीको अन्त्य हुन्छ । मानव समुदायमा शान्ति मिल्छ ।
३.२. कपडाको खेलौना गुरही :– बालबालिकाहरूका लागि कपडाले बनाएका खेलौनालाई थारू भाषामा गुरही भनिन्छ । जसलाई नेपालीमा पुतला–पुतली भनिन्छ भने अवधी, मैथली, भाजपुरी, हिन्दी लगायत मधेशी समुदायको प्रयोगको भाषामा गुडिया भनिन्छ ।
३.३. किराको रूपमा गुरही :– ‘गुरही’ पर्व एक ‘गुरही’ नामको किरासँग जाडिएको छ । गुरही नेपाली भाषामा गाइने–किरा, धोबी–किरा, झिगौरा जस्ता ठाउँ बिशेष नामले चिनिन्छन् भने अंग्रेजीमा ड्राइगन फ्लाइ भनेर चिनिन्छन् । गुरही एक उड्ने किरा भएकोले यसले मच्छर, भुस्ना लगायत शुक्ष्म किराहरूलाई खाने गर्छन् । यिनीहरूको संरक्षणले मच्छर (लामखुट्टे) र भुस्ना लगायत किराहरूको कमी हुने र रोगव्याधी कम लाग्ने बैज्ञानिक धारणा छ ।
अब यहाँ केही स्थानमा गुरही पर्वलाई गुरिया भनेको पनि पाइन्छ । यसको खास कारण कपडाबाट खेलौना गुरहीलाई मधेशतिर बोलिने अवधी, भोजपुरी मैथली, हिन्दी लगायतका भाषामा गुडिया भनिन्छ । गुडिया शब्दको शुद्ध उच्चारण थारू भाषामा हुँदैन, गुडियालाई गुरिया उच्चारण हुन्छ । गुरिया नै गडिया हो भन्ने कुरामा दुइमत छैन । तर जब गुरिया शब्दलाई थारू भाषामा रुपान्तरण गर्दा यसको अलग अर्थ लाग्छ । थारू भाषामा गुरियाको अर्थ माला अर्थात, महिलाले लगाउने पोते भन्ने बुझाउँछ । र अर्को अर्थमा गुरिया भनेको मानव शरीरको करङ जोर्ने अस्थिपञ्जरको मालालाई पनि गुरिया भनिन्छ । यसरी हेर्दा गुरही पर्वसँग महिलाले लगाउने पोते (गुरिया) र अस्थिपञ्जरको माला (गुरिया) को कुनै साइनो भेटिदैन । गुरिया गैरथारू भाषीहरूले आफू अनुकुलको भाषा प्रयोग गर्दा त्यसको प्रभाव थारू समुदायको परेर गुरहीलाई गुरिया भन्ने बुझिएको हो र यसकै प्रभावमा अथवा अरुले बोलेको सुनेर अभ्यासमा आएको हुनसक्छ । त्यसकारण यो पर्व गुरिया नभएर गुरही हो ।

४.लोकमान्यता

गुरही पर्वसँग सम्बन्धि लोककथा पनि छ । उहिलेको जवानामा पृथ्वीमा विभिन्न किसिमका किराहरूको संख्या बढ्यो र रोगहरू पनि फैलियो । रोगका कारण मान्छेहरूको अकालमा मृत्यु हुन थाल्यो । यो देखेर स्वर्गलोकका देउताहरू पनि आश्चार्य चकित परे उनीहरूमा चिन्ता पनि बढ्यो । एक दिन रोग निवारणका लागि देउताहरूको सभा बस्यो । सभाले यसको वास्तविक कारण बुझ्नका लागि दूतको रूपमा एक जनालाई पठाउने निर्णय भयो ।
निर्णय बमोजिम एक दूतलाई पृथ्वीलोकमा पठाए । उनी एक साधारण परिवारमा देवीको रूपमा जन्म लिइन् । उनको शिशुकाल निकै रमाइलोसँग बित्यो । उनी हेर्दै पुतली जस्ती सुन्दर थिइन्, चञ्चल थिएन् । सबैले यी नानी त खेलौना जस्ती छन् भनेर भन्थे र सुमसुम्याउथे, काँखमा लिन्थे, खेलाउँथे । उनी खेनौला जस्तै सुन्दर भएकै कारणले उनलाई सबैले गुरही भन्ना थाले पछि उनको नामै गुरही भनेर स्थापित भयो ।
जब उनको खेल्ने हाँस्ने समय आयो तब उनको दुःखको दिन पनि शुरु भयो । दुःखको कारण उनकी भाउजू थिइन् । भाउजूको एक छोरा थियो । छोरासँग खेल्न पनि दिदैन थिइन् । गुरहीको आमाले उनको लागि बनाइ दिएको खेलौनाहरू पनि भाउजूले फलिदिन्थिइन् । दुःख सहेर पनि उनी बसेकी थिइन् ।
उनलाई खाने कुरा पनि दिदैन थिइन् । आमा नभएको बेला त उनी भोकै दिन बिताउँथिइन् । उनी भाउजूको ज्यादती, दुःख सहेर बस्थिन् ।
उनलाई आमाले भने निकै माया गर्थिन् । उनी विभिन्न किसिमका खेलौना, ससाना बालबालिकाहरूसँग खुब खेल्न मन पराउँथिन् र खेल्थिन् । बालबालिकाहरूलाई उनले निकै माया पनि गर्थिन् । उनलाई बालबालिकाहरूले पनि निकै माया गर्थे । कपडाका खेलौना ‘गुरही’ खुब मन पथ्र्यो । त्यसैले उनकी आमाले पनि उनको लागि, रंगीविरंगी गुरही बनाइ दिन्थिइन् । उनी त्यही गुरही लिएर आफ्ना साथीहरूसँग खेल्न जान्थिइन् ।
यता उनकी भाउजू भने उनले खेलाउने गुरही देखिसहन्न थिइन् । आमाले बनाएको गुरही सँधंै फालिदिने, बिगार्ने गर्थिइन् । भाउजूले गुरही फालिदिने डरले उनकी आमाले कहिले डेहरी (धान राख्ने माटोको भकारी)को मुनी, कहिले नदेख्ने ठाउँमा लुकाएर राखथिइन् । उनी रुँदा उनकी आमाले फकाउनका लागि लोरी गीत गाउँथिन् ।

चुपि रहो गरही, चुपि रहो गुरही ।
ढेहरिक गोराटिर ढरबुँ हो गुरही ।।

चुपि रहो गरही, चुपि रहो गुरही ।
मोंकक पिस्निपर ढरबुँ हो गुरही ।।

चुपि रहो गरही, चुपि रहो गुरही ।
भिटक अँर्वापर ढरबुँ हो गुरही ।।

चुपि रहो गरही, चुपि रहो गुरही ।
भिकौटिक छर्निटिर ढरबुँ हो गुरही ।।

चुपि रहो गरही, चुपि रहो गुरही ।
माटिक खोँख्रिम ढरबुँ हो गुरही ।।

उनी साधारण मानिसको रूपमा जन्मिए पनि उनी पृथ्वीमा देवदूतको रूपमा आएका थिइन् । त्यसैले सधैं नयाँ नयाँ कुराहरूको कल्पना गर्दथिइन् । त्यो सबै कुरा आफ्ना बाल सखाहरूलाई सुनाउँथिइन र देखाउँथिइन् । बालापन आफैमा विभिन्न जिज्ञासा, उत्सुकता पाल्ने समयमा हो । त्यसैले बालबालिकाहरू पनि उनको अलौकिक क्रियाकलाप प्रति आकर्षित थिए ।
पृथ्वीलोकमा रोग व्यापक फैलिएको थियो । रोगको प्रभाव बालबालिका बृद्धबुद्धामा बढी थियो । त्यसैले उनी यो बिषयमा पनि चिन्ता लिने गर्दथिइन् । विभिन्न रोगका कारण मानिसहरूको अकालमा मर्ने क्रम जारी थियो । रोकिने कुरा कम हुन छोडेर बढिरह्यो । यस विषयमा ठूलो चिन्ता बढेर आयो । यसको निवारणका लागि अनेक उपायहरू सोच्न थालिन् ।
एक दिन एउटा उपाय निकालिन् । कुराको बारेमा समयमै जानकारी पाइन । उनले आफूले खेलाउने ‘गुरही’ जस्तै किराको उत्पत्ति गरिन् । जुन किराले भुस्ना, मच्छर लगायतका रोग सर्ने शुक्ष्म किराहरूलाई खानेछन् । जसले गर्दा रोगको प्रकोप कम हुनेछ । कालान्तरमा त्यसलाई गुरही भनेर नाम राखियो । गुरही ( गुर्हन्याँ (पोथी र गुरहा (भाले) एको एक दिन विवाह पनि गराइ दिइन । जसले गर्दा लोकमा व्यापक गुरहीहरूको उत्पत्ति भयो । त्यही गुरहीहरूले मच्छर, भुस्ना लगायत शुक्ष्म किराहरूलाई खान र मार्न थाले र रोगव्याधीहरू पनि कम भयो । यता मान्छेहरूमा अकालमा मृत्यु रोकियो ।
समाजमा शान्ति छाएपछि उनी फेरि स्वर्गलोक जानू पर्ने भयो । उनसँगको उठ बसले उनका बालसखाहरू यति मोहित भइसकेका थिएकी उनलाई कुनै हालतमा पनि जान नदिने जिद्दी गर्न थाले । तर, उनी जानै पर्ने भएकोले कसैले रोक्न सक्ने अवस्था थिएन । धेरै माया गर्ने आमा थिइन् । मातृस्नेह र मातृमोहले उनलाई यो संसार छोडेर जाने भएपछि मन भारी भइरहेको थियो । उनी भावुक भएर आमा काखमा सुतेर गीत सुन थालिन् । आमाले उनको कपाल सुमसुम्याउँदै फकाउनलाई लोरी गीत गाउन थालिन् ।

चुपि रहो गुरहि, चुपि रहो गुरहि ।
टोरैयाँ फुलटि डिन जैबो हो गुरहि ।।

चुपि रहो गुरहि, चुपि रहो गुरहि ।
कुक्ढरु फुलटि डिन जैबो हो गुरहि ।।

चुपि रहो गुरहि, चुपि रहो गुरहि ।
लर्चा फुलटि डिन जैबो हो गुरहि ।।

चुपि रहो गुरहि, चुपि रहो गुरहि ।
लौका फुलटि डिन जैबो हो गुरहि ।।

चुपि रहो गुरहि, चुपि रहो गुरहि ।
कोंहरा फुलटि डिन जैबो हो गुरहि ।।

चुपि रहो गुरहि, चुपि रहो गुरहि ।
अरसि फुलटि डिन जैबो हो गुरहि ।।

चुपि रहो गुरहि, चुपि रहो गुरहि ।
लाहि फुलटि डिन जैबो हो गुरहि ।।

चुपि रहो गुरहि, चुपि रहो गुरहि ।
ढनियाँ फुलटि डिन जैबो हो गुरहि ।।

गीत सुन्दै उनी निदाउँछिन् । साँझ परेपछि गाउँका सबै बालिकाहरू उनको घरमा जम्मा हुन थाल्छन् । गाउँका सबै बालबालिकाहरूले उपहार स्वरूप गुरही र बाटोमा भोक लागे खानको लागि चना लगायतका खाने कुरा दिएर बाजा सहित बिदाई गर्न आउँछन् ।
जब उनका गाउँ भरिका बालसखाहरूले उनलाई बिदाई गर्न निस्किए, बालबालिकाहरू ठूलो संख्याले गाउँ पुतलीहरूको छिरबिरे फुल जस्तै देखिन थाल्यो । घर–घरबाट सा–साना बच्चाहरू रंगीचंगी नयाँ नयाँ कपडामा सजिएर निस्किदा सच्चिकै गाउँ एउटा फुलवारी जस्तै देखियो । सबैको हातमा ‘पन्वाँडार नुइयाँ’, थाल लगायतका भाडामा चनाको ‘घुघरी’ र रंगीन कपडाका गुरही थियो ।
यता उनकी भाउजूलाई यो कुरा मन परेको थिएन । किन कि उनकी भाउजूलाई उनको राम्रो कम गरेको या उनको प्रशंसा गरेको सहन्न थिइन् । उनको भाउजूलाई यो दृष्यले दाह जाग्यो । उनी रिसले चूर भइन् । आफ्नो छोरालाई गुरही (कपडाका खेलौना) खोस्न, पठाइन्, गुरहीलाई बाटोमा खाजाको लागि बोकेर ल्याएको घुघरी छिटार्न पठाइन र नदिए पिट्न समेत अह्राएर पठाइन् । भाउजूको छोराले पनि आमाको कुरा मानेर कपडाका टुक्राले बनेका गुरही, खाजाको नुइयाँ, भुजा खोस्ने जस्ता हर्कत गर्न थाल्छ । खोसेर माटो फालिदिन्छ । नदिए सोंटा (कोर्रा) पिट्न थाल्छ । तर गुरहीलाई पठाउन गएका बालिकाहरूले उसलाई रोक्छन्, चना दिएर खुशी बनाएर फकाउँछन् र गुरहीलाई गाउँसम्म ससम्मान बिदाई गरेर सबै बालबालिकाहरू फर्किन्छन् । उनी बाटो लाग्छिन् । एक्लै बाटो हिड्दा थकाई महसुस गर्छिन् । उनी इमिलीको रुखमुनी एकछेउमा आफ्नो गुरही राखेर बिश्राम लिन थाल्छिन् र बिरहमा भावना गुुनगुनाउँछिन् ।
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
अमलिक रुखवाटिर बैठहिं मोर गुरहि ।
यस्ता जाँदा जाँदै असना भन्ने रूपमुनी बसेर थकाई मार्न थाल्छिन् र फेरि सम्झिन्छिन् आफ्नो डेहरीमुनी लुकाएर राखेको गुरही र आमालाई राखी दिन आग्रह गर्दै यसरी बिरह पोख्छिन् ।
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
असनक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि गुलरको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
गुलरिक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि भिलोरको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
भिलोरिक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि जामको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
जामक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि पिपलको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
पिपरक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि बरको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
बर्गडवक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि गुलाचिनको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
गुलाचिनिक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि सखवाको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
सखवक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि भुरकुलको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
भुरकुलिक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि निमको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
निमक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि सइजनको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
सइजनिक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि सैनिकको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
दाङ बोले टिम्कि, महदेवा बोले ढोल
सैनिकिक रुखवाटिर बैठहिं मोर गुरहि ।
त्यहाँबाट फेरि आगाडि बढ्छिन् । केही हिडिसकेपछि फेरि गुलरको रुखमुनि बसे फेरि आफ्नो बिरह पोख्छिन्
यसरी उनी धेरै ठाउँमा आफ्नो घर, आमा, साथी–संगी, गुरही सम्झिदै अनि भाउँजूले निकै दुःख दिएको सम्झिदै उनी स्वर्गलोकमा हाजिर हुन्छन् ।

५. कसरी मनाइन्छ ?

शुक्लापक्षको चौथीको चौकीदरले गाउँमा हाँक हाल्छ । ‘घुघरी भिजाउ रे घुघरी भिजाऊ’ । गाउँका सबैले साझा चनाको घुघरी (कोहरी, चानक एक विशेष प्रकारको परिकार) भिजाउँछन् । अर्को दिन पञ्चमीको दिन साँझ चना पकाउँछन् । यता चौकिदारले पुनः हाँक हाल्छ । ‘गुरही अस्राई चालो रे, गुरही अस्राई ।’ हाँक पछि गाउँका सबै घरका ससाना बालिकाहरू कपडाका टुक्राको गुरहीको प्रतीकको रूपमा गुरही, चनाको घुघरी (चनाको एक बिशेष परिकार) चना नभए केराउ अथवा दलहन बालीको कोंहरी (घुघरी) र केटाहरू भने सोँटा (कोंर्रा) लिएर जान्छन् । सोँटा काँसको एक झप्पे अथवा दुई झुप्पे बनाएर लैजान्छन् । यता बालबािलकाहरूलाई नयाँ नयाँ कपडाले पुतली जस्तै सजाइन्छ ।
साँझतिर गाउँको चौकिदारल फेरिे हाँक हाल्छ । ‘अरे ! गुरही अस्राइ चलो रे, गुरही अस्राइ’ तब गाउँका बालबालिका घर–घरबाट थालमा गुरही र घुघरी लिएर निस्कन्छन् । यता गुरही अस्राउन (विसर्जन, सेलाउन) निस्कन्छन् र गाउँका घरमुली भान्सेहरू थाल र सुपा ठटाउँदै ‘खाँज खुजली सक्कु लैजा, रोग बिरोख सक्कु लैजा’ (लूतो सबै लैजा, रोगव्याधी सबै लैजा) भन्दै घर भित्रबाट निस्कन्छन् र बाटोसम्म गुरहीसंगै रोगव्याधी पठाउन आउँछन् । त्यसैगरि पृथ्वीलोक छोडेर स्वर्गलोक जाँदा ती चेलीले पोखेको विरहको भावलाई गीत मार्फत यसरी गाउँछन्
‘दाङ बोले टिम्कि महदेवा बोले ढोल,
डेहरिक गोराटिर बैठहिँ मोर गुरहि ।
जब गौर्ही (गाउँभरिका गाइ–गोरु जम्मा हुने ठाउँ) मा गाउँ भरिक बालबालिका र कन्याहरू जम्मा हुन्छन् । तब गाउँको पन्हेरवाले एउटा निशाना गाड्छ । त्यसको एक छेउमा सबै केटाहरूलाई पंक्तिपद्ध गरेर उभ्याउँछ । यता केटीहरूलाई थालमा ल्याएको गुडिया त्यहाँ फाल्छन् र केटाहरूले सोंटाले ठटाउँदै ‘दे घुघरी, दे घुघरी’ भन्छन् । थालमा ल्याएको घुघरी माग्न जान्छन् । साना साना बच्चीहरूले आफ्नो आमा, दिदीहरूको सहयोगमा सक्भर धेरैलाई पुग्ने गरि घुघरी बाँड्छन् र बाँड्दै गाउँको भुइह्यारथान (गाउँभरिको देउथान) मा जान्छन् त्यहाँ गाउँको ग्राम देउताहरूलाई प्रसाद चढाई मर्वाको छाप्रो छिटेर घर फकिन्छन् । र घर आएर पनि आफ्नो घरमाथि, अनाज राख्ने धनसार र बारीमा लगाइएका तरकारीहरूमा छिट्ने गर्छन् । यसो गर्दा घरमा भूतप्रेत नआउने, रोगव्याधी र लुतो नलाग्ने, भकारी धानमा बृद्धि हुने । बारीको तरकारी फल्ने जस्ना जनविश्वास छ ।
त्यसैगरि केटाहरूले ठटाउन लगिएको सोंटा कसैले नदेख्ने गरि लुकाएर ल्याइन्छ । त्यो पनि तरकारी बारीमा बाँढिन्छ । यसो गरे किरा फट्याङ्ग्रा न लाग्ने र फल पनि राम्रो लाग्ने कुरा थारू समुदायमा सामाजिक धारणा छ । त्यस्तै त्यही सोंटालाई धूप लगाई घोटेर घाउ, खटिरामा सञ्चो हुने, पेट दुखाई र ज्वरो आएमा पनि यसले औषधीको काम गर्ने कुरा जानकारहरू बताउँछन् । यसरी गुरही पर्व विधिवत् सकिन्छ । यो बिशेष गरेर बालबालिकाहरूको एक पृथक पर्व हो । जुन पर्व लुतो फाल्नेदेखि लिएर बालीनाली सप्रिने मान्यताका साथ मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation