
वहुप्रतिक्षित घोराही–तुलसीपुर चारलेन सडकको स्तरोन्नतीको काम सुरु हुन थालेको छ । यस अघि तयार पारीएको डिपिआरको अवस्था र हालको अवस्था कस्तो छ भन्ने विषयमा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयले यसै सातादेखि संयुक्त सर्वे सुरु गरेका छन् । संयुक्त सर्वे सुरु भएसंगै सडक डिभिजन कार्यालयले सडकको अधिकार क्षेत्रभित्रका सवै संरचना हटाउन संबन्धित सवैलाइ आग्रह गरेको छ ।
सडक डिभिजन दाङले घोराही–तुलसीपुर सडकको स्तरोन्नतीको ठेक्का संझौता भएर निर्माणको काम पनि सुरु भएकाले सडकको राइट अफ वे मा पर्ने सवै संरचनाहरु साउन ३० गते भित्र हटाउन आग्रह गरेको छ । डिभिजन प्रमुख दिपेन्द्र वहादुर विष्टले सोमवार तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाइ पत्राचार गरी यो विषयमा ध्यानाकर्षण गराएका छन् । तोकिएको मितिमा त्यस्ता संरचनाहरु नहटाए त्यसको जिम्मेवार डिभिजन सडक कार्यालय दाङ नहुने पनि खानेपानीलाइ लेखिएको पत्रमा जनाइएको छ ।
निर्माण संझौता भएसंगै घोराही(तुलसीपुर चारलेन सडकमा निर्माण कम्पनी र सडक कार्यालयका प्राविधिकहरुले आइतवारदेखि संयुक्त सर्वेको काम सुरु गरेका छन् । निर्माण कम्पनी र सडक कार्यालयका गरी १२ जना प्राविधिकहरु घोराही तुलसीपुर सडक खण्डमा परीचालित भएको आयोजनाका फिल्ड प्रवन्धक इन्जिनियर सुनिल ढुंगानाले बताएका छन् । यसकालागी कम्तिमा २५ दिन लाग्ने आयोजनाले जनाएको छ । त्यसपछि नयां डिजाइन गरेपछि स्थलगत रुपमा कन्सटूक्सनको काम सुरु हुने आयोजनाले जनाएको छ । ‘हामीले दशै लगत्तै स्थलगत रुपमै कन्सटूक्शनको काम थाल्ने छौं’, आयोजनाका कन्टूयाक्ट मेनेजर ढुंगानाले भने । आयोजनाको व्यवस्थापनकालागी निर्माण कम्पनीले घोराही(तुलसीपुर सडक खण्डको दुधरासमा साइट अफिस सन्चालनमा ल्याइसकेको छ ।
मदन भण्डारी राजमार्ग आयोजनाको नयां कार्यक्रम अनुसार घोराही–तुलसीपुर चारलेन सडक खण्डको लम्वाइ २१ दशमलव ५८ किलोमिटर रहने छ । जुन घोराहीको डिके पम्पदेखि सुरु भएर तुलसीपुरको हात्तिखौवा सम्म रहने छ । आयोजना संझौता अनुसार स्तरोन्नती हुने सडक शहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथ सहित ३० मिटर कायम हुने छ । ग्रामिण क्षेत्रमा भने १५ मिटर चौडाइ कालोपत्रे हुने छ । सडकको बीचमा भने ३ मिटरको मेडियन रहने छ । सो क्षेत्रमा रेलिङ सहित आवश्यकता अनुसार बृक्षारोपण पनि हुने छ ।
सडक निर्माणका क्रममा आवस्यकता अनुसारका क्षेत्रहरुमा सडक पारगर्ने लेनहरु रहने छन् । यात्रुहरुले समेत तोकिएका स्थानवाहेकका स्थानबाट सडक वारपार गर्न मिल्ने छैन । काठमाण्डौको दिवा÷वन्दन भगवती जेभीले सडक निर्माणको जिम्मा पाएको छ ।
मदन भण्डारी राजमार्ग आयोजनासंग निर्माण संझौता विसं २०८२ असार २४ गते भएको हो । आयोजना निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८५ असार २४ गते रहेको छ । निर्माण कम्पनीले कुल बजेट २ अर्व ५३ करोड रुपैयामा निर्माण संझौता गरेको हो ।
आयोजनाका कन्ट्याक्ट मेनेजर ढुंगानाका अनुसार सडक स्तरोन्नतीका क्रममा यहां घर टहरा हटाउन त्यति समस्या देखिएको छैन । यद्धपि विद्युत, टेलिफोन, खानेपानी तथा ढल निकाशका संरचनाहरु तत्काल स्थानान्तरण गर्न जरुरी छ । त्यसैगरी सडक किनारामा रहेका रुखहरु पनि समयमै हटाउन आवस्यक देखिएको पनि इन्जिनियर ढुंगानाले बताएका छन् । ‘सवै क्षेत्र अनुकुल रहेमा हामीले तोकिएको तीन बर्षकै अवधिमा निर्माणको काम सम्पन्न गरी सक्ने छौं’, इन्जिनियर ढुंगानाले भने । सडक स्तरोन्नतीका क्रममा क्रसर प्लान्ट, कंक्रिट व्याचिङ प्लान्ट, आस्पाल्ट प्लान्ट लगायतका संरचना निर्माण कम्पनीले आफै सन्चालनमा ल्याउने छ । यी संरचनाहरु परीयोजना अवधिभर मात्र सन्चालन हुने छन् । त्यसपछि बन्द गरीने छ ।
यस अघि भारतको एक्जिम बैंकको ससर्त ऋणमा सडक स्तरोन्नतीको काम सुरु भएपनि तोकिएको समयमा निर्माण कम्पनीले काम सम्पन्न गर्न नसक्दा सडक क्षत विक्षत भएको थियो ।
निर्माण कम्पनी नआएर यहिंकै स्थानियलाइ पेटि ठेक्का दिदा सडक स्तरोन्नतीको काम विभिन्न विवादका कारण तोकिएको समयमा सम्पन्न हुन सकेको थिएन । पुनः दुइ पटक म्याद थप्दा पनि सडक स्तरोन्नतीको काम अघि नबढेपछि निर्माणको ठेक्का रद्ध गरिएको थियो । यसपछि सो सडकका खाल्डाखुल्डी पुरेर जसोतसो सार्वजनिक यातायात चल्न सक्ने बनाइएको थियो ।