
‘ऐंजेरु पुँजीवाद’का लेखक अनिल शर्मा: एक लेखक, साहित्यकारमात्र नभइ क्रान्तिकारी विद्रोही नेताको रुपमा परिचित व्यक्तित्व हुनुहुन्छ। अनिल शर्माले ‘झेल्खाना’ ‘सहिद परिचयमाला’ ‘मनका खाडलहरू’ ‘चीन डायरी’ लगाएत दर्जनबढी पुस्तकहरू लेखन तथा सम्पादन गरिसक्नु भएको छ। यस्तै नेपालको अर्थ-राजनीतिक विषयमा लेखिएको अर्को कृति हो ‘ऐंजेरु पुँजीवाद’ । आफैमा एक अग्रज लेखक त्यसमा पनि राजनीतिक अर्थशास्त्र जस्तो गहन विषयसंग सम्बन्धित पुस्तकको समालोचना गर्ने हैसियत म एक साधारण पाठकमा छैन्। तर पनि यो पुस्तक पढिसकेपछि यसका विषयबस्तु अत्यन्तै पठन योग्य ठानी यस पुस्तकको विषयवस्तु अन्य पाठक सामु पुग्न मद्दत मिलोस भन्ने उदेश्यकासाथ पुस्तक पढिसकेपछिको आफ्नो अनुभुति लेख्ने प्रयास गरेको छु।
‘ऐंजरु पुँजीवाद’ नेपालको राजनीतिक–आर्थिक संरचना र अन्तर्राष्ट्रिय पुँजीवादसँगको सम्बन्धको आलोचनात्मक अध्ययन हो। लेखकले नेपालको वर्तमान अवस्थालाई दलाल पुँजीवादी समाजको रूपमा व्याख्या गर्दै त्यसको आधारभूत कारणलाई ‘परजीवी पुँजीवाद’ भित्र खोज्नुभएको छ । यो पुस्तकमा केवल अर्थशास्त्रको प्रश्न मात्र होइन, वर्ग संघर्ष, जातीय प्रश्न, महिला आन्दोलन, विकास, संशोधनवाद , पार्टी संगठन र कार्यदिशा जस्ता बहुआयामिक विषयलाई एकीकृत रूपमा सम्बोधन गगरिएको छ। नेपालको राजनीतिक इतिहासमा साम्राज्यवाद र स्थानीय दलाल वर्गबीचको गठबन्धनले कसरी राष्ट्रिय अर्थतन्त्रलाई विदेशी निर्भर बनाएको छ भन्ने कुरा लेखकको मूल विश्लेषण हो। यो पुस्तक नेपाली समाजको विगत, वर्तमान र भविष्यमा नेपाली समाजले लिनुपर्ने राजनीतिक लाईनलाई तथ्यसंगत ढङ्गले प्रस्तुत गरिएको छ। सम्बन्धित विषयबस्तु प्रति चासो राख्ने बाहेक आम पाटककालागि इतिहास, दर्शन, राजनीति र अर्थशास्त्र जस्ता विषयहरू आफैमा पट्यारलाग्दा लाग्छन तर मलाई यो पुस्तक पढिभ्याउदा लेखको सरल भाषा, कवितात्मक शैली, विषयको संक्षेपिकरणले कत्तिपनि पट्यारलाग्दो लागेन । त्यसकारण पनि नेपालको वर्तमान राजनीतिक समस्यालाई सहि ढंगले बुझनलाई आम पाठकमा लागि अत्यन्तै महत्वपूर्ण रहेने छ भन्ने ठानेको छु।
१८४ पृष्ठमा रहेको यस पुस्तकमा जम्मा जम्मी १६ अध्यायहरू समेटिएका छन्। जस अन्तर्गत पहिलो अध्यायमा पुस्तकको भुमिका, पृष्ठभूमी र औचित्यको विषयमा प्रस्ट पारिएको छ। दोस्रो अध्यायमा ऐंजेरु पुँजीवाद भनेको के हो ? वर्तमान अवस्थामा विश्वमा रहेका अन्तरविरोध जस्ता विषयमा विमर्श गरिएको छ। तेस्रो अध्यायमा जातीय प्रश्नमाथि विमर्श गरिएको छ। जस अन्तर्गत जात के हो ? यसको ऐतिहासिक पृष्ठभुमि, जाती, राष्ट्रियता र आत्मनिर्नयको अधिकार जस्ता विषयलाई साम्राज्यवादले कसरी विधुर्विकरण गरेका छन्? जातीय प्रश्नमाथि चिनियाँ अनुभव , संघियताको स्वरूप, जातिवादको समाधान जस्ता विषयमा विमर्श गर्दै , निजी स्वामित्वको उन्मुलन र शोषणमा आधारित व्यवस्थाको अन्त्य नै जातीय समस्याको समाधान हुने र नश्ल बचाउने, जातीय शुद्धता कायम गर्ने, जातीय पार्टी, जातीय मनोविज्ञान पछौटे चेतनाको उपजको रूपमा निष्कर्ष दिएको छ। त्यस्तै चौथो अध्यायमा परजीवी पुँजीवाद शिर्षकमा नेपालको आर्थिक राजनीतिक र सामाजिक असरहरूको विष्लेषण गरिएको छ। आत्मनिर्भर अर्थ-व्यवस्था भनेको के हो ? परजीवी पुँजीवादी अर्थ व्यवस्था नेपालमा कहिले देखि सुरू भयो? कुन-कुन शासकहरू कुन-कुन बेला विदेशी साम्राज्यवादीसंग नेपाली शासकहरूको साँठगाँठमा कस्तो थियो। नेपालको अर्थ-व्यवस्थालाई परजीवी अवस्थामा पुर्याए कुन कुन समयमा कुन कुन साशाकहरको भुमिका छ। नेपाल,तिब्बत र भारतसंगको सम्बन्ध कस्तो थियो । कुन कुन समयमा कस्ता कस्ता सन्धी संझौताहरू भए, त्यसले नेपाललाई के असर पार्यो। पृथ्वीनारायण शाह, राणाहरू देखि हालसम्मका शासकहरुले बिदेशी साम्राज्यवादीसंगको साँठगाँठले नेपालको अर्थतन्त्रलाई कसरी परजीवी बनाएको छ, भन्ने कुरा प्रष्ट पारिएको छ । पृथ्वीनारायण देखिका शाहहरू, राणाहरूहुदै प्रजातान्त्रिक समाज, सुधारिएको पन्चायती व्यवस्था, बहुदलीय जनवाद र जनताको जनवाद जस्ता राजनीतिक कार्यक्रमहरू साम्राज्यवादीहरूसंगको साँठगाँठमा चलाइएका फरक फरक रुपका प्रतिगामी कार्यक्रमहरू भएको उल्लेख गरिएको छ।
पाँचौ अध्यायमा संशोधनवाद के हो ? दर्शनमा विकासको प्रश्न, दर्शनमा निषेध, प्रतिस्थापन र विकासका सवालहरू, संशोधनवादको जन्म, त्यसको चरित्र विशेषता, विश्व कम्युनिष्ट आन्दोलनमा एकता र फुट जस्ता विषयमा विमर्श गर्दै, संशोधनवादसंग साँठगाँठ होइन, त्यसलाई निर्ममतापूर्वक कुल्चेर मात्र मार्क्सवादको विकास गर्न सकिने कुरा उल्लेख गरिएको छ। छैटौं अध्यायमा हिंसा र शान्ति के हो ? क्रान्तिको हिंसात्मक बाटो कस्तो हुन्छ? यसका बिभिन्न देशमा भएका अनुभवहरू , क्रान्तिको शान्तिपूर्ण बाटो त्यसको बिभिन्न देशमा भएका अनुभवहरू , ऐतिहासिक पृष्ठभुमि, अनुभव , चीन रूस जस्ता देशहरूका अनुभवहरू विषयमा विमर्श गरिएको छ। कम्युनिष्ट घोषणापत्रमा उल्लेख भएझैँ “अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरूको इतिहास वर्गसंघर्षको इतिहास हो” भन्ने कुरा उल्लेख गर्दै , निशस्त्र जनताको भीड जति धेरै भएपनि सशस्त्र शक्तिको अगाडि निरीह सावित हुन्छ। बल प्रयोगको सिद्धान्तबिना सत्ता परिवर्तनको कुरा त टाडाको कुरा, ‘जुझारू अर्थवाद’ समेत अस्तित्वमा आउन सम्भव छैन। सर्वहारा वर्गद्वारा गरिने समाजवादी क्रान्ति सशस्त्र बल प्रयोग नगरी, पुरानो नोकरशाहीतन्त्रलाई विगठन नगरी स्थापना गर्न नसकिने कुरा उल्लेख गरिएको छ। सातौं अध्यायमा कार्यदिशाको विषयमा विमर्श गरिएको छ। क्रान्ति सम्पन्न गर्न को-कोसंग मिलेर क-कसका विरुद्ध, कसरी लड्ने भन्ने प्रश्न नै कार्यदिशाको विषय भएको कुरा उल्लेख छ। नेपाली कम्युनिष्ट आन्दोलनमा कार्यदिशाको बहस, तत्कालीन अवस्थामा बहस, फेरिएको परिस्थितिमा कस्तो कार्यदिशा आवश्यक छ। नयाँ कार्यदिशाका आधारहरूको रूपमा: १.सामरिक अवस्था, २.भूपरिवेष्ठित अवस्थिति, ३.मध्यमवर्ग, ४.जातीय, क्षेत्रीय र लैङ्गिक भेद, ५.गाँउ र सहरको नयाँ स्वरूप, ६. ऐजेरु पुँजीवाद मुख्य सत्रु, ७.नयाँ कार्यनीतिको खोजी ८.सत्ता साझेदारी जस्ता विषयमा विमर्श गरिएको छ। आठौं अध्यायमा आदिमकालमा महिलाको अवस्था कस्तो थियो। विगत आठ हजार वर्षदेखि वर्तमान समयसंम महिलाहरूले कस्ता-कस्ता उत्पिडन भोग्नु पर्यो? महिलाहरू मातृसत्ताबाट विभेतपुर्ण पितृसत्तात्मक समाजमा कसरी, के कारण आइपुगे? वर्गीय समाजको उदयसंगै सामन्ती समाज, पुँजीवादी समाजमा महिलाको स्थिति कस्तो रह्यो? जैविक दृष्टिले महिलाको अवस्था कस्तो छ? समाजवादले महिलालाई के दिन्छ? जस्ता प्रश्नहरूमाथी विमर्श गर्दै, भविष्यमा महिलाहरूको अवस्थाको विषयमा “जैविक रूपले महिलाहरू पुरुषभन्दा कमजोर नभएको तथ्य अनुसन्धानले पुष्टि गर्नु र सन्तान उत्पादनमा मुख्य भूमिका हुनुको कारण नारीको महत्व, प्रतिष्ठा र सम्मानभाव बढ्दै जाने निश्चित छ। मानव सभ्यता जति सुदृढ हुनेछ, महिलाको स्थिति उत्तिकै सुदृढ हुनेछ । पुरुषको तुलनामा महिलाहरू बढी संवेदनशील मानिन्छन् ।” भन्ने कुरा उल्लेख गरिएको छ। नवौँ अध्यायमा विकासे संस्थाको नाममा प्रवेश गरेका र स्थापना भएका सङ्घ-संस्थाहरूले नेपालमा पारेका राजनीतिक तथा आर्थिक प्रभावहरु उल्लेख गरिएको छ। नेपालमा कहिले देखि NGO, INGO हरू सकृय रहे ? नेपालमा कति सङ्घ-संस्थाहरूले के कस्ता कामहरु कसरी गरिरहेका छन् ? ती सङ्घ-संस्थाहरूले बिचौलिया हर्कत, गुप्तचरी कार्यमा संलग्न, उपभोक्तावादको विस्तार, विभ्रम र विकृतिको वाहक , कम्युनिष्ट विरोधी गतिविधि, जातीय,धार्मिक मुद्दाहरू उचाल्ने जस्ता गतिविधिमा संलग्न रहेको तथ्यहरू प्रस्तुत गरिएको छ। दशौं अध्यायमा राजनीतिक अर्थशास्त्रको विषयमा ऐतिहासिक पृष्ठभुमि,पुँजीवादर यसको संकट, समाजवादको उदय र विकास, समाजवादको संकट र सफलता , बिभिन्न देशमा समाजवादीअर्थ प्रणालीको सफलता लगाएतका विषयहरू छलफल गरिएको छ। मार्क्सवादले अर्थ-प्रणालीलाई समाजको जग वा आधार मान्दछ । समाजवादी क्रान्तिपश्चात् राजनीतिक अर्थशास्त्रमा ऐतिहासिक उपलब्धि र अनुभवहरू प्राप्त भएका छन् तर ती पर्याप्त छैनन्। त्यस कारण श्रमिक वर्गको निजी क्षमता, सिर्जना, चाहना र आवश्यकतालाई परिपूर्ति गर्दै सामूहिक समृद्धितिर लैजाने अर्थ-प्रणाली एकीकृत स्वामित्व प्रणाली भएको कुरा उल्लेख गरिएको छ। एघारौं अध्यायमा पुर्व-नेपालको सामाजिक आर्थिक सास्कृतिक अवस्थामाथि छलफल केन्द्रित गरिएको छ। नेपालको राजनीतिक वैचारिक आन्दोलनमा पुर्वी नेपालले खेलेको भूमिका, सम्भावना, सिमाको प्रभाव, त्यहाँको क्रान्तिकारी परम्परा, सामरिक अवस्थिति लगाएतको विषयमा छलफल विमर्श गरिएको छ । बार्हौ अध्यायमा वर्तमान अवस्थामा बहसको विषय बनेको मध्यमवर्ग कस्तो वर्ग हो ? अहिले कुन अवस्थामा छ ? यो वर्ग क्रान्तिको साझेदारी वर्ग कसरी बन्न पुगेको छ? भन्ने प्रश्नहरूमाथी विमर्श गरिएको छ ।
तेरौं अध्यायमा पार्टी सङ्गठनको विषयमा गम्भीर विमर्श गरिएको छ। संगठनको ऐतिहासिक पृष्ठभुमि, संगठन के हो ? यसको महत्व के छ ? मार्क्सवादले कसरी संगठन समन्धी दृष्टिकोणमा नयाँ बुझाई स्थापित गर्यो । जनवादी केन्द्रीयताको सिद्धान्त के हो ? माओले पार्टी संगठनकसरी चलाएका थिए? लगाएलका प्रश्नहरूमाथी छलफल केन्द्रित छ। माओको भनाई उल्लेख गर्दै भनिएको छ । ” सयौँ फूलहरुलाई फुल्न देउ, हजारौं विचारहरूलाई प्रतिस्पर्धा गर्न देऊ ” पार्टी संरचना कस्तो निर्णय गर्ने भन्ने सन्दर्भमा कार्यकर्तामा आधारित र जनतामा आधारित संगठनात्मक संरचना निर्माण गर्ने कुरा उल्लेख गरिएको छ। विचारहरूलाई भौतिक शक्तिमा बदल्ने एक मात्र साधन सङ्गठन भएकाले मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका योगदानलाई कदर गर्दै उहाँहरूको अपुगलाई पुरागर्न कतिपय सन्दर्भमा निषेध नभइ प्रतिस्थापन गर्नुपर्ने कुरा निष्कर्षको रूपमा उल्लेख गरिएको छ। चौधौं अध्यायमा एकिकृत जनक्रान्तिका पृष्ठभुमि, नेपाली मौलिकता, नयाँ जनवाद र वैज्ञानिक समाजवाद, चिनियाँ अनुभव , सन्दर्भ र विशिष्टता लगाएतका विषयहरू समावेस छन् साथै एकिकृत जनक्रान्ति के हो? एकिकृत जनक्रान्ति नै किन ? जस्ता प्रश्नहरू माथि विमर्श केन्द्रित गरिएको छ ।
पन्ध्रौं अध्यायमा सिद्धान्तको अन्वेषण शिर्षकमा मार्क्सवादको आधारितुत अंगहरू राजनीति, दर्शन र अर्थशास्त्र माथि नयाँ बहस अगाडी सारिएको। मार्क्सवादमा अहिलेसम्मका उपलब्धिहरुलाई रक्षा गर्दै नयाँ बहसको खाँचो औंल्याइएको छ । जसले द्वन्दवादको नाभी मानिने विपरितहरुको एकत्व प्रकृति र समाजमा एकैरूपमा लागु नहुने , जीवन र समाजमा लागु भएपनि दुई लाइन संघर्षमा लागु नहुने कुरा उल्लेख गरिएको छ। अनिश्चयको सिद्धान्त, एकिकृत स्वामित्व प्रणाली, रक्षा र विकास, समाजवादी संघियता जस्ता विषयहरू अगाडी सारिएको छ। यस पुस्तकको अन्तिम अध्यायको रूपमा उपसंहार शिर्षकमा पुस्तकको सम्पूर्ण विषयबस्तुलाई संस्लेषित गरिएको छ।
ऐंजरु पुँजीवाद ले नेपालको अर्थतन्त्रमा रहेको विदेशी निर्भरता र त्यसलाई कायम राख्ने स्थानीय दलाल वर्गको भूमिकालाई स्पष्ट पार्छ। पुस्तकले आन्तरिक वर्गीय शोषण र बाह्य साम्राज्यवादी हस्तक्षेपबीचको सम्बन्ध स्पष्ट गर्दै, वैकल्पिक राष्ट्रिय उत्पादन नीति र स्वावलम्बी अर्थतन्त्रको आवश्यकता महसुस गराएको छ । यसले पाठकलाई केवल आलोचनामा सीमित नराखी, रूपान्तरणको बाटो खोज्न प्रेरित गर्दछ। समग्रमा, यो कृति एक पुस्तकमात्र नभइ नेपालको वर्तमान आर्थिक यथार्थ बुझ्न र परिवर्तनका लागि आवश्यक वैचारिक आधार निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने दस्तावेज हो। यो पुस्तक राजनीतिक कर्मी विद्यार्थी, शोधकर्ता र क्रान्तिकारी आन्दोलनसँग संलग्न व्यक्तिका लागि गहिरो अध्ययनको आधार बन्न सक्ने देखिन्छ ।