वैदेशिक रोजगार विभाग पूर्णरूपमा ध्वस्त

 

२६ भदौ, काठमाडौं

जेनजी प्रदर्शनकारीले वैदेशिक रोजगार विभाग समेत ध्वस्त पारेका छन् ।

मंगलबार प्रदर्शनकारीले ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी गरेका हुन् । जसका कारण विभागको तल्लो भवन पूर्णरूपमा क्षति पुगेको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी दिए ।

आगजानी र तोडफोडका कारण विभागमा पूर्णरूपमा क्षति पुगेको र अहिले आंशिक रूपमा सेवा प्रवाह भइरहेको उनले बताए । आगजनीबाट प्रशासन शाखा, मुद्दा शाखा तथा महानिर्देशक कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको छ ।

विभागभन्दा माथि रहेको वैदेशिक रोजगार कार्यालयमा भने केही भएको छैन । जसले गर्दा श्रम स्वीकृतिको सेवा प्रवाहमा कुनै समस्या नआएको भट्टराईले बताए ।

‘माथिल्लो भवनमा श्रम स्वीकृतिको कार्य हुन्छ । त्यहाँ पनि क्षति पुगेको भए श्रम स्वीकृतिको कार्य समेत बन्द हुन्थ्यो,’ भट्टराईले भने, ‘अहिले साथीहरूले घरबाटै श्रम स्वीकृतिको काम गरिरहेका छन् । श्रम स्वीकृतिका लागि अलि–अलि आइरहेका छन् । त्यो घरबाटै भइरहेको छ ।’

मंगलबारको जेनजी प्रदर्शन क्रममा प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, अदालत तथा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका थिए । त्यही क्रममा विभागमा समेत आगजानी तथा तोडफोड गरेका हुन् ।

वैदेशिक रोजगार ठगीसम्बन्धी थुनुवाहरू समेत भागेका छन् । पक्राउ परेर कालीमाटी प्रहरी वृत्तमा रख्ने गरिएको थियो । कालीमाटी प्रहरी वृत्तबाट थुनुवाहरू भागेसँगै विभागका थुनुवाहरू समेत भागेको  सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।

‘वैदेशिक रोजगार सम्बन्धी ठगीमा पक्राउ गरेकालाई कालीमाटी प्रहरी वृत्तमा राख्ने गरिएको थियो । कालीमाटीबाट अन्य थुनुवा भाग्ने क्रममा हाम्रा थुनुवा पनि भागेछन्,’ सूचना अधिकारी ढकालले भने ।

अहिले वैदेशिक रोजगार सम्बन्धी उजुरीहरूका विषयमा सामान्य तरिकाले काम भइरहेको उनको भनाइ छ । उजुरी आएपछि म्यानपावर व्यवसायीलाई फोन गरेर सोधपुछ गर्ने गरिएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation