८ असोज, काठमाडौं
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद त्यागेका छन् ।
उनले बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा पदत्याग गर्ने प्रस्ताव पेस गरेका हुन् । बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ ।
साथै, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ ।
आयोजक कमिटीको संयोजकका रुपमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टी उपाध्यक्ष मानुषी यमी भट्टराईले अध्यक्ष भट्टराईले पद त्याग्ने प्रस्ताव बैठकमा राख्नुभएको र फागुनमा विशेष महाधिवेशनमा जाने प्रस्तावमाथि छलफल गरिरहेको बताइन् ।
बैठकका निर्णयहरूबारे जानकारी दिन नेसपा नयाँ शक्तिले विहीबार पत्रकार सम्मेलनको आयोजना गरेको उनले जानकारी दिइन् ।