प्रधानन्यायाधीशमाथि अदालतमै जुत्ता प्रहार

 

२० असोज, काठमाडौं

भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार गरिएको छ। ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीको क्रममा आफ्नो जुत्ता निकालेर गवईतर्फ फ्याँकेका थिए।

भारतीय सञ्चार माध्यमहरूका अनुसार, दिल्ली प्रहरीले उनीमाथि नियन्त्रण लिएर अनुसन्धान सुरु गरेको छ।

दिल्ली प्रहरीले दिएको जानकारीअनुसार उक्त घटना बिहान करिब ११:३५ बजे सर्वोच्च अदालतको कोठा नं. १ मा भएको हो। ‘सुरक्षाकर्मीहरूले उनलाई तत्काल नियन्त्रणमा लिए र सर्वोच्च अदालतको सुरक्षा इकाईलाई जिम्मा लगाए। उनी मायूर विहार क्षेत्रका बासिन्दा हुन् र सर्वोच्च अदालत बार एशोसिएशनका सदस्य पनि हुन्,’ एक वरिष्ठ प्रहरी अधिकारीले बताए।

जुत्ता प्रहार गर्ने अधिवक्ता प्रधानन्यायाधीश गवईले हालै मध्यप्रदेशको खजुराहो मन्दिर परिसरभित्रको भगवान् विष्णुको मूर्ति पुनर्स्थापना सम्बन्धी मुद्दाको सुनुवाइमा गरेका टिप्पणीबाट असन्तुष्ट रहेका खुलेको छ ।

गवईमाथि जुत्ता प्रहार गर्दा पनि उनी शान्त देखिए र अदालतमा रहेका वकिलहरूलाई कारबाही जारी राख्न आग्रह गरे। उनले भने, ‘यसबाट विचलित नहोस्, मलाई पनि फरक पर्दैन।’

सुरक्षाकर्मीहरूले राकेश किशोरलाई अदालतबाहिर निकाल्दै थिए, उनले चिच्याउँदै भनेका थिए, ‘सनातन धर्मको अपमान हिन्दुस्तानले सहिँदैन।’ अहिले प्रधानन्यायाधीश गवईलाई दिल्ली प्रहरीले ‘जेड प्लस’ सुरक्षा उपलब्ध गराएको छ ।

गवईले न्यायाधीश के. विनोद चन्द्रनसँगको इजलासमा १६ सेप्टेम्बरमा खजुराहो मन्दिर परिसरको जवारी मन्दिरमा रहेको ७ फिट अग्लो भगवान् विष्णुको भग्न मूर्ति पुनर्निर्माणको मागसहित दायर याचिका खारेज गरेका थिए।

इन्डिया एक्सप्रेसका अनुसार, सुनुवाइको क्रममा गवईले भनेका थिए, ‘यो त केवल प्रचारको लागि गरिएको मुद्दा हो। जानुहोस् र मूर्तिलाई नै केही गर्न भन्नुस्। तपाईं आफूलाई भगवान् विष्णुको भक्त भन्नुहुन्छ भने प्रार्थना गर्नुहोस्, ध्यान गर्नुहोस्।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation