
१४ वैशाख, काठमाडौं
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले देशका विभिन्न भागमा भएका हवाई आक्रमणका क्रममा विस्फोट नभएका अमेरिकी तथा इजरायली हतियारहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ।
इरानको सरकारी सञ्चारमाध्यम ‘प्रेस टीभी’का अनुसार, सन् २०२५–२०२६ को द्वन्द्वका क्रममा खसालिएका तर विस्फोट नभएका अत्याधुनिक अमेरिकी हतियारहरू इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले नियन्त्रणमा लिएको हो।
होर्मोजगान प्रान्तको बन्दर अब्बासस्थित ‘इमाम सज्जाद कप्र्स’ले १५ भन्दा बढी भारी अमेरिकी मिसाइलहरू निष्क्रिय पारेको जनाएको छ। ती मिसाइलहरूलाई हाल प्राविधिक तथा अनुसन्धान इकाइमा पठाइएको अलजजिराले जनाएको छ।
जञ्जान प्रान्तको ‘अन्सार अल–महदी कप्र्स’ले नौ हजार ५०० भन्दा बढी साना बमहरू बरामद गरेको छ। ती बमहरू मुख्यतया क्लस्टर हतियार प्रणालीबाट खसालिएका थिए।
सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा जीबीयू–५७ ‘बंकर बस्टर’ बमलाई सफलतापूर्वक निष्क्रिय पारेर नियन्त्रणमा लिइएको बताइएको छ। उक्त बम जमिनमुनिका कडा संरचनाहरू ध्वस्त पार्न प्रयोग गरिन्छ। साथै, १५ भन्दा बढी भारी अमेरिकी मिसाइल र ५२ वटा रकेटहरू पनि नियन्त्रणमा लिइएको छ। यसमा एफ–१५, एफ–१६ र एफ–३५ विमानबाट प्रहार गरिएका एलबी–६५, एलबी–८४ जस्ता हतियारहरू समावेश छन्।
रिभर्स इन्जिनियरिङको तयारी
अब इरानले अमेरिकी मिसाइलहरूको ‘गाइडन्स सिस्टम’ र ‘बंकर–पञ्चिङ’ प्रविधि अध्ययन गर्न सकेमा भविष्यमा आफ्ना मिसाइलहरू अझ सटीक र घातक बनाउनसक्ने आँकलन गरिएको छ।
इरानले बरामद गरिएका हतियारहरूलाई आफ्ना अनुसन्धान तथा प्राविधिक इकाइहरूमा पठाएको जनाएको छ। अमेरिकी विशेषज्ञहरूका अनुसार, सग्लो अवस्थामा फेला परेका यस्ता हतियारहरूले इरानलाई अमेरिकाको अत्याधुनिक सैन्य प्रविधि बुझ्न महत्त्वपूर्ण सहयोग पु¥याउन सक्छन्।
रिभर्स इन्जिनियरिङ भनेको कुनै पनि तयार हतियार वा उपकरणलाई टुक्रा–टुक्रा पारेर त्यसको संरचना, सफ्टवेयर र सञ्चालन प्रणाली बुझ्ने प्रक्रिया हो। इरानले यसअघि अमेरिकी ‘आरक्यू–१७०’ र ‘एमक्यू–९ रिपर’ ड्रोनहरूलाई रिभर्स इन्जिनियरिङ गरेर आफ्नै ‘साहेद’ ड्रोन श्रृंखला विकास गरिसकेको छ।
यसअघि पनि इरानले बरामद गरिएका अमेरिकी ड्रोनहरूलाई अध्ययन गरेर आफ्नै संस्करणका ‘साहेद’ र ‘मोहाजेर’ ड्रोनहरू निर्माण गरिसकेको छ। अब ‘बन्कर बस्टर’ प्रविधिको अध्ययनले इरानी मिसाइल क्षमतालाई अझ उन्नत र घातक बनाउन सक्ने विश्लेषण गरिएको छ। यस घटनाले अमेरिका र इजरायलका लागि दुईवटा मुख्य रणनीतिक चुनौती थपिएको बताइएको छ।
















