१६ वैशाख, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारको आलोचना गरेका छन् ।
संसद छलेर अध्यादेश ल्याएपछि कार्कीले आफ्नै दलकै सरकारको आलोचना गरेका हुन् । झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुर नभएको उनको टिप्पणी छ ।
‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन’, उनले भनेका छन् ।
अध्यादेश सधैं संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै आउने बताउँदै उनले संविधानको मर्मको भने पालना नभएको बताएका छन् ।
‘यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन’, उनले भनेका छन्, ‘संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।’
उनले हालका विपक्षी दलले यसअघि अध्यादेश ल्याउँदा आफूले प्रश्न उठाएको स्मरण गर्दै अहिले आफ्नै सरकार हुँदा पनि ती प्रश्नहरु उठाइरहेको बताएका छन् ।

















