१८ वैशाख, काठमाडौँ
बल्खुस्थित बागमती नदीमा ६१ वर्षका एक पुरुष मृत फेला परेका छन् । दिउँसो उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रज्वल लिम्बूका अनुसार उनी आफ्नो घरमा डोजर चलाएपछि विरक्तिएका थिए । ‘उनी म बस्ने जागरण टोलकै हुन्,’ उनले भने । मृतक लामो समयदेखि बल्खुको फलफूल मण्डीमा काम गर्दै आएका थिए । 
मृतककी श्रीमतीले पनि घरमा डोजर चलाएपछि उनी निराश भएर हिँडेको बताइन् ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक इन्द्रबहादुर राई हुन् । उनले भने, ‘मृतकका परिवारसँग सम्पर्क हुँदै छ ।’
काठमाडौंका खोला किनारका ‘अव्यवस्थित बस्ती हटाउने’ क्रममा सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट, शंखमूललगायत क्षेत्रमा डोजर चलाएको हो ।
बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना दिएर बस्ती खाली गराउन भनेको थियो। उक्त सूचनापछि धेरैले आफैं घरटहरा खाली गर्न थालेका थिए ।
यसअघि जस्तै बाक्लो सुरक्षा घेराबीच डोजर चलाएर बस्तीहरू भत्काउन थालिएको हो । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी लगायत खटिएका छन् ।