
११ जेठ, घोराही/दाङ
चितवनको माडीमा गत चैत ८ र ९ गते सम्पन्न भएको भौतिकवादी समाज नेपालको प्रथम राष्ट्रिय सम्मेलनपछि भौतिकवादी समाज दाङको विस्तारित बैठक सम्पन्न भएको छ। समाजका अध्यक्ष पदमप्रसाद पोख्रेलको अध्यक्षतामा घोराहीस्थित सर्वोदय पुस्तकालयमा आइतबार बसेको बैठकले संगठनका आगामी गतिविधिबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले आगामी असार ६ गते घोराहीमा एक विशेष अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। “भौतिकवाद के हो र भौतिकवादी किन बन्ने?” शीर्षकमा आयोजना गरिने उक्त कार्यक्रममार्फत भौतिकवादी दर्शन, वैज्ञानिक चिन्तन, समाज रूपान्तरणमा यसको भूमिका तथा समकालीन नेपाली समाजमा यसको सान्दर्भिकताबारे व्यापक छलफल गरिने जनाइएको छ। कार्यक्रममा प्रस्तुत गरिने कार्यपत्र लेखक, विश्लेषक तथा राजनीतिक अभियन्ता प्रमोद धितालले तयार गर्ने निर्णय भएको समाजका अध्यक्ष पदमप्रसाद पोख्रेलले जानकारी दिएका छन्।
बैठकमा राष्ट्रिय सम्मेलनका निष्कर्ष, संगठन विस्तारका योजना, वैचारिक प्रशिक्षण, अध्ययन–चर्चा कार्यक्रम तथा जिल्लास्तरमा जागरण अभियानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। सहभागीहरूले वर्तमान समाजमा बढ्दो अन्धविश्वास, धार्मिक कट्टरता, अवैज्ञानिक सोच तथा सामाजिक विभेदका विरुद्ध संगठित रूपमा वैचारिक हस्तक्षेप आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
भौतिकवादी समाज नेपालले आफूलाई वैज्ञानिक सोच, तथ्यमा आधारित विश्लेषण र मानववादी मूल्यहरूको प्रवर्द्धन गर्ने सामाजिक–वैचारिक अभियानका रूपमा प्रस्तुत गर्दै आएको छ। समाजका अनुसार मानव जीवन, प्रकृति र समाजलाई अलौकिक शक्तिको प्रभावभन्दा पनि वस्तुगत यथार्थ, वैज्ञानिक प्रमाण र ऐतिहासिक विकासक्रमका आधारमा बुझ्नुपर्ने मान्यता नै भौतिकवादी दृष्टिकोणको आधार हो।
संगठनले लामो समयदेखि देशका विभिन्न भागमा अध्ययन–चर्चा, अन्तरक्रिया, प्रशिक्षण, प्रकाशन तथा वैचारिक बहसका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी समाजमा विद्यमान धार्मिक एवं सांस्कृतिक कुरीति, कुसंस्कार, अन्धविश्वास, जातीय विभेद, छुवाछुत, भाग्यवाद तथा अवैज्ञानिक मान्यताका विरुद्ध वैज्ञानिक चेतना विस्तार गर्ने उद्देश्यका साथ विभिन्न अभियानहरू सञ्चालन गरिँदै आएको बताइएको छ।
भौतिकवादी समाज नेपालका अगुवाहरूका अनुसार समाज रूपान्तरणको आधार केवल राजनीतिक परिवर्तन मात्र नभई मानिसको सोच, व्यवहार र जीवन दृष्टिकोणमा आउने परिवर्तन पनि हो। त्यसैले संगठनले प्रत्येक व्यक्तिमा प्रश्न गर्ने क्षमता, तथ्यको खोजी गर्ने बानी, तर्कसंगत निष्कर्ष निकाल्ने प्रवृत्ति तथा प्रमाणमा आधारित निर्णय प्रक्रियाको विकासलाई विशेष महत्व दिने गरेको छ।
माडीमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले संगठनलाई देशव्यापी रूपमा विस्तार गर्ने, वैचारिक बहसलाई अझ व्यापक बनाउने तथा युवा पुस्तामाझ वैज्ञानिक चिन्तन र मानववादी संस्कृतिको विकास गर्ने दिशामा नयाँ कार्ययोजना समेत पारित गरेको थियो। सम्मेलनपछि विभिन्न जिल्लाहरूमा संगठनात्मक गतिविधि तीव्र बनाउने अभियान अन्तर्गत दाङमा समेत नियमित कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरिएको छ।
असार ६ गते आयोजना हुने अन्तरक्रियात्मक कार्यक्रममा शिक्षक, विद्यार्थी, लेखक, पत्रकार, सामाजिक अभियन्ता, राजनीतिक कार्यकर्ता तथा वैज्ञानिक दृष्टिकोणप्रति रुचि राख्ने सर्वसाधारण नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले उक्त कार्यक्रमलाई भौतिकवादसम्बन्धी सैद्धान्तिक स्पष्टता, वैज्ञानिक चेतनाको विस्तार तथा समकालीन समाजका विभिन्न प्रश्नमाथि खुला बहस गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।
भौतिकवादी समाज नेपालले आगामी दिनमा पनि मानववादी सोच, वैज्ञानिक चिन्तन, तथ्यमा आधारित तर्क र प्रगतिशील सामाजिक व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ देशव्यापी जागरण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। संगठनका अनुसार समतामूलक, न्यायपूर्ण, विवेकशील र वैज्ञानिक चेतनाले सम्पन्न समाज निर्माणका लागि वैचारिक संघर्ष र जनचेतना अभिवृद्धि आजको प्रमुख आवश्यकता हो।
















