विज्ञान र सामाजिक चेतनाबारे दाङमा विमर्शः मानिस भौतिकवादी बन्नु आधारभूत कुरा हो– रोशन जनकपुरी

दाङ, घोराही ।

घोराहीस्थित सर्वोदय पुस्तकालयको सभाहलमा “भौतिकवाद भनेको के हो र भौतिकवादी किन बन्ने” विषयक विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भौतिकवादी समाज दाङको आयोजनामा सम्पन्न कार्यक्रममा भौतिकवाद, विज्ञान, दर्शन, मानववाद, सामाजिक चेतना तथा समाजमा विद्यमान धार्मिक अन्धविश्वास र रूढिवादका विषयमा गहन बहस भएको थियो।

प्रमुख वक्ता तथा चिन्तक रोशन जनकपुरी ले मानव समाजको समुन्नत विकासका लागि मानिस भौतिकवादी बन्नु आधारभूत आवश्यकता भएको धारणा राख्दै भौतिकवादले मानिसलाई अन्धविश्वास, भाग्यवाद र अवैज्ञानिक सोचबाट मुक्त गर्दै विज्ञान, तर्क, प्रमाण र यथार्थको आधारमा जीवन र समाजलाई बुझ्ने क्षमता प्रदान गर्ने बताए। जनकपुरीका अनुसार हरेक मानिस वैज्ञानिक र भौतिकवादी चेतनायुक्त बनेपछि समाजमा अन्याय, विभेद, शोषण तथा उत्पीडनका विभिन्न स्वरूपहरू क्रमशः कमजोर बन्दै जानेछन् र समानता, न्याय, स्वतन्त्रता तथा मानवीय मुक्तिको आधार सुदृढ हुनेछ। उनले प्रकृति, समाज र मानव जीवनबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक ढङ्गले बुझ्दै मानवतावाद, तर्कशीलता र प्रकृतिप्रेममा आधारित चेतनाको विकास गर्न सके मात्रै समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरेका हुन्।


कार्यक्रममा अध्येता तथा लेखक प्रमोद धितालले प्रस्तुत गरेको कार्यपत्रमा भौतिकवादलाई मानव सभ्यताको विकास, वैज्ञानिक चेतना, तर्कशीलता र मानवीय व्यवहारसँग जोडेर व्याख्या गरिएको थियो। उनले संसार र समाजलाई अलौकिक शक्तिको आधारमा नभई विज्ञान, तर्क, अनुभव र वस्तुगत यथार्थका आधारमा बुझ्नुपर्ने धारणा राख्दै मानिसलाई अन्धविश्वास, भाग्यवाद र अवैज्ञानिक सोचबाट मुक्त गराउन वैज्ञानिक चेतनाको विकास अपरिहार्य रहेको कुरा उल्लेख गरेका थिए।

कार्यपत्रमाथि टिप्पणी गर्दै लेखक, विश्लेषक एवं् माक्र्सवादी चिन्तक शशिधर भण्डारीले भौतिकवाद र दर्शनको पृष्ठभूमिलाई अझ सरल र आम मानिसले बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्ने सुझाव दिएका छन्। उनले इतिहासभर धार्मिक संस्थाहरूले सत्ता र शोषणलाई वैधता दिन खेलेको भूमिकाबारे चर्चा गर्दै समाजलाई तर्क, प्रमाण र वैज्ञानिक दृष्टिकोणका आधारमा अगाडि बढाउनुपर्ने धारणा राखेको थिए। शशिधर भण्डारीले धर्मले दुनियाँभर काटमार र व्यापारबाहेक कुनै मानवीय कार्य नगरेको बताएका हुन् ।

कार्यक्रमका प्रमुख वक्ता तथा चिन्तक रोशन जनकपुरीले मानव सभ्यताको विकासक्रम, पूर्वीय तथा पाश्चात्य दर्शन, ग्रीक दर्शन, चार्वाक दर्शन, नास्तिकवाद, भौतिकवाद तथा वैज्ञानिक चिन्तनको ऐतिहासिक विकासबारे विस्तृत प्रकाश पारे । उनले आदिम समाजदेखि आधुनिक रोबोटिक्स र कृत्रिम बौद्धिकता ‘एआई’ को युगसम्मको मानव विकास विज्ञान र तर्कशील चिन्तनकै उपलब्धि भएको उल्लेख गर्नुभयो।

“मानिसले प्रकृति, समाज र जीवनलाई बुझ्ने क्रममा अनेकौँ दर्शनको विकास गर्‍यो, तर विज्ञानले प्रमाण, परीक्षण र प्रश्न गर्ने संस्कृतिलाई स्थापित गर्‍यो,” जनकपुरी भन्छन्, “धर्म र दर्शनका नाममा विकसित धेरै मान्यताहरूलाई आलोचनात्मक ढङ्गले अध्ययन गर्नु आवश्यक छ, किनकि अन्धविश्वासले मानिसलाई स्वतन्त्र चिन्तनबाट टाढा पुर्‍याउँछ।”

उनले जन्मदेखि मृत्युसम्मका संस्कारहरूलाई समयसापेक्ष, मानवीय र प्रगतिशील बनाउनुपर्नेमा जोड दिँदै धार्मिक रूढिवाद, भाग्यवाद र अवैज्ञानिक परम्पराले समाजको चेतनालाई कमजोर बनाएको धारणा व्यक्त गरे। साथै, मानवतावाद, प्रकृतिप्रेम, तर्कशीलता र वैज्ञानिक दृष्टिकोणको विकासमार्फत मात्रै समाजलाई प्रगतिशील दिशातर्फ अघि बढाउन सकिने उनको तर्क छ।

राजनीतिककर्मी तथा राजनीतिकर्मी तथा लेखक सम्झना सीले महिलामाथि र खासगरी दलित समुदायमाथि तथा उत्पीडित वर्गमाथि लामो समयदेखि हुँदै आएको सामाजिक, सांस्कृतिक र संरचनागत विभेदको अन्त्यका लागि चेतनाको विकास आवश्यक रहेको बताइन् । उनले समाज परिवर्तनका लागि विचार र व्यवहारबीच एकरूपता आवश्यक रहेकोमा जोड दिएकी थिइन् ।

कार्यक्रममा सहभागी विभिन्न बौद्धिक व्यक्तित्वहरू विकास गौतम, विष्णु लगायतले धर्म, दर्शन, विज्ञान, सामाजिक व्यवहार, अन्धविश्वास तथा समकालीन समाजका विविध विषयमा जिज्ञासा राखेका थिए। चर्को गर्मीका बाबजुद सहभागीहरूले कार्यक्रम अवधिभर गम्भीर श्रोताको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमको निष्कर्षमा धार्मिक अन्धविश्वास, सामाजिक रूढिवाद र अवैज्ञानिक मान्यताविरुद्ध वैज्ञानिक, तर्कशील, मानववादी र भौतिकवादी चेतनाको विकास आजको प्रमुख आवश्यकता रहेको सहभागीहरूले जोड दिएका थिए। जीवन, जगत र मानवीय व्यवहारसँग सम्बन्धित यस्ता बौद्धिक बहसलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्षता गरेकी सुदृष्टि लक्ष्मीले उपस्थित सम्पूर्ण वक्ता, टिप्पणीकार, कार्यपत्र प्रस्तुतकर्ता तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै जीवन, जगत, विज्ञान, समाज र मानवीय व्यवहारसँग सम्बन्धित बहस तथा विमर्शलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताएकी थिइन् ।

भौतिकवादी समाज दाङ को आयोजनामा सम्पन्न कार्यक्रममा भौतिकवाद, दर्शन, विज्ञान, सामाजिक चेतना, धर्म, राजनीति तथा समकालीन कम्युनिस्ट आन्दोलनका विविध आयाममाथि गहन बहस र विमर्श गरिएको थियो। कार्यक्रमको अध्यक्षता समाजकी उपाध्यक्ष सुदृष्टि लक्ष्मीको रहेको थियो भने स्वागत मन्तव्य समाजका सचिव विष्णु हमालले राखेका थिए । कार्यक्रमको सञ्चालन समाजका अध्यक्ष पदम प्रसाद पोख्रेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation