सिरहाको गोलबजार नगरपालिका–११ बलकावामा करिब दुई महिनाअघि भएको कुटपिट घटनाका पीडितले न्यायको खोजीमा इलाका प्रहरी कार्यालय गोलबजार पुग्दा आफूहरूमाथि नै दुर्व्यवहार भएको र आफन्तलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन्।
पीडित पक्षका अनुसार बाख्राको विषयलाई लिएर भएको सामान्य विवादमा समसाद लहेरी र रुबो खातुन तथा कैस खातुनबीच झडपमा परिणत भएको थियो। झगडा छुट्याउन पुगेकी समसादकी श्रीमती जरिना खातुनसमेत कुटपिटमा परेकी थिइन्। घटनामा श्रीमान–श्रीमती दुवै घाइते भएका थिए। उनीहरूलाई सुरुमा गोलबजारस्थित लाइफ लङ हेल्थ केयरमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको र १२ दिनको उपचारपछि घर फर्किएको परिवारले जनाएको छ।
घटनापछि वडा कार्यालय तथा प्रहरी प्रशासनमा पटक–पटक गुहार्दा पनि अहिलेसम्म न्याय नपाएको पीडितहरूको गुनासो छ। जरिना खातुनका अनुसार घटनाको विषयमा इलाका प्रहरी कार्यालय गोलबजारमा दिएको निवेदनको करिब दुई महिना बितिसक्दा पनि कुनै ठोस सुनुवाइ भएको छैन।
बिहीबार बिहान करिब ११ बजे छलफलका लागि प्रहरी कार्यालयमा बोलाइएको भए पनि विपक्षी पक्ष उपस्थित नभएको पीडित पक्षको भनाइ छ। त्यसपछि आफूहरूले बारम्बार आफूहरूलाई मात्र बोलाएर फर्काइने गरेको गुनासो राख्दा प्रहरीले गालीगलौज गर्दै कार्यालयको गेटबाहिर निकालेको जरिनाले बताइन् । ‘हामीलाई न्याय दिनुको साटो उल्टै अन्याय गरियो’, उनले भनिन्।
जरिनाका श्रीमान् समसाद लहेरीले न्यायको माग गर्न जाँदा प्रहरीको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेपछि आफ्ना भतिजा अफ्ताव लहेरीलाई नियन्त्रणमा लिइएको दाबी गरे। हामी न्याय खोज्न आएका थियौँ, तर हाम्रो आवाज कसैले सुनेन,उनले अनलाइन खबरकर्मीसँग भने।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउनुको साटो डयुटिमा खटिएको प्रहरीलाई बिनाअनुमतिभित्र प्रवेश गर्न नदिन निर्देशन दिए । प्रहरीले कुनै व्यक्तिलाई सोही विषयमा बुझ्न प्रवेश गर्न दिएन्न बरु गेट लागएर राखे ।
यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले इलाकामा नमिल्ने विषय भएको बताए । उनले अन्य व्यक्तिलाई थुनामा नराखेको र कार्यालयमा होहल्ला भएपछि अवस्था सामान्य बनाउनका लागि मात्र नियन्त्रणमा लिइएको दाबी गरे ।
उनले घटनाबारे थप बुझ्ने प्रयास गरिरहेको बताए ।

-अनलाइनखबरबाट

















