सामुदायिक विद्यालयदेखि अमेरिकाको पीएचडीसम्मः गौमुखीका किसान खत्री प्रेरणाका स्रोत

२६ असार, प्यूठान

गौमुखी गाउँपालिका वडा नं. ६ लिबाङका किसान खत्रीले अमेरिकाको टेम्पल युनिभर्सिटीबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि ‘पीएचडी’ उपाधि हासिल गरेका छन् । सामान्य किसान परिवारमा जन्मे हुर्केका खत्रीले लिएको यो उपाधिले सिंगो पािलका तथा जिल्लाको गौरव बढाएको शैक्षिक जानकारहरुले बताएका छन् ।

भृकुटी माविको एसइइ पहिलो ब्याचको उत्कृष्ट विद्यार्थी रहेका उनले कृत्रिम बुद्धिमत्ता एआई र मेशिन लर्निङ प्रविधिको प्रयोग गरी क्यान्सरसँग सम्बन्धित प्रोटिन म्युटेसन विषयमा गरेकोले यस अनुसन्धानले भविष्यमा क्यान्सर उपचारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

खत्रीले नेपालबाट पीएचडी अध्ययनका लागि अमेरिका गएका विद्यार्थीमध्ये हालसम्मकै छोटो अवधिमा तीन वर्ष ११ महिनामै विद्यावारिधि पूरा गरेको जानकारी दिएका छन् । यो उपलब्धिले नेपाली विद्यार्थीको क्षमता अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट रहेको सन्देश दिएको छ।

लिबाङस्थित भृकुटी माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्म निरन्तर प्रथम हुँदै एसईई पनि प्रथम श्रेणीमा उत्तीर्ण गरेका खत्रीले त्यसपछि बुटवल बहुमुखी क्याम्पस, त्रिचन्द्र क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयबाट एमएससी उत्कृष्ट नतिजासहित पूरा गरेका थिए ।

पीएचडी अध्ययनका लागि अमेरिकाका १० वटा प्रतिष्ठित विश्वविद्यालयबाट पूर्ण छात्रवृत्तिको प्रस्ताव प्राप्त भए पनि उनले टेम्पल युनिभर्सिटी रोजेर अध्ययन पूरा गरेका हुन्।

सामान्य किसान परिवारमा हुर्किएका, सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीले विश्वस्तरीय अनुसन्धानमा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण किसान खत्रीले प्रस्तुत गरेका छन्। आर्थिक अवस्था सफलता प्राप्त गर्ने बाधा होइन, दृढ इच्छाशक्ति, निरन्तर मेहनत र गुणस्तरीय शिक्षाप्रतिको समर्पण नै सफलताको मुख्य आधार हो भन्ने सन्देश दिएको छ।

क्यान्सरजस्तो जटिल रोगको उपचारमा योगदान पुग्ने सम्भावना बोकेको अनुसन्धानमार्फत अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायमा नेपाली प्रतिभाको पहिचान स्थापित गर्न सफल किसान खत्रीको उपलब्धिले ग्रामीण क्षेत्रका विद्यार्थीलाई ठूलो प्रेरणा दिएको छ। उहाँको सफलताले शिक्षा, अनुसन्धान र विज्ञानप्रतिको विश्वासलाई अझ बलियो बनाउँदै नयाँ पुस्तालाई ठूलो सपना देख्न र त्यसलाई पूरा गर्न निरन्तर प्रयासरत रहन उत्साहित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation