Pranmancha

Advertisment

SKIP THIS

अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्रीले औपचारिक घोषणा गर्दै

 

प्रज्ञा भवन कमलादीमा आज बिहान आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसको औपचारिक घोषणा गर्न लागेका हुन् ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेका आज मात्र त्यसको औपचारिक घोषणा गर्न लागिएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिए ।

उनका अनुसार अनौपचारिक क्षेत्रका श्रमिक भन्नाले रोजगारदाता निश्चित नभएका कृषि क्षेत्र, निर्माण क्षेत्रलगायतका श्रमिक तथा मजदुरलाई बुझ्नुपर्दछ । यसअघि औपचारिक क्षेत्रमात्र सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि अनौपचारिक क्षेत्र र स्वरोजगार व्यक्ति समेटिएका थिएनन् ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई कोषमा समेट्न स्थानीय तहमार्फत् सम्झौता गर्न सकिने व्यवस्था कार्यविधिमा छ । सो व्यवस्था अनुसार पहिलोपटक स्याङ्जाको फेँदीखोला र त्यसपछि मकवानपुरको भिमफेँदी गाउँपालिकासँग सम्झौता भएको छ । अन्य पालिकाका श्रमिक तथा स्वरोजगार व्यक्ति पनि क्रमशः कोषमा समेटिने क्रममा छन् । ‘कतिपयसँग सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ,’ कोषका उपनिर्देशक रेग्मीले भने, ‘सबैतिर हामी क्रमशः कार्यान्वयन गर्दै जान्छौं । आज त्यसैको शुभारम्भको घोषणा हुन लागेको हो ।’

कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम र सरकारबाट थप गरिएको ९.३७ प्रतिशत रकम थप गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा गरिने छ ।

योगदानको सो रकमलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रति परिवार सुरक्षा योजनाका लागि १०.३७ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनाका लागि १० प्रतिशत रकम बाँडफाँट हुने छ ।

स्वरोजगारमा रहेका व्यक्तिले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकदेखि अधिकतम यसको तीन गुणासम्मको रकमको ३१ प्रतिशत रकम योगदान गर्नुपर्ने छ । त्यो रकम औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि एक प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४० प्रतिशत, आश्रति परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत बाँडफाँट हुने छ ।

कार्यविधि अनुसार सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना घटेको भन्दा अघिको बाह्र महिनामा कम्तिमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ ।

यसैगरी अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तिमा १८० महिना योगदान गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । (onlinekhabar)

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation