कानुनी साक्षरता गाउँ–गाउँमा पुर्‍याउनुपर्छ – कानुनमन्त्री गिरी

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ–गाउँमा लैजानुपर्ने बताएका छन् ।

कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ–गाउँमा पुगेर जानकारी दिनुपर्ने बताएका हुन् ।आफ्नो निर्वाचन क्षेत्र रहेको पर्वतको पैयुँ गाउँपालिकाका बासिन्दासँग भेटघाटमा व्यस्त मन्त्री गिरीले आइतबार हुवास बजारमा आयोजित कार्यक्रममा सो धारणा राखेका हुन् ।

कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै मन्त्री गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरु बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिँदो परिवेश अनुसारका कानुनहरु अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको समेत बताए ।

सदनमा पेश भएका कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता औंल्याए ।

मन्त्री पदमा रहँदा वा नरहँदा पनि आफ्नो निर्वाचन क्षेत्रमा पटक–पटक पुग्ने गरेका एमालेका नेतासमेत रहेका गिरीले पछिल्लो पटक पैयुँ र विहादी गाउँपालिकाका विभिन्न ठाउँका बासिन्दासँग भेटघाट गरेका छन् । ती भेटघाटमा मन्त्री गिरीले संघीय निजामती ऐन र शिक्षा ऐन छिट्टै जारी हुने बताए ।

कानुन निर्माणमा सरकारलाई प्रतिपक्ष दल लगायत सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation