बिग्रदो पठन संस्कृति र सामाजिक मनोविज्ञान

हाम्रो शिक्षा पद्धतिले पढायो मात्रै । त्यसैले पनि अध्ययनको वातावरण सिर्जना हुन नसकेको हो । पढ्ने वातावरणको सिर्जना गर्नु मात्रै आजको आवश्यकता हो । के हो पढ्ने भन्ने कुरा मात्रै जानेर हुँदैन ।

एकजना लेखकले भनेका थिए, Reading is to the mind what good food is to the body. निश्चय नै सन्तुलित खाना शरीरका लागि जति आवश्यक छ, मस्तिष्कका लागि अध्ययन । चिन्तन र विचार मन्थनमा अडिएको यो एक्काइसौ शताब्दिमा अध्ययन सँस्कृति अपरिहार्य भइसकेको छ ।
          औपचारिक शिक्षाको दृष्टिकोणले नेपाल अब त्यति पछाडि छैन । आम पहुँचको रुपमा जुन गतिमा शिक्षामा लगानी र विकास भइरहेको छ, त्यो निश्चय नै सन्तोसजनक मान्न सकिन्छ । नेपालको शिक्षामा आमूल परिवर्तन ल्याउनको लागि मुख्य बाधक नेपाली सामाजिक संरचना थियो, जसका नकारात्मक पक्षहरु भत्किदै गइरहेका छन् । हाम्रो बाजे पुस्ताको नेपाली समाज, स्कूल किन जाने ? पढेर के पाइन्छ ? भन्ने जस्ता प्रश्नहरुमै अल्झिन्थ्यो भने आजको हाम्रो समाजले यी प्रश्नहरु मेटेर स्कूल किन नजाने ? पढेर नपाइने के छ ? के गुमाइन्छ पढेर ? भन्ने जस्ता प्रश्नहरुमा चिन्तन थालेको छ । यो नै एक युगान्तकारी परिवर्तन हो ।
          अध्ययन किन आवश्यक छ ? अध्ययन सँस्कृतिको विकास गर्न किन जरुरी छ ? निश्चय नै यी यस्ता प्रश्नहरु सहजै उब्जन सक्छन् । यो स्वभाविक पनि छ । अध्ययन सँस्कृति भन्नाले यहाँ औपचारिक शिक्षाको घेरालाई ब्याख्या गर्न खोजिएको होइन । बरु अध्ययन सँस्कृतिको एक महत्वपूर्ण पक्षभित्र औपचारिक शिक्षा रहन आउछ । नेपाली समाजले औपचारिक शिक्षाको दृष्टिकोणबाट केही खुट्किलाहरु पार गरिसकेको यो समयमा नेपालमा अध्ययन सँस्कृतिको विकास गर्नु पनि जरुरी छ । अध्ययन सँस्कृति के ? किन आवश्यक छ ? म केही कुराहरु बुँदागत रुपमा उल्लेख गर्न चाहन्छुः
– अध्ययन सभ्यता तथा अध्ययन गर्ने वातावरणको निर्माण गर्दै दैनिक जीवन शैलिको अभिन्न अंगको रुपमा अध्ययनलाई ग्रहण गर्ने समाजको बिकास गर्नु अध्ययन सँस्कृतिको निर्माण गर्नु हो ।
– औपचारिक अध्ययनका साथसाथै अन्य बिज्ञान, समाज, कला, साहित्य, भूगोल, राजनीति, जीवन, दर्शनको सम्बन्धमा अध्ययन थाल्नु अध्ययन सँस्कृति अन्र्तगत पर्दछ ।
– मुख्य त यो स्व अध्ययन हो ।
– यसको क्षेत्र असिमित छ । किताब र किताबका अक्षरहरुसंग खेल्नु मात्रै अध्ययन होइन । किताब (लेखन–पठन)लाई आधार बनाएर मान्छे, जीवन, समाज, भूगोल, प्रकृतिको विषयमा चिन्तन गर्नु पनि अध्ययन हो ।
    अध्ययनलाई लत अथवा रुचिको विषयको रुपमा विकास गर्नुपर्दछ । यसका केही महत्वपूर्ण परिवर्तनहरुलाई यसरी उल्लेख गर्न सकिन्छ ः
– मानिसमा रहेको निराशपन हट्दै सकारात्मक चिन्तनको विकास हुन्छ ।
– कुनै पनि विषयप्रति आलोचनात्मक दृष्टिकोण र विश्लेषणात्मक हेराइको विकास हुन्छ ।
– खाली समयको सिर्जनात्मक सदुपयोग हुन्छ ।
– मानिसलाई हरबखत व्यस्त राख्दछ ।
– जुवातास, जाँडरक्सी जस्ता समाजका नकारात्मक पक्षहरु हट्दै जान्छन् ।
         पछिल्लो समय नेपाली समाज विकृतिमय बन्दै गइरहेको छ । जाँडरक्सी, जुवातास, गाँजाचुरोट जस्ता अम्मलीहरुको सिकार बनिरहेका छन् युवाहरु । औपचारिक शिक्षाले देखाएको बाटो हिंड्नु तर गन्तब्यमा पुग्न नसक्नु, उपलब्धि हाँसिल गर्न नसक्नुले सम्पूर्ण युवाहरुमा निराशपन देखिएको छ, कूबाटो हिंडिरहेका छन् । औपचारिक शिक्षाले अपेक्षा र आकांक्षाको भारी बोकाउनु तर राज्यले अवसरको सिर्जना नगर्नुले यो नियति झेलिरहनुपरेको छ । सानो उमेरमै डाक्टर, इन्जिनियर र पाइलट बन्नुपर्छ भन्दै आशिर्वाद दिने हाम्रो समाजको सबैभन्दा ठूलो कमजोरी हो । पाठ्यपुस्तकबाहेक अरु किताबहरु नानीबाबुको हातमा देखेपछि अब यी बरबादै हुने भए भन्ने धारणा हामीहरुले राख्नुले पनि हाम्रो समाज धेरै पछाडि परेको हो । पठन संकृति बिग्रीएको हो ।
         अध्ययन र चिन्तन निकै जोडिएका विषय हुन् । यी दुर्ई एकअर्का बिना अर्थहिन हुन सक्छन् । चिन्तनको आधार तय गर्ने अध्ययनबाट नै हो । संसारका सबै सफल र असल व्यक्तिहरु अध्ययन र चिन्तनकै कारण उचाइमा पुगेका हुन् । जति आविस्कार र सिद्धान्तहरु जन्मिएका छन्, ती सबै अध्ययन र चिन्तनका परिणाम हुन् । गास, बास र कपास मानिसका आधारभूत आवश्यकताहरुको पूर्ति पछि शिक्षा र स्वास्थ्य जोडिन्छन् । त्यसै अनुरुप अन्य मानवीय आवश्यकताहरु बढ्दै गइरहन सक्छन् । आजको समयमा चेतना र ज्ञान पनि आधारभूत आवश्यकता भइसकेका छन्, मानिस भएर बाँच्नका लागि । आजको यो विकास र आविस्कारको सदुपयोग गर्न नजान्ने मान्छे अपांग बनेर बाँच्नुपर्ने स्थितीे छ ।
         ‘Great minds discuss ideas, average minds discuss events and small minds discuss people.’ विश्वप्रसिद्ध कवि जोन मिल्टनको यो भनाई समाजको यथार्थ हो । उनले समाजको लामो अध्ययन र चिन्तनकै कारण यो बोल्न सकेका थिए । साँच्चै विचार र चिन्तनहरुको मन्थन गर्ने समाज निर्माणका लागि महान बिचारकहरुको आवश्यकता हो नेपाली समाजका लागि पनि । त्यो अध्ययनबाट मात्रै सम्भव छ । त्यो चिन्तनबाट मात्रै सम्भब छ । यही नै सभ्य समाज निर्माणको प्रमूख आधार पनि हो । हामी परिवर्तित हुन जरुरी छ ।
          अध्ययन एउटा त्यस्तो मार्ग पनि हो कि मान्छे आफै आफ्नो नियन्त्रक बन्छ । अनुशासन के हो ? जीवन के हो ? जीवनमा के गर्नुपर्छ ? कस्तो मान्छे बन्नुपर्छ ? त्यो अध्ययबाट व्यक्ति आफै जानकार बन्ने अवसर प्राप्त गर्दछ । हाम्रो शिक्षा पद्धतिले कहिल्यै पढ्न सिकाएन । हाम्रो शिक्षा पद्धतिले पढायो मात्रै । त्यसैले पनि अध्ययनको वातावरण सिर्जना हुन नसकेको हो । पढ्ने वातावरणको सिर्जना गर्नु मात्रै आजको आवश्यकता हो । के हो पढ्ने भन्ने कुरा मात्रै जानेर हुँदैन ।
 कसरी पढ्ने भन्ने कुरा मात्रै जानेर पनि हुँदैन । हामीले जान्नुपर्ने कुरा केलाई कसरी पढ्ने भन्ने कुरा हो । दुनियाँमा आजसम्म लेखिएका पुस्तकको दस प्रतिशत पनि हामीले जीवनभर पढ्न सक्दैनौ । केही यस्ता किताबहरु  पनि लेखिएका छन्, ती बिष भन्दा पनि हानिकारक छन् । ती किताबहरु पढ्नुको औचित्य छैन । कुनै किताबहरु त्यस्ता छन्, जसले जीवन सिकाउँछन् ।
          आजको युग, नेपाली समाज, भूमण्डलिकरणको यो समय अनुरुप पनि अध्ययन सँस्कृतिको विकास गर्नु जरुरी छ । आज कोठामै बसेर पनि दुनिया जान्न सकिन्छ । दुनियालाई पढ्न सकिन्छ । यो फाइदा नेपाली समाजले किन नलिने ? हरेक चिजका फाइदा र बेफाइदा दुबै हुन्छन् । हामी बेफाइदाहरु पन्छाएर फाइदा लिनबाट पछाडि किन हट्ने ? फुर्सदको समयलाई मात्रै पनि सदुपयोग गरेर अध्ययनमा लगाइदिने हो भने हाम्रो जीवनको धार धेरै बदलिन सक्छ । महत्वकांक्षा, सपना, र आकांक्षाहरुको सिकार बनिरहेका छन् मान्छेहरु । जीवन र जगत के हो ? भन्ने बुझ्नका लागि पनि अध्ययन नै जरुरी छ ।
मानिस फुर्सदिलो हुनु र फुर्सद धकेल्ने एउटा गतिलो उपाय नहुनुले यस्ता बिकृतिहरु बढ्दै गएका हुन् । फुर्सद र अध्ययनलाई जोडेर नयाँ सँस्कृति अध्ययन सँस्कृतिको बिकास गर्न सकियो भने हामी धेरै सभ्य बन्न सक्नेछौ । त्यो युगान्तकारी उपलब्धि हुनेछ हाम्रो लागि । अध्ययनबाटै हामीमा धेरै परिबर्तन आउन सक्छ । जीवन, जगत, समय र समाजप्रति राम्रो अबधारणाको बिकास हुनेछ । अध्ययन सँस्कृतिको बिकास गर्न सकेमा निश्चय नै नेपाली समाजमा आमुल परिवर्तन आउनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation