इजरायली बमबारीले गाजामा विनाश गरिरहेकै छ, जहाँ ठूलो संख्यामा नागरिक मारिँदै छन् । इजरायली बमले गाजाका २४ अस्पताल ध्वस्त भएको अलजजिराले जनाएको छ । मारिएका ३५ हजार प्यालेस्टिनीमध्ये आधा बालबालिका छन्, जहाँ शवगृह र मस्जिद सबैभन्दा ठूलो तारो बनेका छन् । मानव अधिकारका लागि राष्ट्रसंघका पूर्वसहायक महासचिव एन्ड्र्यु गिलमोरले बिबिसी न्युज नाइटलाई प्यालेस्टिनीले ‘सामूहिक सजाय’को सामना गरिरहेको बताएका छन् । गाजामा सन् १९९४ मा रुवान्डा नरसंहारपछि सम्भवतः सबैभन्दा उच्च मृत्युदर देखिएको छ ।
यसैबीच ह्युमन राइट्स वाचका अनुसार प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाले २० समुदायका प्यालेस्टिनीको विस्थापन गरेका छन् र अक्टोबर २०२३ यता कम्तीमा सात समुदायको निस्तेनाबुद गरिएको छ । यी स्थापित तथ्य हुन् । तैपनि, यी तथ्य न्युयोर्क टाइम्सको ‘पत्रिकाको रेकर्ड’मा राख्न नसकिने नोटको खुलासा भएको छ ।
पत्रिकामा पत्रकारलाई ‘नरसंहार’, ‘जातीय सफाया’, र ‘अतिक्रमित क्षेत्र’ शब्द प्रयोग नगर्न भनिएको छ । वास्तवमा विगत ६ महिनामा अमेरिकाका पत्र–पत्रिका र टेलिभिजन कार्यक्रमले सामान्यतया कर्मवाची भाषामा नरसंहार हिंसाबारे लेख्दै आएका छन् जहाँ कर्ताको नाम छुटाइन्छ । सामान्यतया कम नियमन हुने सामाजिक सञ्जालमा पनि केही शब्दावली वा वाक्यांशमाथि सेन्सरसिप हुने गरेको छ । एलन मस्कले स्वतन्त्रताको डिङ हाँके पनि ‘डिकलनाइजेसन’ (विऔपनिवेशीकरण) जस्ता शब्द र ‘फ्रम द रिभर टु द सी’ (नदीदेखि समुद्र सम्म)जस्ता वाक्यांश एक्समा निषेधित हुने संकेत दिएका छन् ।
साउथ क्यालिफोर्निया विश्वविद्यालय (युएससी)मा सन् २०२४ को कक्षाको दिक्षान्त प्रवचनकर्ता असना तबस्सुमले ६५ हजार मानिसलाई सम्बोधन गर्ने तयारी गरेकी थिइन्, तर इजरायल–प्यालेस्टाइन द्वन्द्वको विषयमा उनले बोल्ने हुन् कि भन्ने खतरा महसुस गरेर इजरायली समर्थक कार्यकर्ताको विरोधपछि उनको भाषण रद्द गरियो । जवाफमा, बायोमेडिकल इन्जिनियरिङ र इतिहास पढ्दै आएकी २१ वर्षीया विद्यार्थी तबस्सुमले सेन्सरसिप र कट्टरतामाथि संवाद एवं सिकाइको महत्वबारे जोड दिँदै आफ्ना सहपाठीलाई समानता एवं मानवीय मर्यादालाई घृणाको अभिव्यक्तिका रूपमा दुरुपयोग नगर्न आग्रह गरेकी थिइन् ।
अमेरिकी कलेजका विद्यार्थीले इजरायल र कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रसँग सम्बन्ध भएका कम्पनीबारे जागरुक हुन र तिनको बहिष्कार गर्नका लागि जोशका साथ पैरवी गरिरहेका छन् । सुरुमा विरोध प्रदर्शनलाई अनुमति दिइएको थियो, तर परिस्थिति तब बदलियो जब अमेरिकी नेताले संसदीय सुनुवाइका क्रममा चीन र रुसबाट विदेशी कोष आएको भन्ने आरोप लगाए । कलेज प्रशासकले दाताको प्रभाव र राजनीतिक दबाबको डरले विद्यार्थीमाथि सेन्सर गर्न र गिरफ्तार गर्न थाले । नतिजा कोलम्बिया विश्वविद्यालयदेखि पोमोना कलेजसम्मका शैक्षिक संस्थाबाट प्रदर्शनकारी विद्यार्थीलाई निलम्बन गर्न थालियो । यसका बाबजुद रुटगर्सदेखि युसी डेभिससम्मका विद्यार्थी युनियन इजरायलबाट विनिवेशका लागि दबाब दिन आन्दोलनरत छन् ।
१२ अप्रिल २०२४ मा बर्लिन प्रहरीले प्यालेस्टाइन सम्मेलनमा रोक लगायो जहाँ गाजा द्वन्द्वको प्रत्यक्ष अनुभव गरेका बेलायती–प्यालेस्टिनी चिकित्सक घसान अबु सित्तालाई देशनिकाला गरियो । ग्रिसका पूर्वअर्थमन्त्री यानिस भारुफाकिसलाई अनलाइन कार्यक्रममा सम्बोधन गर्न मात्र नभई जर्मनीमा कुनै राजनीतिक गतिविधिमा संलग्न हुनबाट पनि रोक लगाइयो । भारुफाकिसले यो कदमलाई जर्मन लोकतन्त्रका लागि गम्भीर दुर्घटनाका रूपमा निन्दा गरेका थिए । बर्लिनमा भएको सम्मेलनको केही दिनअघि प्राध्यापक जोडी डिनले भर्सो प्रकाशनको ब्लगमा ‘प्यालेस्टाइन सबैका लागि बोल्छ’ भन्ने निबन्ध प्रकाशित गरेकी थिइन् ।
उत्पीडित जनतालाई आफ्नो मुक्तिका लागि लड्ने अधिकार छ भन्ने सरल र गैरआपत्तिजनक विचारमा निबन्ध लेखिएको थियो । यो विषय मानव अधिकारको अन्तर्राष्ट्रिय घोषणाको आधार पनि हो जसलाई भारुफाकिसले बारम्बार उद्धृत गर्दै आएका थिए र छन् । बर्लिनमा प्यालेस्टाइन सम्मेलन बन्द भएको भोलिपल्ट जोडी डिनको नियोक्ता होबार्टका अध्यक्ष मार्क गियरन र अमेरिकाको विलियम स्मिथ कलेजले एक विज्ञप्ति प्रकाशित गर्दै प्राध्यापक डिनले बाँकी कक्षालाई यो सत्रमा अध्यापन गराउन नपाउने निर्णय ग¥यो ।
गियरनले सो विज्ञप्तिमा आफू डिनसँग ‘पूर्ण रूपमा असहमत’ मात्र नभई आफूले उनको टिप्पणीलाई ‘घृणास्पद’ भएको पनि पाएको उल्लेख गरेका थिए । चाखलाग्दो के छ भने गियरनले हमासको निन्दा गर्ने गरी सार्वजनिक बयान मात्र जारी गरेका छन्, तर प्यालेस्टिनीविरुद्धको भयानक नरसंहारबारेमा केही उल्लेख गरेका छैनन् ।
जोडी डिनले के यस्तो लेखेकी थिइन् जुन ‘घृणास्पद’ भयो ? गियरनले ‘उत्साहजनक’ शब्दमा ध्यान केन्द्रित गरेका थिए जसलाई डिनले गाजावरपर इजरायलले अतिक्रमण गरेको क्षेत्रका बार नाघेका पाराग्लाइडरप्रति प्रयोग गरेकी थिइन् । उनले वास्तवमा ७ अक्टोबरका हमलालाई लिएर खुसी मनाएकी थिइनन्, तर प्यालेस्टिनी दृष्टिकोणबाट आशा र मुक्तिको राजनीतिको संकेत दिने पाराग्लाइडरलाई प्रतीकका रूपमा मात्र प्रयोग गरेकी थिइन् । उनले ६ डिसेम्बर २०२३ मा इजरायलद्वारा मारिएको रेफात अलारिरको अन्तिम कविता उद्धृत गरेकी थिइन् । गियरनले अतिक्रमण वा नरसंहारबारे संवाद गर्न चाहेनन् ।
न्युयोर्क टाइम्सका सम्पादक र प्रकाशक, जर्मन सरकार र अन्य अमेरिकी कलेज अध्यक्षले झैँ गियरन पनि संवादमाथि लगाम लगाउन चाहन्थे । प्यालेस्टाइनबारे कुरा गर्न डराउने वा नरुचाउनुको कारण तबस्सुमको ‘संवाद र सिकाइ’को बिन्तीलाई उपेक्षा गरियो । वास्तवमा गियरनजस्ता मानिस तबस्सुमकै भाषामा ‘पाखण्ड र सेन्सरसिप’ रुचाउँछन् । (विजय प्रसाद भारतीय इतिहासकार, सम्पादक एवं पत्रकार हुन्)