Pranmancha

Advertisment

SKIP THIS

समाजवादी स्वास्थ्य नीति, क्युवा मोडल र नेपाल

समाजवाद यस्तो राजनीतिक र आर्थिक प्रणालीको अवधारणा हो, जसमा उत्पादनका साधनहरु सामूहिक स्वामित्वमा हन्छन् । यसको उद्देश्य समाजका सबै सदस्यहरुलाई समानता र न्याय सुनिश्चित गर्नुहुन्छ । यसको ठीक विपरीत पूँजीवाद यस्तो आर्थिक प्रणाली हो जसमा उत्पादनका साधन (भूमि, कारखाना, मशीनरी र पूँजी आदि) निजी व्यक्तिहरु वा कम्पनीहरुको स्वामित्वमा हुन्छन्, र उनीहरुको एक मात्र उद्देश्य नाफा कमाउनु हुने गर्छ । यद्यपि राज्य सञ्चालनमा पूँजीवादी देशहरुको उद्देश्य पूँजीपतिवर्गको हित रक्षा रहेपनि व्यापक जनसमुदायको असन्तुष्टिबाट बच्न शिक्षा, स्वास्थ्य जस्ता जनकल्याणको क्षेत्रमा आंशिकरुपमा भएपनि समाजवादी नीति नै अवलम्बन गरिरहेको देखिन्छन्। गरिब जनताको निम्ति स्वास्थ्य अनुदानहरु तथा स्वास्थ्य बीमा यसको उदाहरण हो । अमेरिका र अष्ट्रेलिया जस्तो घोर पूँजीवादी देशहरु समेत यसका सटिक उदाहरण हुन सक्छन् ।

विकासशील र अविकसित देशहरुको निम्ति पूँजीवादी अर्थशास्त्रीहरुले मिश्रित अर्थ राजनीतिक प्रणालीको वकालत गर्छन् । अभ्यासमा पनि यस्तै देखिन्छ। हाम्रै देश नेपालमा पनि अहिले समाजवादोन्मुख भनेर मिश्रित अर्थ राजनीतिक प्रणाली प्रयोगमा देखिन्छ । नेपालमा गणतन्त्र स्थापना हुनुभन्दा पूर्व सरकारको घोषित आर्थिक नीति उदारवादी पूँजीवादी भएपनि व्यवहारमा अहिले जस्तै मिश्रित नै थियो । फरक के छ भने अहिले समाजवादोन्मुख भनिएकोले अहिलेको राज्यसत्ताले आफ्नो लक्ष्य समाजवाद हुने भनिरहेको छ ।

यद्यपि जसरी समग्र अर्थ राजनीतिमा निजी पूँजीको वर्चस्व देखिन्छ, त्यो सारमा उदार पूँजीवाद नै हो, जसले आंशिक समाजवादी नीतिको व्यवहार गरेर कुरा त जनकल्याणको गर्छ, तर अन्तिम उद्देश्य अधिकतम नाफा उत्पादन गरेर पूँजीपति वर्गकै हित रक्षा गरिरहेको हुन्छ । शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा राज्यसत्ताले आंशिक वा अधिकांश समाजवादी जननीति अवलम्बन गरेपनि कुनै त्रासदी वा महामारीको बेला जनसरोकारको क्षेत्र अलपत्र स्थितिमा देखिन्छ । यस्तो बेला राज्यहरुको पूँजीवादी पक्षधरता उदाङ्गिन्छ र जनकल्याणको भनिएका क्षेत्रहरु पनि बजार र नाफाको क्षेत्रमा परिणत हुन जान्छन् । कोभिड १९ को महामारीकालमा स्वास्थ्य र डिजिटल व्यवसायको क्षेत्रमा पूँजीपतिहरुले गरेको अकूत नाफा तथा आम जनसामान्यहरुको निरीहता र त्रासदपूर्ण दयनीयता भयावह र तीतो अनुभव हो। घोषित रुपमा कोभिडको भ्याक्सिन सरकारको नियन्त्रमा हुने भनिए पनि पूँजीपतिहरुले खुलेआम ‘व्ल्याक मार्केट’मा बेचिरहेका थिए ।

सरकारी अस्पतालमा निःशूल्क उपलब्ध गराउने भनिएपनि महिनौँ उपलब्ध भइरहेको थिएन, भएपनि सरकारी अस्पतालमा उपलब्ध भ्याक्सिनहरु न्युन गुणस्तरको र एक्सपायर भएको भाष्य चिकित्सा क्षेत्रबाट फैलाइँदै थियो । सरकारी अस्पतालमा उपलब्धता अपर्याप्त थियो । रोगीहरुको चाप सरकारी अस्पतालहरुले धान्न सकिरहेको थिएन। सरकारी अस्पतालमा डाक्टर र नर्स आफूलाई पनि रोग सर्ने डर संक्रमित रोगीसँग टाढा बसेको र तल्लो श्रेणीको कर्मचारीहरु उपचार गरिरहेको गुनोसो असंख्य सुनियो । अर्कोतिर सरकारी क्षेत्रको निरीहता र अलपत्र स्थितिको लाभ उठाउँदै निजी क्षेत्रको अस्पताल, क्लिनिकहरुले करोडौँ कमाइ गरिरहेका थिए । यो स्थिति नेपालमा मात्रै थिएन। कोभिड रोग संक्रमणको तिव्र प्रसारको भयावह प्रभाव हुन त सम्पन्न र शक्तिशाली देशहरुले धान्न सकिरहेका थिएनन्, तर गरिब र विकासशील देशहरुको अवस्था त असह्य थियो । गरिब देशहरु एकातिर कोभिड संक्रमणको अकल्पनीय मारमा थिए भने अर्कोतिर विश्वभरीका पूँजीपतिहरुले यी देशहरुलाई स्वास्थ्य बजार र डिजिटल स्वास्थ्य सेवा, रिमोट र टेलीमेडिक्सको नाममा गिद्ध झै निर्ममतापूर्व लुछे, चुसे । अक्सफर्मको तत्कालीन रिपोर्टहरु अनुसार कोभिड संक्रमण कालमा विश्व पूँजीवादले सामान्यभन्दा तीनगुणा बढी पूँजीवृद्धि गरे।

तर कोभिडको महामारी कालमा एउटा विशिष्टता के देखियो भने चीन, क्युबा र भियतनाम जस्ता (सशोधनवादी नै भएपनि) समाजवादी देशहरुमा सरकारहरु जिम्मेवार, योजनावद्ध र धैर्यपूर्ण तरिकाले जनताको उपचार र रोग संक्रमणको सामना गरिरहेका थिए भने अर्कोतिर पूँजीवादी देश र मिश्रित प्रणाली भएका देशहरुमा जनताको अलपत्र स्थिति थियो । पूँजीवादी र मिश्रित अर्थ व्यवस्था भएका देशमा कि त अलपत्र सरकारी व्यवस्थापन थियो, कि महँगा निजी अस्पतालमा थेग्नै न सक्ने ढाढै भाँच्ने गरि महँगा उपचार थियो । यतिबेला कुनैपनि देश विदेशी नागरिक आफ्नो देशमा राख्न चाहँदैनथ्यो । संसारभरीमा मजदूर वर्गको घर फर्काइका असंख्य पीडाका कथाहरु छन् । हाम्रै छिमेक भारतबाट लाखौँ श्रमजीवि हजारौँ किलोमीटर हिँडेर घर फर्केका अकल्पनीय कथाहरु छन् । हिँडदा–हिँडदै बाटोमा रोग र भोकले प्राण त्यागेका दुःखान्त कथाहरु छन्, पूँजीवादी चेतनाको निर्मम र अमानवीय उदाहरण दिन्छ । यसैबेला केही समाजवादी देशहरुका चिकित्साकर्मीहरु समाजवादी अन्तर्राष्ट्रियतावाद दायित्व बोकेर कयौँ देशमा सहयोगको निम्ति गएको शानदार उदाहरणहरु पनि थियो । वर्तमान पूँजीवादी विश्वका मिडियाहरुले यस प्रकारका समाचारहरुलाई धेरै महत्व दिएनन् ।

त्यतिबेलाको स्थिति स्मरण छ भने मध्य अमेरिकाको एउटा सानो समाजवादी देश क्युबाका संस्थापक फिडेल क्यास्ट्रोको ठुलठुला तस्वीर बोकेर क्युबाली चिकित्सक र नर्सहरुको टोली विभिन्न देशहरुमा सहयोग गर्न गएको थियो । उल्लेखनीय के छ भने क्युबाली चिकित्सकहरुको टोली रित्तो हात थिएनन्, उनीहरु क्युबामा उत्पादित औषधिहरु समेत बोकेर हिँडेका थिए । समाजवादको आर्थिक उद्देश्यलाई प्रतिवद्ध भएर लागू गरिरहेको र निरनतर प्रगति गरिरहेको देशहरु मध्येको दुर्लभ उदाहरण क्युबा हो । उल्लेखयोग्य छ, क्युबाली कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी अभ्यास गरिरहेको क्युबामाथी साम्राज्यवादी अमेरिकाले विगत ६४ वर्षदेखी बहुआयामिक प्रतिबन्ध लगाएको छ, तरपनि उसले गरेको स्थायी विकास (सस्टेनेबल डेभलपमेन्ट)को क्षेत्रमा गरेका प्रगतिहरुको प्रशंसा संयुक्त राष्ट्र संघले समेत गरेको छ । विश्व पूँजीवादका नाइके अमेरिकी साम्राज्यवादको प्रतिबन्धका कारण अ‍ेनक चुनौतीको सामना गरिरहेको क्युबाको समाजवादी अभ्यास र उपलब्धीहरु कम्तीमा वर्तमान विश्वमा समाजवादी अवधारणाका शानदार उदाहरण छन् । क्युबाले विशेष गरे जनस्वास्थ्यको क्षेत्रमा गरेका प्रगति सबैभन्दा प्रेरक छन् । यस लेखमा समाजवादमा स्वास्थ्य नीति, क्यबाली प्रयोग र केही नेपाल सन्र्भमा चर्चा गरिन्छ ।
समाजवादमा स्वास्थ्य नीति

स्वास्थ्य मानवको अनिवार्य मौलिक अधिकार मध्येको एक हो । समाजवादमा यो राज्यको प्राथमिक जिम्मेवारी मानिन्छ । समाजवादमा स्वास्थ्य नीतिको प्रमुख विशेषताहरुलाई यस प्रकार छन् ः
(१) समाजवादमा स्वास्थ्य सेवा सबैको निम्ति समान गुणवत्ता भएको समान, सर्वसुलभ र निःशूल्क उपलब्ध हुन्छ ।
(२) समाजवादमा रोगको उपचारभन्दापनि रोगको प्रतिरोधलाई बढी प्राथमिकता दिइन्छ । जनताको नियमित स्वास्थ्य जाँच, खोप र स्वस्थ्य जीवनशैलीलाई प्रोत्साहित गरेर रोग लाग्न नदिने तर्फ बढी जोड दिइन्छ । यहाँ रोगको उपचार भन्दा रोग लाग्न नदिनु राम्रो (प्रिभेन्सन इज बेटर द्यान क्योर)को सिद्धान्त यहाँ स्मरणीय छ ।
(३)समाजवादमा स्वास्थ्य सेवाहरु मूख्यरुपमा राज्यबाट सञ्चालित हुन्छ । यस्मा स्वास्थ्य सेवाहरुमा एकरुपता र गुणवत्ता सुनिश्चित हुन्छ ।
(४) समाजवादमा सामाजिक स्वास्थ्य बीमाको माध्यमबाट मानिसहरुलाई महँगो उपचारको निम्ति आर्थिक सुरक्षा प्रदान गरिन्छ ।

समाजवादी सिद्धान्त र समाजवादी देशमा स्वास्थ्यको क्षेत्रमा भएका भइरहेका अभ्यासहरुको आधारमा माथी उल्लेखित स्वास्थ्य नीतिको विशिष्टताहरुको उल्लेख गरिएको छ । सबैको निम्ति सार्वजनिक अस्पताल र स्वास्थ्य बिमाको रुपमा महँगो रोग विरुद्ध स्वास्थ्य उपचारको निम्ति आर्थिक सुरक्षाको नीति कयौँ पूँजीवादी र मिश्रित प्रणाली भएका देशहरुमा समेत प्रयोग भएको देखिन्छ । त्यस्ता देशहरुमा विशेष गरेर मिश्रित प्रणाली भएका देशहरुमा निजी अस्पताल र सरकारी अस्पतालमा असमान गुणवत्ताको भेद सहजै देख्न सकिन्छ । समाजवादी देशहरुमा सबैको निम्ति समान गुणवत्ता विशिष्टताको रुपमा पाइन्छ। यद्यपि शैशव अवस्थाको समाजवाद तथा कमजोर समाजवादी आधार भएको देशमा सीमित संसाधनको कारण स्वास्थ्य सेवामा हुने ठूलो खर्च, नोकरशाही, कमजोर आर्थिक स्थितिको कारण कमजोर गुणवत्ता चुनौतीको रुपमा देखिएका छन् । तथापि स्वास्थ्य क्षेत्रमा इमान्दारीपूर्वक समाजवादी नीतिको प्रयोग विगतको सोभियतसंघ, चीन, र क्युबा मात्र होइन, नर्वे र स्वीडन जस्ता प्रत्यक्ष जनवाद (डाइरेक्ट डेमोक््रयासी) भनिने देशहरुमा सफल नीतिको रुपमा देखिएको छ । यसमध्ये नर्वेमा निःशूल्क स्वास्थ्य सेवाका सूचकहरु राम्रा छन्, स्वीडनमा सबै नागरिकलाई उच्च गुणवत्ताको हेरचाह गर्ने सुदृढ सार्वजनिक स्वास्थ्य प्रणाली छ, भने क्युबाको निःशुल्क स्वास्थ्य सेवा र रोग प्रतिरोधी स्वास्थ्य प्रणाली र यसबाट प्राप्त गुणस्तरीय उपलब्धीहरुको प्रशंसा मुक्तकण्ठले संयुक्त राष्ट्र संघले गरेको छ ।
समाजवाद र अन्तर्राष्ट्रियतावादको सम्बन्ध समाजवादी विचारको जन्मकाल देखिकै हो ।

अन्तर्राष्ट्रियतावादी विचार राष्ट्र र देशहरुको सीमाभन्दा पर मानवीय एकता र सहयोगमाथी जोड दिन्छ । हुन त वर्गीय दृष्टिकोणले समाजवादी विचारधारा विश्वभरीको मजदूरवर्ग र उत्पीडित समुदायको एकतालाई प्राथमिकतामा राख्छ, तर मानवीयताको आधारमा यसले मानवीयताको आधारमा विश्वका सबै देशहरुबीच समानता, न्याय, समृद्धि र शान्तिको साझा मुद्दामा एकतामाथि जोड दिन्छ । वर्तमानमा पूँजीवादी देशहरु झैँ केही शक्तिशाली संशोधनवादी कम्युनिस्ट देशहरुले अन्तर्राष्टियतावादलाई विश्व राजनीतिमा कूटनीतिक वर्चस्वको निम्ति प्रयोग गरिरहेको आरोप लाग्ने गरेको छ । तर यस्तोमा पनि क्युबाले समाजवादी मानवीय हार्दिकतासहित आफूलाई विश्व राजनीतिमा इमान्दारीपूर्वक प्रस्तुत गरिरहेको प्रति प्रायः सबै सहमत देखिन्छन् । विशेष गरेर कोभिड महामारीको समयमा क्युबाले जसरी अफ्रिका र ल्याटिन अमेरिकाका देशहरुमा भ्याक्सिन, जीवनरक्षक औषधि र चिकित्सक पठाएर सहयोग गरे, त्यसले उसको समाजवादी अन्तर्राष्ट्रियतावाद प्रतिको प्रतिवद्धता साबित गर्छ । यसको निम्ति अन्तर्राष्ट्रिय क्षेत्रबाट क्युबालाई मानवताको नायक भनेर प्रशंसा गरियो ।

क्युवाको समाजवाद र स्वास्थ्य नीति
विश्व साम्राज्यवादको नाइके संयुक्त राज्य अमेरिकाको नाकमुनि रहेको क्युबाले समाजवाद र स्वास्थ्य क्षेत्रमा गरेको अद्भुत विकास प्रेरक छ। सन् १९५९ मा फिडेल क्यास्ट्रो र चे ग्वेभारको नेतृत्वमा क्रान्तिबाट क्युबामा समाजवादी सरकार स्थापित भएको हो । यसले समाजवादी सरकारको स्थापनाकालदेखि नै सबैको निम्ति निःशूल्क सार्वजनिक स्वास्थ्य सेवा, निःशूल्क सबैको निम्ति गुणात्मक शिक्षा, प्रत्येक नागरिकको निम्ति सुरक्षित र स्थिर आवास, सबैको निम्ति रोजगारको योजनाहरु र सामाजिक सुरक्षाको क्षेत्रमा पेन्सन, बेरोजगारी भत्ता र मातृत्व लाभ दिने नीति चलाइरहेको छ । समाजवादी सरकारको स्थापनाको शुरुआतदेखि निरन्तर खेप्दै आएको अमेरिकी आर्थिक प्रतिबन्धका कारण क्युबा सरकार सामू केही गम्भीर समस्या अवश्य उत्पन्न भएका छन् । तर अनेक अप्ठ्याराका बीचपनि स्वास्थ्य, र शिक्षा र सामाजिक न्यायको क्षेत्रमा क्युबाको उपलब्धि उल्लेखनीय छन्, विशेष गरि स्वास्थ्यको क्षेत्रमा । सन् २०२१ को एउटा रिपोर्ट अनुसार क्युबामा प्रत्येक १११ जनामा एकजना डाक्टर छन् र चिकित्सकहरु घर घर गएर स्वास्थ्य जाँच गर्ने गर्छन् । हामी जस्तो अस्तव्यवस्त, कमजोर र निजी पूँजीको वर्चस्व भएको स्वास्थ्य व्यवस्था भएको देशको निम्ति यो सपना जस्तै हो ।

समाजवादी क्युबाले स्वास्थ्य सेवालाई मानिसको विश्वव्यापी मौलिक अधिकार मान्छ र समाजको प्रत्येक सदस्यलाई समानरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँछ । उसले समाजवादी नीति अन्तर्गत सार्वजनिक स्वास्थ्य प्रणालीलाई बलियो बनाएको छ र स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षित गरेर समाजको सबै क्षेत्रमा पठाउँछ । सबैलाई निःशुल्क र गुणात्मक स्वास्थ्य सुविधा, स्थानीय स्वास्थ्य सेवालाई प्रोत्साहित गर्नेगरी प्रारम्भिक स्वास्थ्य सेवा केन्द्रहरु (कंसुल्टोरियोस), रिमोट र टेलीमेडिक्स जस्ता तिव्रगतिको डिजिटल स्वास्थ्य प्रणाली, निःशूल्क आधारभूत स्वास्थ्य शिक्षा तथा चिकित्सकहरुलाई उच्च शिक्षा क्युबाली समाजवादी स्वास्थ्य नीतिका सानदार उपलब्धि हुन् । क्युबाली स्वास्थ्य प्रणालीलाई विश्वभरीमा उच्च गुणवत्ता र समानताको मान्यता छ । क्युबाले दृढतापूर्वक अभ्यास गरिरहेको समाजवादी स्वास्थ्य नीति र प्रणालीका सकारात्मक परिणाम पनि देखिन्छन् । क्युबाको स्वास्थ्य क्षेत्रमा कयौँ महत्वपूर्ण तथ्यांकहरु छन्, जसले यसलाई उत्कृष्ट साबित गर्छन् । उदाहरणको निम्ति केही तथ्यांकहरु यस्ता छन् ः

(१) क्युबाली जनताको औसत आयु ७६ वर्ष छ, जो विश्वका अधिकांश विकसित देशहरुभन्दा बढी छ ।
(२) क्युबामा शिशु मृत्युदर प्रति १ हजारमा ७ जना छ । यो विश्वमा न्युनतम मध्येको एक हो ।
(३) क्युबामा मातृ मृत्युदर प्रति १ लाखमा २९ जना छ । यो पनि विश्वका न्युनतममध्ये पर्छ ।

यसरी नै क्युबामा वर्तमान अवस्थामा सार्वजनिक स्वास्थ्य सम्बन्धी तथ्यांकमा विचार गर्ने हो भने यहाँ कुल गार्हस्थ्य उत्पाद (जिडिपी)को १३.७९ प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च हुन्छ । यो तथ्यांक वैश्विक स्तरमा उच्च हो । हाम्रो छिमेकको दुई शक्ति र आर्थिक दुबै दृष्टिले जायन्ट देशहरुमध्ये चीनमा कुल जीडीपीको ५.३८ प्रतिशत र भारतमा सन् २०२३÷२४ मा १ं.९ प्रतिशत थियो भने २०२४÷२५ मा २.५ प्रतिशतसम्म पु¥याउने लक्ष्य लिइएको छ । यसमा प्रायः ५ देखी ७ प्रतिशतसम्म खर्च गर्ने गरिन्छ । तर देशमा व्याप्त भ्रष्ट अर्थतन्त्र र दलाल नोकरशाहको प्रभाव विचार गर्ने हो भने अधिकतम् ३ देखी ४ प्रतिशत स्वास्थ्यको क्षेत्रमा वास्तविक उपयोग भएको अनुमान आलोचकहरुले गर्छन् । उल्लेखनीय छ, संयुक्त राष्ट्र संघले सदस्य देशहरुलाई जीडीपीको कम्तीमा १० प्रतिशत खर्च गर्न निर्देश गरेको छ । यसबाट स्वास्थ्य क्षेत्रमा क्युबाको उपलब्धिको मूल्याङकन गर्न सकिन्छ । क्युबाको यस सफलताको एउटा महत्वपूर्ण कारण त्यहाँ निजी पूँजीको उपस्थिति अत्यन्त सीमित र राज्यको निगरानीमा छ । उल्लेखनीय छ, क्युवा सेयर बजार नभएको विश्वको एकमात्र देश हो। तात्पर्य के हो भने क्युबा जनताप्रति पूर्णरुपमा जिम्मेवार समाजवादी राज्य हो र यसले देश र जनताको हितलाई सुनियोनिजित कार्यक्रमको आधारमा सञ्चालित गरिरहेको छ । क्युबाको यो विकास उपलब्धिबाट आफूलाई समाजवादोन्मुख भन्ने देशहरुले सिक्न सक्छ । जनमुखी सामूहिक अर्थतन्त्रको विकास तथा योजनाबद्ध रुपमा निजी पूँजीको क्षेत्र सीमित गर्दै लग्नु तथा राज्यको निगरानी र नियन्त्रणमा राख्न सके साना देशहरु पनि समाजवादी सानदार लक्ष्यहरु प्राप्त गर्न सक्छन् ।

नेपाल ः स्वास्थ्य सन्दर्भ
क्युबाको उपलब्धिको चर्चा गर्दा नेपालसँग तुलना गर्दा यो एउटा मोहक र स्वप्निल कथा जस्तो लाग्छ । यद्यपि अहिलेको गणतन्त्र नेपालको संविधानले आफूलाई समाजवादोन्मुख घोषित गरेको छ । समाजवादोन्मुख राज्यको अर्थ एउटा यस्तो जिम्मेवार राज्य, जसले आर्थिक र राजनीतिक रुपमा योजनाबद्ध रुपमा निजी क्षेत्रको भूमिकालाई सीमित गर्दै सामूहिकताको दिशामा अधि बढ्छ। आर्थिक रुपमा नेपाल विदेशी आर्थिक ऋण र सहयोगमा चल्ने परनिर्भर अर्थतन्त्र हो । सम्पूर्ण अर्थतन्त्रमा दलाल पूँजीपति तथा नोकरशाह वर्गको वर्चस्व छ । यसले राज्यको जनमुखी गतिशीलतालाई निजीपूँजीको नाफा र कमिसनको जालबाट मुक्त हुन दिइरहेको छैन ।

स्वास्थ्यको क्षेत्रमा निजी पूँजीको अनियन्त्रित लगानी र अराजक व्यवसाय सरकारी योजनाको निम्ति चुनौती बनिरहेका छन् । नेपालमा असन्तुलित विकास, बढ्दो बेरोजगारी, अभावयुक्त अस्पतालहरु, दक्ष चिकित्सक र स्वास्थ्य कर्मचारीको अपर्याप्त संख्या, बेइमान प्रशासनिक क्षेत्रको गम्भीरता कम छैन । हुन त निजी क्षेत्रको लगानीले चिकित्सा क्षेत्रमा अत्याधुनिक सुविधाहरु थपेका छन्, तर महँगो भएको कारण गरिब र मध्यम वर्गको पहुँच अत्यन्त न्युन देखिन्छ । यसरी सरकारी परनिर्भताको कारण निजी क्षेत्रको अनियन्त्रित लगानीले सारमा साधनसम्मको पहुँच र सम्पन्नता केही उच्च धनाढ्यहरुको हातमा सीमित गर्दै गइरहेको छ र समग्रमा गरिबी बढाउँदै लगेको छ ।
यसले समाजवादको लक्ष्यसम्म पुग्न कठिन देखिन्छ । नेपाल जुन अर्थ राजनीतिक अवस्थामा छ, त्यसमा निजी पूँजीलाई तत्कालै पूर्णतः निषेध गर्नु सम्भव देखिँदैन र यो उचित पनि हुँदैन । तर राज्यले समाजवादी लक्ष्यसम्म पुग्नु छ भने उसले योजनाबद्ध रुपमा निजी पूँजीमा निगरानी र नियन्त्रण बढाउँदै लैजानुपर्छ । विगतसँग तुलना गर्ने हो भने सार्वजनिक स्वास्थ्यका मानक तथ्यांकहरुमा सुधार देखिएका छन् । तरपनि सुविधाहरु शहरी र अधिकतम् सदरमुकामसम्म सीमित देखिन्छ । ग्रामीण र पहाडी क्षेत्रका जनताहरु गुणस्तरहीन र अभावग्रस्त स्वास्थ्य केन्द्रको भर पर्नु परिरहेको छ । यी क्षेत्रहरुमा गम्भीर रोगहरुको उपचारको निम्ति सदरमुकाम र शहरी क्षेत्रमा पुग्नुपर्छ, जहाँ महंगा चिकित्सकहरु बढी बढीभन्दा नाफा कमाउन पर्खिरहेका हुन्छन् ।

यस्तोमा ग्रामीण र दुर्गम पहाडी क्षेत्रसम्म गुणस्तर स्वास्थ्य सुविधा र आधारभूत संरचनाको विकास गर्नु राज्यको प्राथमिक जिम्मेवारीमा पर्छ । यसको निम्ति सरकारको स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट, सरकारी योजनामा स्वास्थ्य बीमा र स्वास्थ्य कर्मचारीलाई नियमित प्रशिक्षण तथा मानवीय र समाजवादी चेतनाको विकास गराउनु आवश्यक छ । यो राजनीतिक जनप्रतिनिधिहरुबिच समाजवादी वैचारिकता बारे सकारात्मक कोणबाट व्यापक बहस र प्रशिक्षण तथा समाजवाद लक्षित जनमुखी योजनाहरुको दृढतापूर्वक कार्यान्वयनबाट मात्र सम्भव छ । जहाँसम्म समाजवादको औचित्यताको प्रश्न छ, नेपाल जस्तो सानो र गरिब देशले तिव्रगतिमा स्थायी विकास गर्न योजनाबद्ध समाजवादी बाटो उपयुक्त छन् भन्ने तथ्य क्युबाबाट सिक्न सकिन्छ ।
क्यास्ट्रो र ग्वेभाराको देश क्युबा, जसले साम्राज्यवादी अमेरिकाको निरन्तर आर्थिक प्रतिबन्धको बिचपनि जनताप्रति प्रतिबद्ध र जनमुखी विकासको कीर्तिमान खडा गरिरहेको छ । क्युवा र उसको स्वास्थ्य क्षेत्रको कायापलट वर्तमान विश्वमा समाजवादी लक्ष्य प्राप्तिको दिशामा महत्पपूर्ण प्रेरक हुनसक्छ । तर यसको निम्ति जनता र समाजवादप्रति इमानदार र प्रतिवद्ध राज्यसत्ता र जनप्रतिनिधि चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation