मंसिर, काठमाडौं । एक दुई सहयोगीले प्रचार सामग्री समाएर उभिएका छन् । एउटा सानो गाडीमा पनि पोस्टर टाँसिएको छ । गाडीमै सानो माइक पनि झुन्ड्याइएको छ । अलिक अघि उभिएर, गल्लीको बिचो-बिचमा उनी भन्छन्, ‘मेरो घर ज्यावहालमा हो । म जन्मेको, हुर्केको, पढेको यहीं हो । म पाँच वर्षअघि पनि यही निर्वाचन क्षेत्रमा लडेको थिएँ । पाँच हजार भोट आएको थियो, थर्ड भएको थिएँ । अब थर्ड होइन, सेकेन्ड होइन, फस्र्ट हुन चाहन्छु । संसदमा जानुछ र तपाईं हाम्रा समस्याको प्रतिनिधित्व गर्नुछ ।’
घरदैलोमा केहीबेर उनलाई पछ्याएपछि अनि हामीले सोध्यौं- चुनावी प्रचार शैलीमा तपाईं हर्क र बालेनबाट प्रभावित हो ?
पाण्डेले त्यसलाई स्वीकारे । ‘अहिले म उहाँहरूबाट प्रभावित भन्न लाज छैन’ उनले भने, ‘तर, २०६९ सालमा जब नेपाल बन्द हुन्थ्यो, त्यतिबेला नेपाल खुल्ला छ भनेर तीन/चार जना युवाले पोस्टर बोक्थे । त्यसमध्ये एक म पनि हुँ ।’
आफू मात्रै हर्क बालेन प्रभावित भएको नभई विवेकशील अभियानबाट उनीहरू पनि प्रभावित भएको पाण्डेले तर्क गरे । ‘उहाँहरू हाम्रो आन्दोलनबाट प्रभावित हुनुभयो, हामी उहाँहरूको आन्दोलनबाट प्रभावित भयौं’ पाण्डेले भने, ‘यो पारस्परिक हो ।’
हौसिएका मिलन
पाण्डे अघिल्लो पटक पनि यही क्षेत्रका उम्मेदवार थिए । उनी ४ हजार ९४६ मत ल्याएर तेस्रो बने । नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ २२ हजार ८५२ मत ल्याएर विजयी भए । अघिल्लो पटक मिलन विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए, जतिबेला त्यो पार्टीको केही ‘क्रेज’ रहेको अवस्था पनि छ ।
एक्लै हिंडिरहेका उनका केही हितैषीले ठाउँ-ठाउँमा साथ पनि दिइरहेका छन् । कालिमाटी क्षेत्रमा उनका समर्थक भेटिए, विष्णु श्रेष्ठ । उनैले मिलनलाई मतदाताका घर-घर लगेर चिनाइरहेका थिए, अनि मत दिन आग्रह गरिरहेका थिए । त्यो क्षेत्रमा मिलनलाई घुमाइसकेपछि उनले आफू सक्दो सहयोगका लागि तयार रहेको सुनाए । ‘पम्प्लेट बाँड्ने, मेरो तर्फबाट मोटिभेशन गर्ने काम म गर्न सक्छु’ उनी भन्दैथिए, ‘मलाई जानकारी दिनुहोस्, म अफिस छुट्टी लिएर पनि आउँछु ।’
काठमाडौं-९ का हरेक क्षेत्रमा आफूले यस्तै सहयोग पाएको पनि मिलनले सुनाए । घरदैलोका क्रममा केही मतदाताले आफ्नो मत मिलनलाई जाने समेत खुलेरै बताए ।
४८ वर्षकी शान्ता आचार्यले यसपटक मत परिवर्तन गरेर मिलनलाई मत दिन लागेको सुनाइन् । ‘देशमा केही परिवर्तन ल्याउनुपर्यो भनेर नयाँ पुस्तालाई दिन खोजेको’ उनको भनाइ थियो, ‘पढे-लेखेको, इन्जिनियर देशका लागि केही गर्नुहुन्छ कि भनेर उहाँलाई मत दिन लागेको ।’
६० वर्षका मुक्ति आचार्यले पनि ठूला दलभित्रको ‘अलोकतन्त्रीकरण’का कारणले यसपालि मिलनलाई मत दिन लागेको बताए । ‘हामीले स्वतन्त्रलाई मन पराउनुको कारण चाहिं भएका राजनीतिक दलभित्रको अलोकतान्त्रिक कारणले हो’ आचार्यले आक्रोश पोख्दै भने, ‘उनीहरूले शासन व्यवस्था र राज्य व्यवस्थालाई नै बिर्ता सम्झेर परिवारकै उन्नति, नातागोतालाई मात्रै उन्नति गर्ने, जनतालाई भेडा र रैती सम्झिए । कमसेकम यो देश अरू जनताको पनि हो भन्ने आशाले उहाँजस्तो युवालाई भोट हाल्न चाहेको हो ।’
केही मतदाताले पाण्डेलाई सचेत पनि बनाइरहेका थिए । ‘अहिलेसम्मको स्थिति राम्रो छ । यो स्थितिलाई जोगायो भने जित्छ । तर, यहाँ त रात रहृयो, अग्राख पलाउँछ । ध्यान दिनुहोला’, एक मतदाताले भने ।
ठाउँ-ठाउँमा आफ्ना समर्थक भेट्टाएका मिलन कांग्रेस र एमालेका मतदाताले नै आफूलाई जिताउने दाबी गरे । ‘मलाई के लागेको थियो भने कांग्रेसको भोट अलि बढी आउँछ’ उनले सुनाए, ‘माहोल हेर्दै जाँदा एमालेको पनि राम्रै मत मलाई प्राप्त हुने देखियो ।’
कांग्रेसका क्षेत्रीय सभापति अमिर खड्काको समर्थन आफूलाई भएको सुनाउँदै मिलनले कांग्रेसको सबै मत सत्ता गठबन्धनका उम्मेदवारलाई नजाने दाबी समेत गरे ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी कल्पना धमला उम्मेदवार छिन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ । मिलनले भने यसअघिको समेत सांसद भएकाले कृष्णगोपाललाई मुख्य प्रतिस्पर्धी ठानेको बताए । घरदैलोका क्रममा उलने प्रहार पनि अधिकांश समय कृष्णगोपालमाथि नै गरे । तर, उनको प्रहार शालीन थियो ।
‘कृष्णगोपाल श्रेष्ठ अंकल जो यहाँ फेरि उठ्नुभएको छ, उहाँ पहिलो पटक उठ्दा म दुई वर्षको थिएँ’ मतदातासँग उनको आग्रह थियो, ‘अहिले म ३३ वर्षको भएँ । तर, समस्या जहाँका त्यहीं छन् । यसअघिको जनप्रतिनिधि उहाँ नै हुनुहुन्छ, अब बदल्ने बेला आयो ।’
घरदैलोका क्रममा मिलन आफ्ना एजेन्डा पनि सुनाइरहेका थिए । मतदातालाई प्रभावित पार्न नयाँ-नयाँ कुरा पनि सुनाइरहेका थिए । र, संसदमा पुगे टेबल ठोकेर तपाईंहरूका कुरा उठाउँछु भन्दै यसपालि आफूमाथि विश्वास गरिदिन आग्रह समेत गरिरहेका थिए ।
‘टेबल ठोकेर हाम्रो घरमा पानी किन आउँदैन, हाम्रो स्कुलमा किन राम्रो छैन, हामीले औषधि किन पाउँदैनौं भनेर प्रश्न सोध्नुछ’ उनको भनाइ थियो, ‘युवाहरू किन विदेशिन बाध्य छन्, नेपालमै किन बस्न चाहिरहेका छैनन् भनेर प्रश्न सोध्नुछ ।’
विवेकशील बिग्रिएकोमा चिन्ता
मिलन विवेकशील अभियानबाट चिनिएका हुन् । विशेषगरी २०६२/६३ पछिको राजनीतिक संक्रमणका बेला लगातार जसो हुने गरेका बन्द विरुद्ध विवेकशील उभिने गरेको थियो ।
बन्दका बेला ‘नेपाल खुल्ला छ’ भन्ने प्लेकार्ड बोकेर उनीहरू सडकमा देखिन्थे । त्यस्तै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अनशनमा पनि उनीहरूले साथ दिने गर्थे ।
यो अभियानले सफलता पाएपछि विवेकशील नेपाली दल बनाइएको थियो । पछि रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग एकता गरेर विवेकशील साझा दल बनाइएको थियो । उक्त दलले अघिल्लो चुनावमा राम्र्रै मत पनि ल्याउन सकेको थियो । तर, मार्ग परिवर्तन भन्दै मिश्रले राजतन्त्रको लाइन लिएपछि विवेकशील साझा छिन्नभिन्न भएको छ ।
केही मतदाताले यसप्रति चिन्ता जताउँदै मिलनसँग दुःख प्रकट पनि गरेका थिए । ७४ वर्षीय रामप्रसाद पाण्डेले दुःख प्रकट नै गरे । ‘म स्पष्ट भन्छु है, नरिसाउनुहोला’ उनको भनाइ थियो, ‘तपाईंहरू एक हुन सक्नुभएन ।’
यस्तो चिन्ता प्रकट गर्ने अर्का मतदाता पनि भेटिए । ‘मलाई दुःख लागेको छ, के के भयो हाम्रो विवेकशील’, सन्तोष भट्टराईको चिन्ता थियो । सन्तोषलगायतलाई सम्झाउने प्रयास पनि मिलनले गरिरहेका थिए । ‘घरको मूली ढलेपछि हामीलाई अलिकति दशा लागेको थियो’ उनी भन्थे, ‘त्यो अब सकियो ।’
स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिरहेका भए पनि मिलन अहिले पनि आफूलाई विवेकशीलको अभियन्ता भन्छन् । ‘मैले मेरो पर्चामा समेत स्पष्ट रूपमा विवेकशील अभियान भनेर लेखेको छु’ उनले आफूबारे भने, ‘उहाँहरूको परिभाषा अनुसार म स्वतन्त्र हुँ । तर, मैले आफूलाई विवेकशील अभियन्ता भन्ने गरेको छु ।’
विवेकशील साझा छिन्नभिन्न भएपछि रवीन्द्र मिश्र राप्रपा प्रवेश गरे । कोही एमाले गए भने कोही कांग्रेस प्रवेश गरे । पाण्डे भने एउटा संस्था बन्ने क्रममा यस्ता घटना हुने भन्दै आफू भने विवेकशील अभियान छाडेर कतै नगएको बताउँछन् ।
उनले चुनावलगत्तै विवेकशीलकालीन नेता, कार्यकर्तालाई एकठाउँमा ल्याउने प्रयास गर्ने योजना समेत सुनाए । ‘हेरिराख्नुहोला निर्वाचन सकिने बित्तिकै म संसदमा पुग्नुभन्दा पहिल्यै सबैलाई एकठाउँमा ल्याउने प्रयत्न गर्छु’ पाण्डेले भने, ‘त्यो मेरो जिम्मेवारी पनि हो, म त्यो गर्छु ।’ (अनलाइन खबरकाे सहयाेगमा)