कंगाेमा भीषण बाढीपहिराेमा परि १२० जनाकाे मृत्यु

मंसिर २९, २०७९एजेन्सी
किन्सासा — कंगोको राजधानी किन्सासामा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण कम्तीमा १ सय २० जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार कैयौं घाइते छन् ।

लगातार घण्टौंसम्म परेको पानीका कारण सहरका अधिकांश सडकहरू जलमग्न भएका र कैयौं घरहरू भत्किएको जनाइएको छ । मृत्यु हुनेमध्ये अधिकांश पहाडी क्षेत्रमा गएका पहिरोहरूमा पुरिएका हुन् । घटनापछि सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ ।
सुरुमा अधिकारीहरूले मृत्यु हुनेको संख्या ५५ रहेको बताएका थिए । तर मंगलबार साँझ अप्रत्याशित रूपमा मृतकको संख्या १ सय २० रहेको जनाइएको थियो । भत्किएका कतिपय घरमा परिवारका सबै जना मृत भेटिएका अधिकारीहरूको भनाइ छ । करिब १ करोड ७० लाख जनसंख्या रहेको किन्शासाका २४ वटा क्षेत्र बाढीपहिरोबाट निकै प्रभावित भएका जनाइएको छ ।

गालिमिया क्षेत्रमा ३६ जनाभन्दा बढीको मृत्यु भएको र तीमध्ये केहीको करेन्ट लागेर ज्यान गएको नगरप्रमुख अलिद सिबान्डाले बताएका छन् । उनका अनुसार अनुमतिबिना बनाइएका अधिकांश घरमा क्षति पुगेको छ । समाचार संस्था एएफपीका पत्रकारले पहिरोले भत्किएको एउटा घरमा परिवारका सबै ९ जनाको शव देखेको बताएका छन् ।

‘हामीले कहिल्यै पनि यस्तो भीषण बाढी देखेका थिएनौं,’ बाढी प्रभावित क्षेत्रका स्थानीय ब्लनचार्ड मुभुले भने । उनले आफू सुतिरहेका बेला घरमा बाढी पसेको थाहा पाएपछि भागेर ज्यान जोगएको बताए ।

प्रधानमन्त्री जिन मिचेल सामा लुकोन्डले किन्शासाका प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि सरकारी टोली खटाइएको बताएका छन् । अधिकारीहरूले पहिरोमा हराइरहेकाको खोजी गरिरहेका र बाढीपहिरोबाट भएको क्षतिको आकलन भइरहेको लुकोन्डको भनाइ छ । कंगो नदीको छेउमा अवस्थित किन्शासा पटकपटक बाढीको चपेटामा पर्ने गरेको छ । सन् २०१९ को नोभेम्बरमा आएको बाढीपहिरोमा परी ४० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation