भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा रोकियो निर्माणाधीन भूकम्प स्मृति पार्कको काम

गोरखा — २०७२ वैशाख १२ को भूकम्पमा ज्यान गुमाएकाको नाम प्राप्त नहुँदा भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम ८ महिनादेखि रोकिएको छ ।

स्मृति स्तम्भमा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका भूकम्पमा परी मृत्यु भएकाको नाम राख्ने गरी ‘इस्टिमेट’ तयार भएको छ । एक वर्षअघि नै गृह मन्त्रालयसँग नाम उपलब्ध गराउन पत्राचार गरे पनि उपलब्ध नहुँदा काम अघि बढाउन नसकिएको संघीय आयोजना कार्यान्वयन इकाइ पोखराका इन्जिनियर वीरबल सुनारले बताए ।

गाउँपालिका र पोखरा कार्यालयले केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत भूकम्पमा ज्यान गुमाएकाको नाम गृह मन्त्रालयसँग माग गरेको थियो । ‘पत्राचार गरेपछि लामो समय नाम प्राप्त नहुँदा म आफैं गृह मन्त्रालय पुगें, संख्या भेटियो सबैको नाम र ठेगाना भेटिएन,’ सुनारले भने, ‘गृह मन्त्रालयबाट प्राप्त नाममात्र आधिकारिक हुने भएकाले अरू राख्ने कुरा भएन ।’ एक वर्षसम्म नाम प्राप्त नभएपछि स्तम्भ निर्माणको कामलाई पूर्णता दिने विषयमा तालुक निकायसँग सल्लाह गरेरमात्र अघि बढ्ने योजनामा रहेको सुनारले बताए । स्मृति पार्कभित्र रहेको ‘स्मृति स्तम्भ’ को ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

पार्कभित्र रहने ‘स्मृति स्तम्भ’ प्रमुख आकर्षणको केन्द्र बन्नेछ । स्तम्भमा भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा १४ वटा छुट्टाछुट्टै स्तम्भ तयार गरिएको छ । १४ वटा स्तम्भमाथि ग्लोब राखिएको छ । भूकम्पमा ज्यान गुमाएका सबैको स्तम्भको भित्तामा नाम लेखिने इस्टिमेट तयार भएको थियो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत नाम संकलन गरेर भित्तामा लेख्ने योजना बनाइए पनि अहिले नाम प्राप्त नहुँदा काम रोकिएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि नै काम ठप्प छ । संरचना निर्माण अन्तिम चरणमा पुग्दा डिजाइनअनुसार नाम प्राप्त नहुँदा स्मृति पार्कलाई पूर्णता दिन नसकिएको निर्माणको जिम्मा पाएको स्वच्छन्दरहोम निर्माण जेभीका होमबहादुर बानियाँले बताए । ‘गृह मन्त्रालयबाट नाम प्राप्त भएपछि मार्बलमा लेखेर टाँस्नका लागि १४ वटा स्तम्भ तयार भइसकेको छ,’ उनले भने, ‘नामै प्राप्त नहुँदा अरू काम पनि रोकियो ।’ २०७४ मंसिर १४ गते ठेक्का सम्झौता गरेर पार्क निर्माण सुरु भएको हो । ३० महिनामा निर्माण सक्ने लक्ष्य राखिए पनि सम्झौता अवधिमा काम नसकिएपछि ३ पटक म्याद थप भएको छ । अबको कामको विषयमा निर्क्योल नहुँदा पछिल्लो म्याद गत भदौमा सकिए पनि म्याद थपको प्रक्रियासमेत अघि बढ्न सकेको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत तत्कालीन जिल्ला आयोजना कार्यान्वयन इकाइ ९भवन० ले २०७२ वैशाख १२ मा ज्यान गुमाएकाहरूको सम्झनामा पार्क निर्माण सुरु गरेको थियो ।

सरकारी स्वामित्वमा रहेको २ सय १६ रोपनीमा स्मृति स्तम्भ, बगैंचालगायत संरचना बनाउने योजना छ । दुई शौचालय, एक चमेना गृह, पार्किङस्थल र सडक निर्माण भएका छन् । पार्क निर्माण सम्पन्न गर्न १३ करोड ७ लाख १५ हजार रुपैयाँ लाग्ने सम्झौतामा छ । भूकम्पको केन्द्रबिन्दु बारपाकलाई पर्यटकीय स्थलका रूपमा परिचित गराउन पार्क निर्माणले सघाउने विश्वास लिइएको छ । पार्क निर्माण छिटो सके पर्यटक आवागमनमा वृद्घि हुने स्थानीयको विश्वास छ

भूकम्पपछि बारपाक पुग्ने पर्यटकको संख्या दिनानुदिन बढ्दै छ । पार्क निर्माण भएर उद्घाटन भए अझै आन्तरिक पर्यटक बढ्ने स्थानीय उत्तम विकको भनाइ छ । पर्यटक आकर्षित गर्न पनि पार्क निर्माण चाँडो सक्नुपर्ने स्थानीय लालकुमारी घलेले बताइन् । ‘पार्कमा भनेजसरी काम नै भएको छैन, कामदार पनि बेलाबेला देखिन्छन्,’ उनले भनिन् । मुख्य स्तम्भको आकार देखिइसकेकाले अब कामलाई पूर्णता दिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation