जहाज कुर्दा उपचारै नपाएर गयो कार्कीको ज्यान

बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका– २ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि रिफर गरिएका उच्च रक्तचापका एक बिरामीको जहाज कुर्दाकुर्दै मृत्यु भएको छ । नेपालगन्जदेखि बाजुरास्थित कोल्टी विमानस्थलमा जहाज नआएपछि स्वास्थ्य केन्द्रमा सोमबार राति पुर्‍याइएका मुगुको खत्याड गाउँपालिका–११ का ६० वर्षीय बिर्खबहादुर कार्कीले उपचार नपाएरै ज्यान गुमाएका हुन् ।

स्वास्थ्य केन्द्रका डा. प्रतीक न्यौपानेका अनुसार कोल्टीमा सिटीस्क्यानको सुविधा नभएकाले नेपालगन्ज वा धनगढी लैजान सुझाइएको थियो । ‘मुगुकै प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि उहाँलाई उपचारका लागि सोमबार राति ल्याइएको थियो, मंगलबार बिहान ११ बजे धनगढी वा नेपालगन्ज लैजान भनेका थियौँ,’ न्यौपानेले भने, ‘उच्च रक्तचापका बिरामी उहाँलाई टाउको दुख्ने, चक्कर लाग्ने, बान्ता हुने लक्षण देखिएकाले टाउकोमा रगत जमेको हुन सक्ने आशंका थियो ।’

तर, जहाज उड्ने रुटमा मौसम खराबसँगै अत्यधिक कुहिरो लागेकाले कोल्टी विमानस्थलमा मंगलबार र बुधबार हवाई उडान हुन नसकेको समिट एयर नेपालगन्जका अधिकृत वसन्त मल्लले बताए । बाजुरामा समिट एयरले नियमित उडान भर्दै आएको छ । जहाज नआएपछि स्वास्थ्य केन्द्रमै रहेका कार्कीलाई मंगलबार राति साढे १३ बजे मृत घोषणा गरेको थियो । उनी एक सातादेखि खत्याडस्थित रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारत थिए । तर, निको नभएपछि कोल्टी ल्याइएको थियो ।

५७ किलोमिटर दूरीमा रहेको सदरमुकाम मार्तडीसम्म पुग्न पनि कच्ची बाटो अवरुद्ध भएकाले कार्कीका आफन्तले जहाज कुरेर बसेका थिए । खत्याड बाजुरा जिल्लासँग सीमा जोडिएको क्षेत्र हो । कोल्टीमा मात्र होइन, जिल्ला अस्पताल मार्तडीमा पनि सिटीस्क्यान सुविधा छैन ।

बुढीनन्दा नगरपालिका उपप्रमुख रामबहादुर बोहराका अनुसार मार्तडी–कोल्टी र कर्णाली करिडोर सडक पाँच महिना बन्द हुने गर्छ । जसकारण बाजुराका पूर्वी–उत्तरी भेगका चारवटा पालिका र छिमेकी जिल्ला मुगु, कालिकोट र केही हुम्लाका बिरामीलाई तराईका अस्पतालमा उपचारका लागि लैजान पनि समस्या हुने गरेको उनले बताए ।

कोल्टीमा उपचार सम्भव नहुँदा रिफर गरिए पनि जहाज नपाएर चार महिनामा चारजनाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष ऐन गिरीको ५ जेठमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यान गएको थियो । त्यस्तै, स्वामीकार्तिक गाउँपालिकामा रहेको स्वामीकार्तिक माध्यमिक विद्यालयका शिक्षक उदयनारायण शाह र बुढीनन्दा नगरपालिका– ३ का अग्नि बोहराको पनि जेठमै ज्यान गयो । मंगलबार कार्कीको ज्यान गयो । अघिल्लो वर्ष बुढीनन्द– १० का निवर्तमान वडाध्यक्ष सतवीर बोहराको पनि जहाज कुर्दाकुर्दै मृत्यु भएको थियो ।

धनगढीदेखि बाजुरा उडान दुई महिनादेखि बन्द 

धनगढीबाट बाजुराको हवाई सेवा दुई महिनादेखि बन्द छ । निजी क्षेत्रको समिट एयरले धनगढीबाट बाजुरा, अछाम र बझाङमा सोमबार र बिहीबार उडान गर्ने तालिका छ । तर, बाजुरामा करिब दुई महिनायता उडान हुन नसकेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए । अछामको साँँफेमा पनि यो साता उडान भएको छैन । ‘कहिले मौसमको खराबीले उडान हुन सक्दैन, विमान कम्पनीले कहिले यात्रु पाएन भन्छन्,’ विमानस्थल प्रमुख भट्टले भने, ‘समिटले यहाँबाट तीन पहाडी जिल्लामा उडानको कार्यतालिका स्वीकृत गराए पनि नियमित उडान हुन सकेको छैन ।’ नयाँपत्रिका

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation