१८६८ मा यसरी बनेको रहेछ बागमति नदीमा पहिलोे पुल- सुनील उलक

                 
                सुनील उलक
दुर्गम गाउँहरुमा बाँस वा काठका फड्के बनाएर खोला तर्ने गरिन्थ्यो । स्थानिय कामीहरु भएको ठाउँ तथा नजिकै खानी भएका ठाउँमा फलामे साङ्लाका झोलुङ्गे पुलहरु बनाइन्थ्यो । चुना सुर्किको जोडाइबाट पक्की पुलहरु भने काठमाडौ उपत्यका तथा काठमाडौ उपत्यकासंग तराइ जोड्ने बाटोमा पर्ने स्थानहरुमा बनाइएको थियो । अन्यत्र खासै बलिया पुल बनाइएको भेटिदैनथ्यो ।
नेपालमा पक्की पुलको इतिहास खोज्ने क्रममा भीमसेन थापाको पालामा बनेको थापाथलीको बागमती नदी माथि बनाइएको काठे पुललाई लिने गरिन्छ । बि.सं. १८६८ मा बनाइएको थापाथली कुपण्डोल बिचको बागमती नदीको पुल नै नेपालको पहिलो पक्की लामो पुल हो । इँटामा चुना सुर्किको जोडाइबाट खोलाको बिच बिचमा पिलर उठाएर बनाइएको काठे पुललाई चन्द्रशम्शेरले ११६ वर्ष पछि बिस्थापित गराइ काठको ठाउँमा स्टीलका बिमहरु राखेर पुल बनाएका थिए ।
बहुलट्ठी स्वभावका राजा रणबहादुर शाहले जेठी रानीबाट रोलक्रम अनुसार राजा बन्न योग्य छोरा जन्म भइसक्दा पनि जनकपुर नजिकैका मैथिली ब्राम्हण परिवारकी बिधवा महिला कान्तावती देवी पशुपतिनाथ दर्शन गर्न आउँदा देखेपछि उनको प्रेममा पागल भएर बिबाह प्रस्ताव राखेका थिए । कान्तावतीले आफ्नो कोखबाट जन्मने छोरालाई राजा बनाउने भए मात्र बिवाह गर्न राजी हुने भनिए पछि शर्त मञ्जुर गरि बिबाह गरेका थिए । यस्तै भिमसेन थापाको भतिजी तथा माथवरसिंह थापाको दिदी ललितत्रिपुरा सुन्दरीसंग पनि रणबहादुर शाहले बिवाह गरेका थिए । उनि रणबहादुरको चौथो रानी थिइन् ।
रानी ललित त्रिपुरासुन्दरी राजकाज तथा बिकास निर्माणमा समेत बिशेष रुचि भएको हुँदा उनले बिकास निर्माण तथा मन्दिर घाटहरुको निर्माण पनि गरेका थिए । उनले त्रिपुरेश्वर महादेव मन्दिर बनाएका थिए । जुन मन्दिरको नामबाट नै आजको त्रिपुरेश्वरको नामाकरण भएको हो । धरहरा पनि उनले नै बनाउन लगाएका थिए । धरहरा नजिकै रहेको सुन्धारा पनि उनलै बनाउन लगाएका थिए । साथै ललितत्रिपुरा सुन्दरी नेपालको इतिहासमा पहिलो महिला साहित्यकार पनि हुन् । उनले बि.सं. १८८१ मा “राजधर्म” नामक पुस्तक संस्कृतबाट अनुवाद गरेर लेखेकी थिइन् ।
बागमतीमा पुल नहुँदा काठमाडौ तथा पाटनका जनताहरुको लागि आवतजावत गर्न निकै कठिन भएको देखेर रानी ललितत्रिपुरा सुन्दरीले बागमतीमा पुल हाल्ने बारेमा सल्लाह गरेका थिए । त्यसबेला मुख्तियार रहेका जनरल भिमसेन थापाले सो पुल राख्ने रानीको मनसाय धेरै नै उपयुक्त रहेको भन्दै तुरुन्तै कामको थालनी गर्न लगाएका थिए । सो पुल निर्माणको शिलान्यास रानी स्वयंले बि.सं. १८६७ मार्ग शुक्ल एकादशी अर्थात मंसिर २३ गते बिहीवारका दिन गरेका थिए । पुलको लम्बाइ १३५३ हात अर्थात ६१८.५ मीटर हुँदा पनि निर्माण कार्यमा समय लागेको थियो । पुल निर्माण थालनीको १५ महिना पछि बि.सं.  चैत्र कृष्ण सप्मी अर्थात फागुन २४ गते बिहीवारका दिन सम्पन्न भइ उद्घाटन गरिएको थियो ।
पति राजा रणबहादुर शाहको देहावसान भइसकेको हुँदा पतिको मुक्त देहका उद्धारका लागि पुलको वारीपारी धर्मशाला गुठी खेत बनाए भने काठमाडौ तिरको पश्चिम भागमा ढुङ्गा छापेर घाट पनि बनाइदिए । साथै पुलको वारीपारी मानव बस्तीको बिकास पनि गराएका थिए ।
यो पुल बनाएको ११६ वर्ष पछि श्री ३ चन्द्रशम्शेरले भने पक्की फलामे झोलुङ्गे पुल बनाएका थिए । जसलाई रातो पुल नामले चिनिन्थ्यो । समयको परिवर्तनसंगै गाडी गुडाउन मिल्ने चौडा पक्की पुल बनेपछि रातो पुलको इतिहास पनि मेटियो ।
यसरी रानीले बनाएको घाटमा पछि जङ्गबहादुरको पालामा अझ बढि विकास गराएका थिए । उनको समयमा घाटमा भकारीहरु बनाएका थिए । घाटमा मलामीहरु बस्न बनाइने चौतारोलाई भकारी भन्ने गरिन्छ । १ नं भकारी भनेर चिनिने थापाथली नजिकैको पहिलो भकारी देखि टेकु दोभानसम्म ६६ वटा भकारी बनाइएका थिए । भकारी बनाउँदा ढुङ्गाहरु कुँदेर बनाइएका हुन्थे । घाटे भकारी भनेर चिनिने यि भकारीहरु बस्ति अतिक्रमण तथा पार्क निर्माणका नाममा अतिक्रमण भएर हराउँदै गए । महत्वपूर्ण ऐतिहासिक घाटे भकारीका कुँदिएका ढुङ्गाहरु पनि हराउँदै गए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation